फाइल तस्बिर
काठमाडौँ– नेपाल राष्ट्र बैंकका गर्भनर डा. विश्वनाथ पौडेलले राष्ट्र बैंकले वित्तीय कारोबार गर्दा कालोसूचीमा पर्ने प्रावधानका विषयमा अध्ययन गरिरहेको बताएका छन्।
बिहीबार बीरगञ्जमा आयोजित कार्यक्रममा उनले कालोसूचीमा राख्ने प्रावधानको विषयमा आफूले गम्भीरतापूर्वक अध्ययन गरिरहेको जानकारी दिए।
‘चेक बाउन्स हुने वित्तिकै कालोसूचीमा राख्ने विषयमा पनि हामीले अध्ययन गरिरहेका छौँ,’ उनले भने, ‘कालोसूचीमा पर्नेहरुको सूची छोटो कसरी बनाउने विषयमा लागिरहेका छौँ। चेक बाउन्स र बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएका धेरै मानिस कालोसूचीमा पर्ने गरेको देखिएको छ। कालोसूचीमा राख्नुपर्ने कति हुन। कालोसूचीमा नराख्नुपर्ने कति हुन भन्ने विषयमा हामीले हेरिराखेका छौँ।’
यस बारेमा आफूले विस्तृत रुपमा हेरिरहेको उनले बताए। गर्भनर पौडेलले धेरै कडाइ गरेर वा थुनेरमात्रै व्यापार÷व्यवसाय मात्रै नभएर मुलुक पनि नचल्ने पनि बताए।
‘व्यवसाय भनेको कलेज पढाएर मात्रै पुग्ने रहेनछ। त्यो व्यापार हुनका लागि विभिन्न खालका हन्डर र ठक्कर खाएपछि मात्रै व्यवस्थित ढंगले अघि बढ्ने हुँदा पनि त्यसलाई व्यवस्थित गराउनेतर्फ अग्रसर हुन जरुरी छ,’ उनले भने, ‘व्यवसायीलाई गाली गरेर मात्रै मुलुकको विकास नहुनेतर्फ पनि ध्यान दिन जरुरी छ। त्यसैले व्यवसायीलाई प्रवद्र्धन गरेर अघि बढाउन जरुरी छ।’
गर्भनर पौडेलले व्यवसाय गर्न खोज्नेले एकपटक गल्ती गर्दैमा दुःख दिन नहुने बताए।
फरक प्रसंगमा गभर्नर पौडेलले डिजिटल प्रविधिमा आधारित सूचना प्रविधि उद्योगलाई प्रोत्साहन गर्ने नीति अङ्गिकार गर्दै आइरहेको बताए। उनले भविष्यमा ठूलो सम्भावना बोकेको क्षेत्र भएकाले पनि सूचना प्रविधि क्षेत्रलाई प्रथामिकतामा राख्दै आइरहेको बताए।
‘भाविष्यमा पनि सूचना प्रविधि उद्योगहरु धेरै वृद्धि हुन्छ भन्ने अपेक्षा राखेका छौँ,’ उनले भने, ‘हामीले बैंक तथा वित्तीय संस्थालाई पनि डिजिटलाइजेसनतर्फ अघि बढ्नका लागि अनुरोध गर्दै आइरहेका छौँ।’





