काठमाडौँ- नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेपालका कम्युनिष्टहरूका लागि झापा अति पवित्रस्थल रहेको बताएका छन्। आइतबार झापा ५ को कमल गाउँपालिका गेउरियामा आयोजित चुनावी कोणसभामा बोल्दै उनले झापामा एमालेको जीत सिंगो कम्युनिष्ट आन्दोलनको जितसँग जोडिएको विषय भएको उल्लेख गरे।
‘केपी शर्मा ओलीको विजय वा पराजय नेकपा एमालेसँग मात्र जोडिएको छैन, उहाँको विजय वा पराजय यो देशको विजय वा पराजयसँग जोडिन्छ,’ उनले भने। ओलीको विजय वा पराजय देश र नेपाली जनताको स्वाभिमानसँग प्रत्यक्ष सम्बन्धित विषय भएको उहाँले स्पष्ट पारे। उनका अनुसार यो विषय नेपाली राष्ट्रियता, स्वाभिमान र नेपालीत्वसँग जोडिएको छ। ‘केपी ओलीको विजय भनेको यो देशको स्वाभिमानलाई माथि उठाउने कुरा हो, राष्ट्रियतालाई सुदृढ बनाउने कुरा हो र ‘हामी नेपाली हौँ’ भन्ने पहिचानलाई अझ गर्वका साथ उचाल्ने विषय हो,’ उनले भने।
उपमहासचिव भट्टराईले वर्तमान अवस्थामा पार्टीका आन्तरिक विषयलाई उठाउने समय नभएको धारणा राखे। अहिलेको आवश्यकता एक ढिक्का भएर पार्टीलाई विजय गराउने भएको उनले जोड दिए।
पार्टीभित्र कोही संगठन सञ्चालनको जिम्मेवारीमा, कोही संसदमा र कोही स्थानीय तहमा रहेर काम गरिरहेको उल्लेख गर्दै उनले यस विषयलाई लिएर अनावश्यक चर्चा–परिचर्चा गर्न आवश्यक नरहेको बताए।





