‘अब चुनाव लड्दिनँ’

हिमाल प्रेस ३० फागुन २०८२ १७:१२ | Saturday, March 14, 2026
26
SHARES
‘अब चुनाव लड्दिनँ’

काठमाडौँ- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री रमेश रिजालले अब कुनै चुनाव नलड्ने घोषणा गरेका छन्।

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पर्सा क्षेत्र नम्बर ४ मा आठौँपटक उम्मेदवार बनेर पराजित भएका रिजालले अब चुनाव नलड्ने घोषणा गरेका हुन्।

पर्सा क्षेत्र नम्बर ४ मा कांग्रेसले बेहोरेको पराजयको समीक्षा गर्न शनिबार जगरनाथपुर गाउँपालिका–५ मसिहानीमा आयोजित अगुवा कार्यकर्ता भेलामा नेता रिजालले अब आफूले संघीय निर्वाचनमा प्रतिस्पर्धा नगर्ने बताए। चुनाव नलडे पनि क्षेत्रका जनताको सेवामा सक्रिय रहने उनको भनाइ थियो।

‘म आजै घोषणा गर्छु, अब म चुनाव लड्दिनँ, युवा पुस्तालाई साथ र समर्थन रहन्छ। चुनाव नलडे पनि यस क्षेत्रका जनताको सेवामा भने लागि नै रहन्छु,’ उनले भने।

रिजालले परिवर्तनको लहरमा अन्य दल वा उम्मेदवारलाई मत दिएका कांग्रेसका कार्यकर्ता र समर्थकहरूप्रति आफ्नो कुनै गुनासो नरहेको उल्लेख गरे। उनले अन्य दलका उम्मेदवारलाई मत दिएका कांग्रेस कार्यकर्तालाई पार्टीमा फर्किन आग्रह गरे।

कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवानिकट मानिएका रिजालले २०४८ यता भएका सबै निर्वाचनमा चुनाव लडेका छन्। २०४८, २०५१, २०६४ र २०७९ को निर्वाचनमा निर्वाचित भएका उनी २०५६, २०७०, २०७४ र हालै फागुन २१ मा सम्पन्न निर्वाचनमा पराजित भएका थिए।

प्रकाशित: ३० फागुन २०८२ १७:१२ | Saturday, March 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast