नेपाली कांग्रेसका सभापति गगनकुमार थापा।
काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ। कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले बैठक दिउँसो १ बजे सानेपास्थित पार्टी मुख्यालयमा बस्ने जानकारी दिए।
बैठकका प्रमुख एजेन्डामा सभापति गगन थापाको राजीनामा, आगामी नियमित महाधिवेशन, हालै सम्पन्न निर्वाचनको समीक्षा तथा भावी रणनीति र कार्ययोजना तय गर्ने विषय समावेश छन्।
प्रतिनिधिसभा निर्वाचनमा पार्टीले अपेक्षाकृत कमजोर नतिजा ल्याएपछि त्यसको नैतिक जिम्मेवारी लिँदै सभापति थापाले राजीनामा दिएका थिए।
तर उपसभापति विश्वप्रकाश शर्माले भने उक्त राजीनामा स्वीकृत नहुने संकेत दिएका छन्।
उनले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत आजको बैठकमा सभापतिको राजीनामा पत्रसँगै त्यसलाई अस्वीकृत गर्ने प्रस्ताव पनि पेस हुने जानकारी दिएका हुन्।
शर्माका अनुसार पराजयको नैतिक जिम्मेवारी लिनु सकारात्मक भए पनि वर्तमान परिस्थितिमा सभापतिको मुख्य दायित्व पार्टीलाई सम्हाल्नु हो।





