काठमाडौँ- नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बिच प्रदेशहरूमा सत्ता साझेदारी गर्ने सहमतिप्रति एमाले नेता गोकुल बास्कोटाले कटाक्ष गरेका छन्।
सोमबार सामाजिक सञ्जाल मार्फत एमाले केन्द्रीय सदस्य बास्कोटाले आफ्ना अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई व्यंग्य गरेका हुन्।
उनले यी दुई नेताले सत्ता समीकरणमा नेपाली कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवालाई पनि उछिनेको टिप्पणी गरेका छन्। बास्कोटाले प्रचण्ड भन्नेबित्तिकै माओवादी लाग्ने भएकाले होला, नेकपा लेख्नुपर्ने स्थानमा माओवादी उल्लेख गरेका छन्।
‘सता समीकरणमा एमाले र माओवादीले देउवालाई पनि जित्ने हैसियत बनाए। खोपी सत्ता किन बन्छन् र भत्कन्छन्? ती सभाका केही सदस्य र खास नेताबाहेक अरूले सुइँको समेत नपाउने कुरा परम्परा नै बन्यो’, उनले लेखेका छन्, ‘हाँडी बोकेर स्वर्ग कि नर्क बतासझैँ बत्तिएका छन्। विजय मल्लको अन्तिम भोज नै त यो हैन होला? अचम्म लाग्छ।’
२०८१ असार १७ गते तत्कालीन प्रधानमन्त्री प्रचण्डसँग बालुवाटार निवासमा ओलीले सहमति नताेडी स्वर्ग पनि सँगै जाने हो, नर्क गए पनि सँगै जाउँला भनेका थिए।


