किशोरी साहको मुद्दा ‘हेर्न नमिल्ने’ मा

हिमाल प्रेस २९ फागुन २०८२ १४:४८ | Friday, March 13, 2026
44
SHARES
किशोरी साहको मुद्दा ‘हेर्न नमिल्ने’ मा

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धनुषा क्षेत्र नम्बर १ का उम्मेदवार किशोरी साह ‘कमल’ को उम्मेदवारी खारेजीसम्बन्धी मुद्दा ‘हेर्न नमिल्ने’ मा परेको छ। सर्वोच्च अदालतको न्यायाधीशद्वय शारङ्ग सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासमा परेको मुद्दा ‘हेर्न नमिल्ने’ मा परेको हो।

साहको उम्मेदवार कायम रहने वा नरहने विषयमा टुंगो लगाउन शुक्रबार मुद्दाको पेसी तोकिएको थियो।

पेसाले निर्माण व्यवसायी रहेका साह कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको भन्दै निर्वाचन आयोगले १८ फागुनमा उनको उम्मेदवारी रद्द गरेको थियो। दाबीविरोध पनि नपरेको र मौन अवधिमा आफ्नो उम्मेदवारी रद्द गर्ने निर्णय भएको भन्दै साहले सर्वोच्च अदालतमा रिट हालेका थिए।

मुद्दामाथि सुनुवाइ गर्दै बिहीबार सर्वोच्च अदालतले साहलाई कालोसूचीमा नराख्न अन्तरिम आदेश जारी गरेको थियो।

न्यायाधीश शारङ्गा सुवेदीको एकल इजलाजले ‘रिट निवेदक हाल कालोसूचीमा समावेश नरहेको भन्ने प्रत्यर्थी कर्जा सूचना केन्द्र लिमिटेडको पत्रबाट देखिएको सन्दर्भमा रिट निवेदकलाई कालोसूचीमा राख्ने गरी भएको निर्णयको औचित्य पनि नहुने भएकाले प्रस्तुत निवेदनको अन्ति टुंगो लाग्दा ठहरे बमोजिम हुने नै हुँदा हाल निवेदकलाई कालोसूचीमा राख्ने गरी भएको निर्णय, सो सम्बन्धी काम कारबाही कार्यान्वयन नगर्नु, नगराउनु भनी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९(२) बमोजिम विपक्षीहका नाममा अन्तरिम आदेश जारी गरिदिएको छ,’ आदेश दिएको छ।

सर्वोच्चको यो आदेशसँगै रास्वपा उम्मेदवार साहको उम्मेदवारी कायम रहने बाटो खुलेको रिटमा बहस गरेका अधिवक्ता दीपेन्द्र झाले बताए।

साहको उम्मेदवारीसम्बन्धी विवाद कायमै रहेको बेला निर्वाचन आयोगले भने धनुषा–१ का मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार मातृकाप्रसाद यादवलाई निर्वाचित भएको घोषणा गर्दै प्रमाणपत्र हस्तान्तरण गरिसकेको छ। सर्वोच्चको अन्तरिम आदेशअनुसार हुनेगरी तत्कालका लागि यादवलाई प्रमाणपत्र हस्तान्तर गरेको आयोगले जनाएको छ।

यादवलाई प्रमाणपत्र हस्तान्तरण गरे पनि आयोगले निर्वाचन परिणाम घोषणा गरेको थिएन। आयोगले बिहीबारमात्रै धनुषा–१ को चुनावी परिणाम घोषणा गरेको हो।

साहको उम्मेदावरी रद्द गर्ने निर्णय गरे पनि निर्वाचन आयोगले मतपत्रबाट रास्वपाको चुनाव चिह्न हटाएको थिए। निर्वाचनका क्रममा मतदाताहरूले उम्मेदवार रद्द भए पनि रास्वपा उम्मेदवार साहलाई मत हालेका छन्। निर्वाचन अधिकृतको कार्यालयले लगतका लागि उनको मत गणना गरे पनि परिणाममा समावेश गरेको छैन। साहले अन्य सबै उम्मेदवारभन्दा बढी मत पाएको बताइएको छ।

आयोगले सार्वजनिक गरेको मतपरिणामअनुसार नेकपाका यादवले १० हजार ४३०, नेपाली कांग्रेसका रामपल्टन साहले ९ हजार ५०२ र नेकपा एमालेका रामचन्द्र मण्डलले ९ हजार ३१५ मत ल्याएका छन्।

प्रकाशित: २९ फागुन २०८२ १४:४८ | Friday, March 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast