काठमाडौँ- नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले नेपाली कम्युनिष्ट आन्दोलन र तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को उदय र पतनबारे टिप्पणी गर्दै अब पनि नसच्चिए आगामी दिनमा गम्भीर संकट आउने चेतावनी दिएका छन्।
सामाजिक सञ्जाल फेसबुकमा बिहीबार आफ्नो धारणा सार्वजनिक गर्दै नेता बास्कोटाले पाँच वर्षअघि नै आफूले नेकपाको ‘क्लाईमेक्स’ (उत्कर्ष) र ‘कोल्याप्स’ (पतन) को समयबारे आँकलन गरेको स्मरण गरेका छन्। वामपन्थी पार्टीहरू मिल्दा जनतामा अभूतपूर्व उत्साह देखिए पनि आन्तरिक जग कमजोर हुँदा एकता टिक्न नसकेको उनको तर्क छ।
बास्कोटाले लेखेका छन्, ‘पाँच वर्षअघि मैले भनेको थिएँ– यो नेकपाको क्लाईमेक्स र कोल्याप्सको समय हो। वाम पार्टी मिलेका थिए र जनतामा अभूतपूर्व उत्साह थियो। तर विचार, संगठन र व्यवहार दुई मितको अधीनस्थ थिए र एकताको आधार कमजोर।’
तत्कालीन नेकपाको नेतृत्व तहमा देखिएको कार्यशैलीप्रति लक्षित गर्दै उनले सोभियत संघको विघटनबाट पाठ नसिक्नु र चिनियाँ मोडलको नक्कल गर्न खोज्नु ‘सुपरफ्लप’ भएको टिप्पणी गरेका छन्। ‘सोभियत संघबाट सिकिएन र चिनियाँ नक्कल सुपरफ्लप भयो,’ उनले भनेका छन्।
कम्युनिष्ट आन्दोलन पूर्ण रूपमा समाप्त भइनसकेको उल्लेख गर्दै नेता बास्कोटाले अब पनि आफूलाई नसच्याए आगामी निर्वाचन वा समयमा ठूलो क्षति बेहोर्नुपर्ने चेतावनी दिएका छन्। उनले भनेका छन्, ‘सक्किएको त छैन, नसच्याए अर्को पल्ट सकिन्छ।
एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा आन्तरिक कलहका कारण विभाजित भएपछि अहिले दुवै दल फरक–फरक अस्तित्वमा छन्।





