कञ्चनपुर-२ मा १९ मध्ये १५ उम्मेदवारको जमानत जफत

हिमाल प्रेस २५ फागुन २०८२ १३:४६ | Monday, March 9, 2026
18
SHARES
कञ्चनपुर-२ मा १९ मध्ये १५ उम्मेदवारको जमानत जफत

कञ्चनपुर- प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा उम्मेदवारी दिएका १९ मध्ये १५ जनाको जमानत जफत भएको छ।

निर्वाचन अधिकृत प्रकाशबहादुर भण्डारीका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ ९१० बमोजिम कुल सदर मतको १० प्रतिशत मत प्राप्त गर्न नसके उम्मेदवारको जमानत जफत हुने व्यवस्था रहेको छ। सदर मतको १० प्रतिशत मत प्राप्त गर्न नसक्दा राजनीतिक दलका ११ र स्वतन्त्र चार जना उम्मेदवारको जमानत जफत भएको हो।

जमानत जफत हुने उम्मेदवारमा राष्ट्रिय प्रजातन्त्र पार्टीका तीर्थराज चटौतले एक हजार ९९३, जनमत पार्टीका रामचन्द्र भट्टले १२५, नेपाल मजदुर किसान पार्टीका सीताराम रानाले ७२ तथा राष्ट्रिय जनमोर्चाका रामबहादुर कार्कीले १९५ मत प्राप्त गरेका छन्।

त्यसैगरी, प्रगतिशील लोकतान्त्रिक पार्टीका धर्मानन्द जोशीले १९५, संयुक्त नागरिक पार्टीका खडक तम्राकारले ३२, मितेरी पार्टी नेपालका तेजबहादुर बडवालले १८ तथा नेपाली कम्युनिस्ट पार्टीका लोकेन्द्रबहादुर विकले १४३ मत प्राप्त गरेका छन्।

उज्यालो नेपाल पार्टीका योगेन्द्रबहादुर साउदले ९३, नागरिक उन्मुक्ति पार्टी नेपालकी प्रेमवती रानाले ५६० र आम जनता पार्टीका जग्गु चौधरीले ३७ मत ल्याए पनि जमानत जोगाउन सकेनन्।

स्वतन्त्र उम्मेदवारतर्फ वीरेन्द्र रानाले ८१, भानुभक्त बोहराले २६, सिद्धराज जोशीले १९ तथा हरिशबहादुर भट्टले ४४ मत प्राप्त गरेका छन्। उनीहरूको पनि जमानत जफत भएको छ।

यस निर्वाचन क्षेत्रमा भने चार दलका उम्मेदवारले मात्र जमानत जोगाउन सफल भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार दीपकराज बोहरा ३३ हजार ९५२ मत ल्याउँदै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका नारायणप्रकाश साउदले १० हजार ८२७ मत प्राप्त गरेका छन्। नेकपा एमालेका बचनबहादुर सिंहले ६ हजार ४१८ मत ल्याउँदै तेस्रो स्थान हासिल गर्दा नेपाली कम्युनिस्ट पार्टीका माधव पन्तले ६ हजार ३३७ मतसहित चौथो स्थान प्राप्त गरेका छन्।

कञ्चनपुर-२ मा कुल ६५ हजार ३४७ मत खसेको थियो। तीमध्ये ६१ हजार ११७ मत सदर भएको छ भने चार हजार २३० मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

यसैबीच, कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ मा पनि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार तथा सुदूरपश्चिम प्रदेशसभाका पूर्व मानबहादुर सुनारको धरौटी जफत भएको छ।

कञ्चनपुर-३ मा ५३ हजार ५१५ मत सदर भएकामा धरौटी जोगाउन पाँच हजार ३५२ मत आवश्यक थियो। तर सुनारले चार हजार २८४ मत मात्र प्राप्त गरेपछि उनको धरौटी जफत भएको हो। उक्त निर्वाचन क्षेत्रमा सुनारसहित १४ जनाको धरौटी जफत भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

यस क्षेत्रमा १७ जना उम्मेदवार प्रतिस्पर्धामा रहेकामा राष्ट्रिय स्वतन्त्र पार्टीका ज्ञानेन्द्रसिंह महताले २७ हजार ११८ मत ल्याउँदै विजयी भएका छन्। विजयी उम्मेदवारसहित चार जनाले मात्र धरौटी जोगाउन सकेका छन्।

प्रकाशित: २५ फागुन २०८२ १३:४६ | Monday, March 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast