फाइल तस्बिर
काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको आगामी नेतृत्व सर्वसम्मत रूपमा चयन गर्नुपर्नेमा जोड दिएका छन्।
ललितपुर उद्योग वाणिज्य महासंघको ५९औँ स्थापना दिवसका अवसरमा आज (बुधबार) आयोजित कार्यक्रममा अध्यक्ष ढकालले महासंघभित्र सहमति र सहकार्यमार्फत नेतृत्व चयन गर्नसके संस्थागत एकताको आधार हुने बताए। उनले निजी क्षेत्रको साझा संस्था भएकाले यसको नेतृत्व पनि साझा सहमतिमै चयन हुँदा महासंघ अझ सशक्त र प्रभावकारी बन्ने धारणा राखे।
अध्यक्ष ढकालले ललितपुरलाई मौलिक उत्पादनको सहरका रूपमा विकास गर्दै यहाँको उत्पादनको गुणस्तर कायम राख्दै उत्पादन पनि बढाउनुपर्नेमा जोड दिए।
यस्तै उनले निजी क्षेत्रको आवाजलाई राज्यले गम्भीरतापूर्वक सुन्नुपर्ने र नीति निर्माण प्रक्रियामा निजी क्षेत्रको प्रभावकारी सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै त्यसका लागि निजी क्षेत्रको एउटै आवाज हुनुपर्ने धारणा राखे।
अध्यक्ष ढकालले जिल्ला तथा नगरस्तरबाट उठेका माग र सुझावलाई समेट्दै महासंघको विधान संशोधन गरिएको जानकारी दिँदै उनले यसले संगठनलाई थप समावेशी, प्रतिनिधिमूलक र सुदृढ बनाउने विश्वास व्यक्त गरे। संशोधित विधानले जिल्ला नगर तथा महिला उद्यमीको प्रतिनिधित्व बढ्ने बताए।





