काठमाडौँ- नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीका नेताहरूबाटै आफूबाटै अन्य नेताहरूविरुद्ध अनर्गल लाञ्छना लगाउने, घृणायुक्त अभिव्यक्ति दिने तथा मिथ्या सूचना सम्प्रेषण गर्ने काम भइरहेको बताएका छन्। शनिबार गुन्डुमा बसेको एमाले सचिवालय बैठकपछि आफूहरूविरुद्ध घृणा फैलाउने काममा शरु शर्मा नामको नक्कली फेसबुक आईडीमार्फत निकै सक्रिय भएको दाबी उनले गरेका छन्।
‘हाम्रो पार्टी नेकपा एमालेका अध्यक्ष आदरणीय केपी शर्मा ओली पितृ शोकमा रहनुभएको छ। सोही कारण पार्टी सचिवालय बैठकको अध्यक्षता आफूले गर्नु भएन। उपाध्यक्ष रामबहादुर थापाको अध्यक्षतामा बैठक भएको सबैमा जानकारी नै छ’, भट्टराईले आइतबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘यो समय हामी सबैका लागि पनि शोकको घडी हो। यस्तो बेलामा एक अर्काप्रति नकारात्मक टिप्पणी र घृणाजन्य अभिव्यक्ति अशोभनीय हुन्छ।’
उनले अगाडि लेखेका छन्, ‘यसबीचमा पार्टीका मथिल्लो तहका नेताहरूबाट मलगायत अन्य कमरेडहरूका बारेमा अनर्गल लाञ्छना लगाउने, घृणायुक्त अभिव्यक्ति दिने तथा मिथ्या सूचना सम्प्रेषण गर्ने काम भइरहेको छ। शरु शर्मा नामको नक्कली फेसबुक आइडी यो काममा निकै सक्रिय छ।’
पार्टीको एकता जोगाउनु, पार्टीलाई बहुआयामिक रूपले रूपान्तरण गर्नु, गुमेको जनविश्वास पुनस् आर्जन गर्नु नेकपा एमालेका लागि प्राथमिक महत्त्वको कार्यभार भएको उल्लेख गर्दै उपमहासचिव भट्टराईले यसका लागि उपयुक्त समयमा उपयुक्त विधि र स्थापित प्रक्रिया मार्फत तथ्य र तर्कसहित छलफल र बहस गर्न जरुरी रहेको बताएका छन्।
उनले लेखेका छन्, ‘मिसइनफर्मेसन, डिसइन्फर्मेसन र हेट स्पिच बन्द गरौँ। फेरि पनि भन्छु,‘आत्मभर्त्सना होइन, जमेर आत्मसमीक्षा गरौँ।’ शनिबार ओली निवास गुन्डुमा बसेको एमाले सचिवालय बैठकले निर्वाचन आयोगमा नामावली पठाउन १६ जना समानुपातिक सांसद छनोट गरेको छ।





