पश्चिम एसिया द्वन्द्वको असर : तेल-ग्यासको मूल्य उकालो, विश्व सेयर बजार ओरालो

हिमाल प्रेस १९ फागुन २०८२ ९:४३ | Tuesday, March 3, 2026
6
SHARES
पश्चिम एसिया द्वन्द्वको असर : तेल-ग्यासको मूल्य उकालो, विश्व सेयर बजार ओरालो साउदी अरबको पूर्वी प्रान्त दमाम नजिकैको रास तनुरा तेल उत्पादन केन्द्र। खाडी तटमा अवस्थित रास तनुरा आक्रमणको निसानामा परेको छ। फाइल तस्बिर : एएफपी/रासस

काठमाडौँ – पश्चिम एसियामा फैलिँदै गएको द्वन्द्वका कारण ऊर्जा आपूर्तिमा अवरोधको जोखिम बढेपछि सोमबार अन्तर्राष्ट्रिय बजारमा तेल तथा ग्यासको मूल्य तीव्र रूपमा उकालो लागेको छ। यसको प्रभावस्वरूप विश्व सेयर बजारमा गिरावट देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

साउदी अरेबियाको सबैभन्दा ठूलो तेल प्रशोधन केन्द्रमध्ये एकमा ड्रोन आक्रमण भएपछि बन्द गर्नुपरेको छ। बढ्दो द्वन्द्व अब खाडी क्षेत्रभरका ऊर्जा पूर्वाधारमा फैलिन सक्ने र यसले तेलको मूल्य दीर्घकालीन रूपमा बढाउन सक्ने चेतावनी विश्लेषकहरूले दिएका छन्।

अमेरिका र इजरायलले शनिबार इरानमाथि हवाई आक्रमण गरेपछि खुलेको पहिलो कारोबार सत्रमा विश्व बजारमा प्रयोग हुने प्रमुख कच्चा तेलको अन्तर्राष्ट्रिय मापदण्ड (ब्रेन्ट क्रुड) को मूल्य प्रारम्भिक कारोबारमा १३ प्रतिशतसम्म उकालो लाग्यो।

पछि केही घटेर पनि ८.५ प्रतिशत माथि कारोबार भय। यसलाई करिब तीन वर्षयताकै सबैभन्दा ठूलो दैनिक वृद्धिका रूपमा लिइएको छ। युरोपेली ग्यास मूल्य २४ प्रतिशतले बढेको छ। किनभने विश्वका प्रमुख उत्पादकमध्ये एक र चीनका लागि प्रमुख आपूर्तिकर्ता कतारबाट हुने तरल प्राकृतिक ग्यास (एलएनजी) निर्यातमा अवरोध आउन सक्ने चिन्ता बढेको थियो। चीनले आफ्नो एलएनजीको करिब चौथाइ हिस्सा कतारबाट आयात गर्छ।

यसैगरी सुनको मूल्य बढ्यो भने विश्व सेयर बजार घट्यो। युरोपको प्रमुख सूचकांक स्टोक्स युरोप सिक्स हन्ड्रेड १.३ प्रतिशतले घट्यो, जसमा विशेषगरी हवाई सेवा र होटल समूहको सेयर घटेका छन्।

पश्चिम एसियाको युद्ध तेस्रो दिनमा प्रवेश गर्दा र क्षेत्रभर तनाव चर्किँदा मूल्यमा तीव्र उतारचढाव देखिएको हो। तेहरानमाथि अमेरिकी–इजरायली आक्रमण जारी रहँदा इजरायलले लेबनानभर हिज्बुल्लाहका लक्ष्यहरूमा आक्रमण थालेको छ।

सोमबार ड्रोन आक्रमणका कारण साउदी अरेबियाको विशाल रास तनुरा रिफाइनरी बन्द गर्नुपरेको छ। यो यस द्वन्द्वमा ऊर्जा पूर्वाधारमाथिको पहिलो आक्रमण थियो।

सन् २०२१ मा हुथी लडाकुहरूले पनि निसाना बनाएको रस तनुरा खाडी किनारकै सबैभन्दा ठूलो तेल प्रशोधन केन्द्र हो, जसले दैनिक पाँच लाख ब्यारेल कच्चा तेल प्रशोधन गर्न सक्छ। यो खाडी क्षेत्रबाट साउदी तेल निर्यातको मुख्य टर्मिनल पनि हो।

जोखिम विश्लेषण कम्पनी भेरिस्क मेपलक्रफ्टका पश्चिम एसिया विश्लेषक टोर्ब्योर्न सोल्टभेटका अनुसार खाडी क्षेत्रको ऊर्जा पूर्वाधार अब स्पष्ट रूपमा इरानको निसानामा परेको छ। यस आक्रमणले साउदी अरेबिया र छिमेकी खाडी राष्ट्रहरूलाई अमेरिका र इजरायलको सैन्य कारबाहीमा अझ नजिक ल्याउन सक्छ।

विश्वको झण्डै पाँचौँ हिस्सा तेल र ग्यास बग्ने खाडी प्रवेशद्वार स्ट्रेट अफ होर्मुज नजिक तेल र एलएनजी बोकेका ट्यांकरहरू पर्खिरहेका छन्। आइतबार केही जहाजहरूमा आक्रमण भएपछि आवतजावत लगभग ठप्प भएको छ। आक्रमणमा पाँच लाख ब्यारेल पेट्रोल बोकेको साउदी अरामकोद्वारा भाडामा लिइएको ट्यांकर पनि परेको थियो।

जुलियस बेयरका अर्थशास्त्र प्रमुख नोरबर्ट र्युकरले भने, ‘विश्व अर्थतन्त्रमा पर्ने प्रभाव स्ट्रेट अफ होर्मुज मार्गबाट तेल र ग्यासको बहावमा निर्भर गर्छ। सबैभन्दा डर लाग्दो अवस्था यसको बन्द हुनु होइन, बरु क्षेत्रका प्रमुख तेल र ग्यास पूर्वाधारमा गम्भीर क्षति पुग्नु हो।’

पश्चिम एसियामा उत्पन्न द्वन्द्वका कारण जापान र दक्षिण कोरियाले सुरुआती सेयर कारोबारमा सबैभन्दा बढी घाटा बेहोरेका छन्। सोमबार सार्वजनिक बिदापछि खुलेको कोस्पी सूचकांक ४ प्रतिशतभन्दा बढीले  घटेको छ। कोरियाली मुद्रा ०.९ प्रतिशत कमजोर भई प्रतिडलर एक हजार चार सय ६६ बोनमा झर्‍यो।

अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्ट कच्चा तेलको मूल्य १.३ प्रतिशत बढेर प्रतिब्यारेल ७८.७३ डलर पुगेको छ, जुन सोमबार ७.३ प्रतिशत उकालो लागेको थियो। जापानको टोपिक्स सूचकांक २.३ प्रतिशत घट्यो भने येन कमजोर भयो।

प्रकाशित: १९ फागुन २०८२ ९:४३ | Tuesday, March 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast