तेल बजारलाई यसरी हतियार बनाउँदै छ इरान

हिमाल प्रेस ३० फागुन २०८२ १९:३३ | Saturday, March 14, 2026
54
SHARES
तेल बजारलाई यसरी हतियार बनाउँदै छ इरान स्ट्रेट अफ होर्मुजमा बुधबार लामबद्ध तेल ट्यांकर र मालवाहक जहाजहरू। तस्बिर : एपी/रासस

इरानमा यस साता भाइरल भएको एउटा भिडियोले तेहरानले अमेरिकासँगको युद्धको मुख्य मोर्चामध्ये एक तेल बजारमा कसरी विजयको दाबी गरिरहेको छ भन्ने झलक देखाएको छ। भिडियोमा सातवटा सशस्त्र स्पिडबोटहरू स्ट्रेट अफ होर्मुज (सामरिक र व्यापारिक दृष्टिले महत्त्वपूर्ण समुद्री मार्ग) मा ढुवानी बन्द गर्न ट्यांकरतर्फ तीव्र गतिमा दौडिन्छन्। तेलको मूल्य बढेपछि लगानीकर्ताहरू रुन्छन् र काँप्छन्। कच्चा तेलको बिक्री ठप्प भएपछि अरबहरू निराश भएर हेरिरहन्छन्।

भिडियोले अकासिँदो तेलको मूल्य इरानको सबैभन्दा शक्तिशाली हतियार बनेको देखाउँछ। यद्यपि द्वन्द्वमा ठूलो मानवीय क्षति पनि भएको छ।

‘ऊर्जा बजारहरू अब द्वन्द्वको अर्को चरण खुल्ने रणभूमि हुन्’, ह्वाइट हाउसका पूर्वऊर्जा सल्लाहकार जेफ्री प्याटले भनेका छन्, ‘इरानले अहिले बजारसँग खेलिरहेको छ, यसले ट्रम्प प्रशासनमाथि दबाब दिनेछ भन्ने उसको आकलन छ।’

इरानी शासनका लागि बाँच्नु विजय हो र तेलको मूल्य बढाउनु अमेरिकी राष्ट्रपतिविरुद्धको सफलताको मुख्य कडी हो। तेलको मूल्यले युद्ध कसरी लडिन्छ भन्ने कुरा पनि प्रभाव पारिरहेको छ। तेलको मूल्य चार वर्षयताकै सबैभन्दा धेरै प्रतिब्यारेल १२० डलर पुगेपछि डोनाल्ड ट्रम्पले अमेरिकी प्रयासलाई धेरै सफल भएको घोषणा गरेका छन्।

तेल बजारको इतिहासकै सबैभन्दा अस्थिर हप्तामा इरानको मुख्य दाउ स्ट्रेट अफ होर्मुजको नाकाबन्दी बनेको छ। त्यहाँबाट विश्वको पाँच भागको एक भाग तेल र तरल ग्यास प्रवाह हुन्छ। यसको सबैभन्दा साँघुरो बिन्दु २१ समुद्री माइलभन्दा कम छ, जसले ट्यांकरहरूलाई इरानको दक्षिणी तटबाट प्रहार गरिने ड्रोन र मिसाइलको जोखिममा पारेको छ।

खाडी तेल बजारमा तेहरानको झन्डै पूर्ण नियन्त्रण छ, जसले इराकजस्ता छिमेकीहरूलाई उत्पादन लगभग पूर्ण रूपमा बन्द गर्न बाध्य पारेको छ। यस क्षेत्रमा करिब ३० करोड ब्यारेल तेल र ग्यास थुनिएको छ। यो संख्या हरेक दिन करिब दुई करोड ब्यारेलले बढिरहेको छ।

शुक्रबारसम्म ट्रम्प र उनका पश्चिमी सहयोगीले आपत्कालीन तेल भण्डारको अहिलेसम्मकै ठूलो निकासा घोषणा गरे तापनि मूल्य प्रतिब्यारेल १०० डलरको हाराहारीमा रह्यो।

इरानका नयाँ सर्वोच्च नेता अयातोल्लाह मोजताबा खामेनीले स्ट्रेट अफ होर्मुज अनिश्चितकालका लागि बन्द राख्ने लक्ष्य घोषणा गरेपछि इरानले ती तेल व्यापारीलाई गलत साबित गरिदिएको छ। व्यापारीहरूले अमेरिकी सैन्य शक्तिले सधैँ यो जलमार्ग खुला राख्नेछ भन्ने ठानेका थिए। इरानले यसअघि कहिल्यै स्ट्रेट अफ होर्मुज बन्द गरेको थिएन। यस महिना त्यसो गर्ने उसको निर्णय र छिमेकी देशहरूको ऊर्जा सम्पत्तिमाथिको आक्रमणले यो संघर्ष इरानी शासनका लागि कति अस्तित्वको लडाइँ बनेको छ भन्ने देखाउँछ।

‘स्ट्रेट अफ होर्मुज इरानको सबैभन्दा ठूलो अस्त्र हो’, इरानको तेल निर्यातकर्ता संघका हमिद होसेनी भन्छन्, ‘द्वन्द्व लम्बियो भने विश्वको भण्डार रित्तिनेछ।’

हालैका दिनमा तेहरानले कहिलेकाहीँ जेनेभा र न्युयोर्कका तेल व्यापारीहरूलाई प्रत्यक्ष सम्बोधन गर्दै तेलको मूल्य प्रति ब्यारेल २०० डलरसम्म पुग्न सक्ने सम्भावनाको चर्चा गरिरहेको छ। ट्रम्प प्रशासनमाथि मध्यावधि चुनावको अगाडि दबाब बढेको छ। अब बढ्दो इन्धनको मूल्यले यसलाई थप चर्काउने निश्चित छ।

ह्वाइट हाउसले पहिलो दिनमै इरानको शीर्ष नेतृत्वलाई सिध्याइदिएकोमा विजयोल्लास मनाइरहेको थियो। अहिले तेलको मूल्य अकासिएपछि चिन्तित बनेको छ। खाडीमा भण्डारण क्षमता सकिएपछि विश्वका केही ठूला उत्पादकहरू उत्पादन कटौती गर्न बाध्य भएका छन्। त्यसपछि ऊर्जा संकटको महसुस भएसँगै तेलको मूल्य तीव्र रूपमा बढ्यो।

ह्वाइट हाउसको प्रतिक्रियाबारे जानकार एक व्यक्ति भन्छन्, ‘आइतबार साँझ करिब ६:०५ बजे ट्रम्प प्रशासन एकाएक आतंकित भयो। उनीहरूले आफूले सोचेभन्दा ठूलो समस्या रहेको महसुस गरे।’

प्रशासन मूल्य घटाउनका लागि कुनै पनि उपाय अवलम्बन गर्न तयार देखिएको छ। यसमा रोकिएको १० करोड ब्यारेल रूसी तेलमाथिको प्रतिबन्ध अस्थायी रूपमा हटाउने र स्ट्रेट अफ होर्मुजबाट गुज्रने जहाजहरूलाई नौसैनिक सुरक्षा दिने जस्ता कुराहरू छन्। कांग्रेस सदस्यहरूले पेट्रोलमा संघीय कर स्थगित गर्ने वा अमेरिकी तेल निर्यातमा अस्थायी प्रतिबन्ध लगाउने जस्ता धारणा पनि अघि सारेका छन्।

बाइडन प्रशासनमा ऊर्जा सुरक्षामा काम गरेका प्याटका अनुसार यस्ता अधिकांश सुझावहरूले थोरै मात्र मद्दत गर्नेछन्। सन् २०२२ मा रूसले युक्रेनमा आक्रमण गर्दा तेलको मूल्य बढ्दा बाइडन प्रशासनले आपत्कालीन तेल निकासाजस्ता उपायले स्थिति सम्हाल्न सकेको थियो। अहिलेको अवस्था भने फरक छ। यो एक सुरक्षा मुद्दा हो र वित्तीय संयन्त्रले सुरक्षा मुद्दा समाधान गर्न गाह्रो हुन्छ।

युद्ध छिट्टै समाप्त हुने अपेक्षा कम हुँदै जाँदा तेलको मूल्य बढिरहेको छ। शुक्रबार दिउँसोसम्म ब्रेन्ट क्रुडको मूल्य मे महिनाका लागि करिब एक सय डलर, जुनका लागि ९८ डलर र जुलाईका लागि ९३ डलर छ। बजारको अनुमानअनुसार अर्को वर्षको जनवरीसम्म तेल ८० डलरको हाराहारीमा फर्कनेछ।

तेल व्यापारीहरूले अमेरिकी सरकारले मूल्य घटाउन ‘डेरिभेटिभ’ बजारमा हस्तक्षेप गर्न सक्ने अनुमानसमेत गरेका छन्। एक हेज फन्ड प्रबन्धकले व्यंग्यात्मक रूपमा भने, ‘प्रशासनले बजारमा गर्ने हेरफेर हाम्रो तेलको मूल्य बढ्ने अनुमानका लागि एउटा मुख्य जोखिम हो।’

अमेरिकी ऊर्जा सचिव क्रिस राइटको एउटा गलत ‘एक्स’ (ट्विटर) पोस्टले पनि बजारलाई तताएको छ। उनले नौसैनिक सुरक्षाले एउटा ट्यांकरलाई सफलतापूर्वक स्ट्रेट अफ होर्मुज पार गराएको दाबी गरेका थिए। त्यसपछि मूल्य ह्वात्तै घट्यो तर पोस्ट हटाइएपछि फेरि बढ्यो।

राइटले नौसेना सुरक्षा प्रदान गर्न तयार नै नरहेको दाबी गरे। मानवरहित ड्रोनहरूले निसाना बनाए भने युद्धपोतहरूले ट्यांकरहरूलाई सीमित सुरक्षा मात्र दिन सक्छन्। अमेरिकी सेना आफ्नो युद्धपोतहरूलाई दुस्मनको सिमाना नजिक जोखिममा पार्न चाहँदैन।

ओबामा प्रशासनका ऊर्जा सचिव अर्नेस्ट मोनिज भन्छन्, ‘अन्ततः अमेरिकाको मूल्य घटाउने एक मात्र उपाय भनेको गुमेको आपूर्तिको केही हिस्सा प्रतिस्थापन गर्ने बाटो खोज्नु हो।’ इजरायल युद्धका लक्ष्यहरू अमेरिकी सहयोगीका भन्दा फरक भएकाले बजार नियन्त्रण गर्ने समस्या थप जटिल बनेको छ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु तेलको मूल्य बढेकोमा खासै चिन्तित छैनन्। द्वन्द्वमा तानिएका खाडी देशहरूको अवस्था इजरायलको भन्दा भिन्न छ। आफ्नो पेट्रोलियममा आधारित अर्थतन्त्रमा परेको क्षतिले गर्दा उनीहरूले पनि इरानले जस्तै युद्धको आर्थिक लागतको गुनासो गरेका छन् र यसलाई अन्त्य गर्न खोजिरहेका छन्। कतार र साउदी अरब दुवैले क्षतिग्रस्त हुँदै गएका आफ्नो तेल र ग्यास क्षेत्रहरूलाई सामान्य अवस्थामा फर्काउन समय लाग्ने चेतावनी दिएका छन्।

खाडी देशहरूले लडाइँ सुरु हुनुभन्दा अघि तेहरानमा सत्ता परिवर्तन खोज्दा निम्तिने अस्तव्यस्तताबारे अमेरिकालाई चेतावनी दिएका थिए। ‘अमेरिकाले यसको अपेक्षा किन गरेन मलाई थाहा छैन’, पूर्व सीआईए अधिकारी हेलिमा क्रफ्ट भन्छिन्।

ह्वाइट हाउसले आफूहरू अचम्मा परेको कुरा अस्वीकार गरेको छ। ‘त्यतिबेला कोही पनि आत्तिएका थिएनन् र अहिले पनि कोही आत्तिएका छैनन्,’ ह्वाइट हाउसका प्रवक्ता टेलर रोजर्स भन्छन्, ‘राष्ट्रपति र उनको ऊर्जा टोलीसँग अपरेसन सुरु हुनुभन्दा अघिदेखि नै बजार स्थिर गर्ने योजना थियो।’

व्यापारीहरू द्वन्द्व कति समयसम्म चल्छ र राष्ट्रपति मूल्य घटाउन कति इच्छुक छन् भन्ने कुरामा अन्योलमा छन्। राष्ट्रपति ट्रम्पले आफ्नो ‘ट्रुथ सोसल’ मा लेखेका छन्, ‘मेरा लागि तेलको मूल्यभन्दा युद्धका इरानलाई रोक्नु बढी महत्त्वपूर्ण छ। तेलको मूल्य बढेपछि हामी धेरै पैसा कमाउँछौँ।’ अमेरिका विश्वकै सबैभन्दा ठूलो कच्चा तेल उत्पादक भएको सन्दर्भमा उनले यसो भनेका हुन्।

सामान्य अवस्थामा फर्कन महिनौँ वा वर्षौं लाग्न सक्छ भन्ने कुरा बजारलाई राम्ररी थाहा छ। ऊर्जा आपूर्ति प्रणाली तत्कालै परिवर्तन हुँदैन। द्वन्द्व अन्त्य गर्ने निर्णय अमेरिका र इजरायलको हातमा मात्र छैन। विश्लेषकहरूको अनुमान छ- इरानीहरूले लामो समयसम्म स्ट्रेट अफ होर्मुज बन्द राख्नेछन् र तेल र ग्यासको मूल्य बढाउनेछन्। फाइनान्सियल टाइम्सको सहयोगमा

प्रकाशित: ३० फागुन २०८२ १९:३३ | Saturday, March 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast