काठमाडौँ- क्रेडिट रेटिङ एजेन्सी ‘फिच रेटिङ्स’ ले प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्राप्त गरेको स्पष्ट बहुमतले निकट भविष्यमा राजनीतिक अनिश्चितता कम गर्ने र थप अनुमानयोग्य नीति तथा आर्थिक सुधारका लागि अवसर सिर्जना गर्ने बताएको छ।
बुधबार एक विज्ञप्ति जारी गर्दै फिचले चुनावी नतिजाले लामो समयसम्म चल्ने गठबन्धन वार्ताको जोखिम घटाउने र हालका वर्षहरूमा देखिएको बारम्बार सरकार परिवर्तनको चक्रलाई न्यूनीकरण गर्ने उल्लेख गरेको छ।
यदि नयाँ सरकारले सुशासन र आर्थिक सुधारमा ठोस प्रगति गर्न सके बढ्दो राजनीतिक स्थिरताले बिस्तारै लगानीकर्ताको आत्मविश्वास बढाउन सक्ने पनि फिचले उल्लेख गरेको छ।
विज्ञप्तिमा यसले सुधारको गतिलाई निरन्तरता दिने र जलविद्युतमा आधारित लगानीलाई बृहत्तर आर्थिक वृद्धिमा रूपान्तरण गर्ने नेपालको क्षमतामा सुधार ल्याउन सक्ने जनाइएको छ।
यद्यपि फिचले आगामी पाँच वर्षमा औसत ७ प्रतिशतको वास्तविक जीडीपी वृद्धि हासिल गर्ने र प्रतिव्यक्ति आम्दानी ३ हजार डलरभन्दा माथि पुर्याउने रास्वपाको लक्ष्यलाई भने ‘महत्त्वाकांक्षी’ को संज्ञा दिएको छ।
फिचका अनुसार नयाँ सरकारको नीतिगत एजेन्डाले नै चालू आर्थिक वर्षको ४.५ प्रतिशतको प्रक्षेपित वृद्धिदरलाई कुन हदसम्म माथि लैजान सकिन्छ भन्ने कुराको निर्धारण गर्नेछ।
फिचले नेपालको बीबी माइनस क्रेडिट रेटिङलाई गत मंसिरमा निरन्तरता दिएको थियो।





