काठमाडौँ- भक्तपुर निर्वाचन क्षेत्र-२ बाट चुनाव लडेका एमाले नेता महेश बस्नेतले पराजय स्वीकार गरेका छन्। उनले प्रतिनिधिसभा सदस्यका लागि भएको चुनावमा आफू अनुकूल परिणाम नआएको भन्दै पराजय स्वीकार गरेका छन्। उनले सामाजिक सञ्जालमा लोकतन्त्रमा जनताको निर्णय नै सर्वोपरि हुने उल्लेख गर्दै निर्वाचन परिणामलाई सम्मानपूर्वक स्वीकार गरेको उल्लेख गरेका हुन्।
बस्नेतले निर्वाचित भएका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजीव खत्रीलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। साथै उनले सूर्य चिह्नमा मतदान गरी आफूलाई विश्वास गर्ने सम्पूर्ण मतदाता, समर्थक तथा चुनावी अभियानमा खटिएका पार्टीका कार्यकर्ताप्रति कृतज्ञता व्यक्त गरेका छन्।
उनले राजनीतिमा हारजित स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै जनताको सेवा गर्ने प्रतिबद्धता भने नहार्ने उल्लेख गरे। अब आफ्नो भूमिका रचनात्मक प्रतिपक्षका रूपमा रहने उल्लेख गर्दै उनले शिक्षा, स्वास्थ्य, रोजगारी, भ्रष्टाचारमुक्त सुशासन र समृद्ध समाज निर्माणका लागि सदन बाहिरबाट पनि आवाज उठाइरहने प्रतिबद्धता जनाएका छन्।
बस्नेतले जनताको विश्वास, माया र साथ नै आफ्नो सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्दै बाँकी जीवन पनि जनताको सेवा, हित र समृद्ध भक्तपुर निर्माणमा समर्पित रहने प्रतिबद्धता व्यक्त गरेका छन्।
जारी मतगणनामा रास्वपाका खत्रीले ३३ हजार १३ मतसहित अग्रता लिइरहँदा बस्नेतले सात हजार सात सय ४६ मतसहित पछ्याइरहेका छन्।





