निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी काठमाडौँको अनामनगरस्थित मिलन विद्या मन्दिर मतदान केन्द्रमा मतदान गर्दै। तस्बिरः रासस
काठमाडौँ- कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले देशभर शान्तिपूर्ण वातावरणमा उत्साहपूर्वक मतदान जारी रहेको बताएका छन्।
काठमाडौँको अनामनगरस्थित मिलन विद्या मन्दिर मतदान केन्द्रमा मतदान गरेपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले ७७ वटै जिल्लामा आममतदाताको उत्साहपूर्वक सहभागितामा मतदान भइरहेको उनले बताए। भण्डारीले मतगणना सुरु भएको २४ घण्टाभित्र प्रत्यक्षतर्फको नतिजा सार्वजनिक हुने पनि बताए।
‘बिहान ७ बजेदेखि नै व्यवस्थित र उत्साहजनक रूपमा मतदान सुरु भएको छ। मततदाताको उपस्थिति र शान्ति सुरक्षा अत्यन्त राम्रो छ’, उनले भने,‘मतपत्र पाएपछि एकदेखि दुई मिनेट भित्र मतदान सकिनेछ।’
उनले सबै सरोकारवाला मतदाता, राजनीतिक दल र उम्मेदवारलाई उत्साहजनक र शान्तिपूर्ण मतदानमा सहयोग गर्न आह्वान गरे। मतदान सम्पन्न भएलगतै मतपेटिका संकलनपछि मतगणना गरिने उनले जानकारी दिए।
मतगणना सुरु भएको २४ घण्टाभित्र प्रत्यक्षतर्फको नतिजा सार्वजनिक गर्ने प्रयास आयोगको रहेको उनले बताए। साथै उनले मतदानमा युवाको उत्साहका आधारमा ६५ प्रतिशत भन्दा बढी मत खस्ने अनुमान गरिएको बताए।





