अमेरिकी हवाई आक्रमणमा मारिएका इरानी सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको प्रतीकात्मक अन्त्येष्टिका क्रममा नक्कली कफिन बोकेर अघि बढ्दै इराकको नजफका सिया समुदाय। तस्बिर : एपी/रासस
काठमाडौँ- आयतोल्लाह अली खामेनीको हत्या भएपछि इरान नेताविहीन अवस्थामा मात्रै पुगेको छैन; ऊ आफ्नो राजनीतिक संरचनाको सबैभन्दा संवेदनशील परीक्षणमा प्रवेश गरेको छ। बाहिरबाट अमेरिकी र इजरायली आक्रमणको दबाब, भित्रबाट उत्तराधिकारको जटिल शक्तिसंघर्षबीच इस्लामिक गणतन्त्र आफ्नो निरन्तरता प्रमाणित गर्न आतुर देखिएको छ।
झन्डै चार दशकदेखि इस्लामिक गणतन्त्रको प्रतीक बनेका आयतोल्लाह अली खामेनीको हत्या भएको इरानले पुष्टि गरेको केही घण्टामै लुकेर बसेको अनुमान गरिएका वरिष्ठ नेताहरू शासनको निरन्तरता र दृढताको सन्देश दिन एकएक गर्दै राज्य-नियन्त्रित टेलिभिजनमा देखा परेका थिए।
शीर्ष राजनीतिक तथा सैन्य व्यक्तित्वहरूले नयाँ सर्वोच्च नेताको उत्तराधिकार प्रक्रिया संविधानबमोजिम सञ्चालन हुने र संक्रमणकालमा तीन सदस्यीय अन्तरिम परिषदले नेतृत्व सम्हाल्ने स्पष्ट पारे।
अमेरिका र इजरायलले युद्ध सुरु गरेयता पहिलोपटक सार्वजनिक भएका इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानीले संक्रमणको रेखदेख गर्ने तीन सदस्यीय अन्तरिम नेतृत्व परिषद्को बैठक सोही दिन बस्ने तालिका रहेको जानकारी दिए।
आइतबार इरानका परराष्ट्रमन्त्री अब्बास अराघचीले अलजजिरासँग कुरा गर्दै राज्यका संस्थाहरू सहज रूपमा सञ्चालन भइरहेकाले संवैधानिक प्रक्रियाहरू चाँडै सम्पन्न हुन सक्ने बताए। उनका अनुसार एक वा दुईदिनमै नयाँ सर्वोच्च नेता चयन भएको देख्न सकिनेछ।
इरानी जनता र शत्रु राष्ट्रहरू दुवैलाई शासनले दिन खोजेको सन्देश स्पष्ट थियो- खामेनीको क्षति भए पनि इस्लामिक गणतन्त्र जीवित रहनेछ। कानुनी रूपमा अगाडि बढ्ने स्पष्ट मार्ग छ र नयाँ नेता चयन गर्ने प्रक्रिया व्यवस्थित छ।
यद्यपि शासनले तयार पारेका योजना अहिले गम्भीर परीक्षणको घेरामा छन्। शीर्ष राजनीतिज्ञ, सैन्य अधिकारी र उत्तराधिकार प्रक्रियामा संलग्न व्यक्तित्वहरू अमेरिकी तथा इजरायली हवाई आक्रमणको प्रत्यक्ष जोखिममा छन्।
च्याथम हाउसकी मध्यपूर्व निर्देशक सनम वकिलका अनुसार उनीहरूले संस्थागत स्थिरता र शान्तिको छवि प्रस्तुत गर्नुपर्नेछ। तर जो माथिल्लो पदमा पुग्छ, ऊ स्वतः अमेरिका र इजरायलको निसानामा पर्न सक्छ।
उनले भनिन्, ‘अन्तरिम नेतृत्व परिषदको घोषणा त गरिएको छ, तर भोलिपल्ट त्यो परिषद् नै सुरक्षित रहन्छ कि रहँदैन भन्ने अनिश्चित छ। खामेनी मात्र लक्षित व्यक्ति थिएनन् अब को जीवित रहन्छ भन्ने नै यकिन छैन।’
अन्तरिम परिषद्का सदस्यहरू राष्ट्रपति मसुद पेजेस्कियन, न्यायपालिका प्रमुख गुलाम होसेन मोहसेनी एजेई र गार्डियन काउन्सिलका सदस्य अलिरेजा अराफी सम्भावित निसानामा पर्न सक्ने विश्लेषण गरिएको छ। अराफी स्वयं शक्तिशाली कट्टरपन्थी र सम्भावित उत्तराधिकारी दाबेदारका रूपमा हेरिन्छन्।
पेजेस्कियन गत जुनमा इजरायली बम आक्रमणबाट जोगिएका थिए। त्यति बेला सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्को बैठक चलिरहेको भवनमा आक्रमण गरिएको थियो। युद्धको प्रारम्भिक दुई दिनमै रिभोलुसनरी गार्ड्सका कमान्डर, रक्षामन्त्री, सशस्त्र बलका प्रमुख र रक्षा परिषद्का अध्यक्षसहित कैयौँ वरिष्ठ अधिकारी मारिइसकेका छन्।
सन् १९८९ देखि शासन गर्दै आएका खामेनीका पछिल्ला वर्षहरू उत्तराधिकारलाई व्यवस्थित बनाउने प्रयासमै केन्द्रित थिए। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले ८६ वर्षीय धर्मगुरुलाई लक्षित गर्ने धम्की दिएपछि गत जुनको १२ दिने युद्धताका यो विषय अझ संवेदनशील बनेको थियो।
तेहरानस्थित आफ्नै परिसरमा बसेर खामेनी सम्भावित आक्रमणको जोखिमबीच पनि संक्रमणको क्षणका लागि तयारी अवस्थामा देखिन्थे।
संविधानअनुसार नयाँ सर्वोच्च नेताको चयन ८८ सदस्यीय धर्मगुरुहरूको निकाय एसेम्बली अफ एक्सपर्ट्सको हातमा हुन्छ। तर जारी आक्रमणबीच उक्त निकाय कसरी बैठक बस्छ भन्ने अन्योल छ।
क्राइसिस ग्रुपका इरान विज्ञ अली वाएजका अनुसार द्वन्द्वको धुलो नबस्दासम्म उत्तराधिकारी चयन हुने अपेक्षा गर्न गाह्रो छ। जो छानिए पनि उसको ढाडमा निसाना हुनेछ।
खामेनी इरानको समकालीन इतिहासका सबैभन्दा लामो समय शासन गर्ने नेतामध्ये एक हुन्। उनको मृत्यु र उत्तराधिकारीको चयनलाई लामो समयदेखि गणतन्त्रको इतिहासमा निर्णायक मोडका रूपमा हेरिँदै आएको थियो।
प्रमुख आन्तरिक र परराष्ट्र नीतिका निर्णायक खामेनीलाई परिवर्तनको अवरोधका रूपमा पनि चित्रित गरिन्थ्यो। युद्धअघिको विश्लेषणमा उत्तराधिकारलाई सम्भावित संवैधानिक सुधारको अवसरका रूपमा हेरिएको थियो, जसले सर्वोच्च नेताको शक्ति सीमित गर्ने वा संरचनात्मक परिवर्तन ल्याउने सम्भावना बोकेको थियो।
तर अर्को सम्भावना पनि उत्तिकै प्रबल थियो- कट्टरपन्थी धारको सुदृढीकरण। इरानको राजनीतिक प्रणाली सम्भ्रान्त गुटहरूबीचको जटिल शक्तिसंघर्षले निर्देशित छ, विशेषतः उत्तराधिकार र भविष्यको वैदेशिक आन्तरिक नीतिको दिशाबारे।
यस सन्दर्भमा रिभोलुसनरी गार्ड्स सबैभन्दा प्रभावशाली शक्ति मानिन्छ, जसको प्रभाव सैन्य क्षेत्रसँगै अर्थतन्त्र र आन्तरिक राजनीतिमा समेत फैलिएको छ। कतिपय विश्लेषकहरूले गार्ड्सले उत्तराधिकार प्रक्रियामा निर्णायक भूमिका खेल्ने वा त्यही वृत्तबाट प्रभावकारी नेता उदय हुने आकलन गरेका थिए।
गार्ड्सभित्र पनि पुस्तागत र वैचारिक विभाजन छन्। पछिल्ला वर्षहरूमा इजरायली आक्रमणमा धेरै वरिष्ठ कमान्डर मारिएका छन्।
सनम वकिलका अनुसार यहीँबाट थाहा हुनेछ गार्ड्सको प्राथमिकता शासनको निरन्तरता हो कि स्वयम् शक्ति सुदृढीकरण?
प्रक्रिया पुरानै ढाँचामा अघि बढ्यो भने कम चर्चित, अपेक्षाकृत् युवा, धार्मिक र प्रणालीप्रति निष्ठावान् धर्मगुरु चयन हुन सक्ने सम्भावना विश्लेषकहरूले औँल्याएका छन्।
तर स्पष्ट दाबेदारको अभाव छ। कट्टरपन्थी धर्मगुरु तथा खामेनीका निकट मानिने इब्राहिम रायसीलाई प्रमुख उम्मेदवार मानिन्थ्यो तर सन् २०२४ मा हेलिकप्टर दुर्घटनामा उनको मृत्यु भयो।
खामेनीका छोरा मोज्तबा पनि सम्भावित दाबेदारका रूपमा चर्चामा थिए। तर शनिबार बिहान सर्वोच्च नेताको परिसरमा भएको बम आक्रमणपछि उनी सुरक्षित छन् कि छैनन् भन्नेबारे आधिकारिक पुष्टि छैन। राज्य नियन्त्रित मिडियाले हालसम्म कुनै स्पष्ट जानकारी दिएको छैन। उक्त आक्रमणमा उनकी श्रीमतीको मृत्यु भएको बताइएको छ।
अली वाएजका अनुसार जो सर्वोच्च नेता बने पनि खामेनीजत्तिको शक्ति केन्द्रित गर्न सक्ने सम्भावना कम छ। प्रणाली एकीकृत राख्न उनी रिभोलुसनरी गार्ड्समा निर्भर हुनुपर्नेछ।
यसैबीच, पूर्व आणविक वार्ताकार अली लारिजानी र संसद्का सभामुख मोहम्मद बागेर घालिबाफ अझ सक्रिय भूमिकामा देखिन सक्ने संकेत विश्लेषकहरूले दिएका छन्।
खामेनीको हत्याको निन्दा गर्दै बदला लिने कसम खाने पहिलो वरिष्ठ नेताहरूमा उनीहरू पनि परेका थिए।
यद्यपि वाएजको निष्कर्ष छ- खामेनीको मृत्यु मात्रले शासनको पतन सुनिश्चित गर्दैन।
‘यो कहिल्यै एक व्यक्तिको शासन मात्र थिएन। खामेनीले शक्तिका संयन्त्रहरू आफ्नै हातमा केन्द्रित गरे पनि प्रणाली भने सामूहिक संरचनामा आधारित थियो’, उनले भने।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूको सहयोगमा





