रूपन्देही पर्यटकीय ‘हब’ बन्दै, होटल क्षेत्रमा उच्च लगानी

हिमाल प्रेस ३० वैशाख २०८३ १०:३१ | Wednesday, May 13, 2026
रूपन्देही पर्यटकीय ‘हब’ बन्दै, होटल क्षेत्रमा उच्च लगानी

भैरहवा- होटल तथा पर्यटन पूर्वाधारमा बढ्दो लगानीसँगै रूपन्देही पर्यटकीय केन्द्रका रूपमा विकास हुँदै गएको छ। लुम्बिनी भ्रमणमा आउने विदेशी तथा स्वदेशी पर्यटकको प्रमुख बसाइस्थलका रूपमा रूपन्देही स्थापित बन्दै जाँदा स्तरीय होटल थपिने क्रम निरन्तर बढेको हो ।

भैरहवा–लुम्बिनी करिडोर तथा जिल्लाका मुख्य सहर क्षेत्रमा पाँचतारे, चारतारे र तीनतारे होटल सञ्चालनमा आएका छन् भने नयाँ होटल निर्माणसमेत जारी छ । लुम्बिनी आउने पर्यटकका साथै काठमाडौँ, पोखरा, चितवन र बर्दिया जाने पर्यटक पनि भैरहवा हुँदै आवतजावत गर्दा जिल्लामा बसोबास गर्ने क्रम बढेको व्यवसायी बताउँछन्।

सिद्धार्थ होटल संघका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले रूपन्देहीमा पाँचतारे होटलको सङ्ख्या उल्लेख्य रहेको बताए। उनले जिल्लामा सञ्चालनमा रहेका ठूला होटलसँगै थप नयाँ परियोजना निर्माणाधीन अवस्थामा रहेको जानकारी दिए ।

हाल जिल्लामा हायात प्यालेस, टाइगर प्यालेस बाइ सोल्टी, भिलासा र लुम्बिनी हेरिटेज सञ्चालनमा छन्। भैरहवा–लुम्बिनी सडकखण्डमा नयाँ पाँचतारे होटल निर्माण भइरहेको छ भने भैरहवाको बुद्धचोकमा अर्को पाँचतारे होटल अन्तिम चरणमा पुगेको बताइएको छ।

होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ रूपन्देहीका अध्यक्ष राजेश महोत्राले भारतीय पर्यटकलाई लक्षित गरेर होटल क्षेत्रमा ठूलो लगानी भइरहेको बताए । उनले सीमावर्ती भारतबाट आउने पर्यटकको सङ्ख्या उच्च रहेकाले रूपन्देहीलाई विश्राम तथा गन्तव्यस्थलका रूपमा विकास गर्नुपर्नेमा जोड दिए। पर्यटन व्यवसायी किशोर जोशीले जिल्लामा पर्यटकको बसाइ अवधि बढाउन थप आकर्षक गतिविधि, सांस्कृतिक कार्यक्रम र पर्यटन प्याकेज आवश्यक रहेको बताए । उनका अनुसार लुम्बिनी भ्रमणपछि धेरै पर्यटक सोही दिन फर्किने भएकाले बसाइ लम्ब्याउन सकिए आर्थिक गतिविधि अझै बढ्नेछ।

होटल तथा रेस्टुरेन्ट व्यवसायी संगठनका पूर्वअध्यक्ष अनिल ज्ञवालीले अन्तरराष्ट्रिय होटल व्यवस्थापन समूह रूपन्देहीमा प्रवेश गर्न थालेपछि जिल्लाको पर्यटन छवि थप बलियो बनेको बताए । उनले हायात, मेरियट, होलिडे इन र क्राउन प्लाजाजस्ता अन्तरराष्ट्रिय ब्रान्डको चासोले लगानीकर्तामा उत्साह थपिएको उल्लेख गरे। गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि विमानस्थल केन्द्रित होटलमा लगानी बढेको छ । भैरहवा र बुटवल क्षेत्रमा तारेहोटल, रिसोर्ट तथा क्यासिनोसमेत सञ्चालनमा आएसँगै रूपन्देही प्रदेशकै प्रमुख पर्यटन तथा आतिथ्य केन्द्रका रूपमा उदाउँदै गएको सरोकारवालाको भनाइ छ ।

प्रकाशित: ३० वैशाख २०८३ १०:३१ | Wednesday, May 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast