बिहीबार तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित जलदेवी माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदानका लागि पुगेका व्यास–१ मोहोरियाटारका ५८ वर्षीय किरियापुत्री सुब्बा पन्थ।
काठमाडौँ- प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत देशभर मतदान भइरहेका बेला शोकमा रहेका किरियापुत्रीहरूले समेत मतदान गरेर नागरिक कर्तव्य निभाएका छन्।
मुगुको छायानाथ रारा नगरपालिका-१ स्थित मीन माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा किरियापुत्री रहेका मतदाताले मतदान गरेका हुन्।
सो वडाकी दिवङ्गत ९३ वर्षीया रुपा मल्लका छोराहरू ललिजङ मल्ल, राजन मल्ल र विनोद मल्लले किरियामा रहँदै पनि उक्त केन्द्रमा पुगेर मतदान गरेका छन्।
त्यसैगरी सोही वडाकी दिवङ्गत ९१ वर्षीया हाँसादेवी मल्लका छोरा गोविन्द मल्ल र भूपेन्द्र मल्लले पनि किरियापुत्रीमै रहँदै मतदान गरेका छन्।
यस्तै, तनहुँको व्यास नगरपालिका-१ भादगाउँस्थित जलदेवी माध्यमिक विद्यालय मतदान केन्द्रमा व्यास-१ मोहोरियाटारका ५८ वर्षीय सुब्बा पन्थले पनि मतदान गरेका छन्। उनले बिहीबार नै आफ्ना बुबाको दाहसंस्कार गरेपछि मतदान केन्द्र पुगेर मत दिएका हुन्।
उता कास्कीको पोखरा महानगरपालिका-१४ मझेरीपाटनस्थित रामेश्वरी माध्यमिक विद्यालय मतदान केन्द्रमा पनि किरियापुत्रीले पनि मतदान गरेका छन्।





