गण्डकी : निर्वाचनमा २१ हजार कर्मचारी र स्वयंसेवक परिचालन

हिमाल प्रेस १६ फागुन २०८२ २०:२० | Saturday, February 28, 2026
8
SHARES
गण्डकी : निर्वाचनमा २१ हजार कर्मचारी र स्वयंसेवक परिचालन प्रदेश निर्वाचन कार्यालय पोखराले शनिबार सञ्चारकर्मीसँग आयोजना गरेको अन्तरक्रियाका सहभागी। तस्बिर : हिमालप्रेस

पोखरा- यही २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि गण्डकी प्रदेशमा तयारी अन्तिम चरणमा पुगेको छ। प्रदेश निर्वाचन कार्यालय पोखराले शनिबार सञ्चारकर्मीसँग अन्तरक्रियामा तयारी अन्तिम चरणमा पुगेको जानकारी दिइएको हो।

गण्डकी प्रदेशमा झण्डै २१ हजार कर्मचारी र स्वयंसेवक परिचालन हुने भएका छन्। तीमध्ये १४ हजार ३५० कर्मचारी र ७ हजार ६५ स्वयंसेवक हुन्। १८ फागुनभित्र सबै मतदान अधिकृत तथा सहायक अधिकृतसहितको टोली मतदानस्थलमा पुग्ने तयारी छ।

प्रदेश निर्वाचन अधिकारी नारायण ढकालका अनुसार मतपत्रसहितका सबै निर्वाचन सामग्री प्राप्त भई मतदान केन्द्रअनुसार छुट्याएर वितरणको तयारी अवस्थामा राखिएको छ। प्रदेशका ११ वटै जिल्लामा वडास्तरमा मतदाता शिक्षा कार्यक्रम जारी छ। गत ३ फागुनदेखि सुरु मतदाता शिक्षा कार्यक्रम आइतबार सकिँदै छ।

चुनावका लागि मौसम चुनौती बन्ने अनुमान पनि छ। प्रदेशका हिमाली क्षेत्रमा हिमपातका कारण मतदान केन्द्र सार्नुपर्ने आकलन गरिएकोमा बिस्तारै मौसममा सुधार आएसँगै बाटो खुलाएर तोकिएकै स्थानमा मतदान गर्ने सहमति भएको ढकालले बताए। उनका अनुसार मतदान अधिकृत र सहायक अधिकृतको तालिम भने सम्पन्न भइसकेको छ।

हिमालपारिको जिल्ला मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको करिब ४४ सय मिटर उचाइको शाङ्ता गाउँ र मनाङको नारफू गाउँपालिकाको नार र फू गाउँ (करिब ४२ सय मिटर उचाइ) मा हिमपात भएको छ।

गोरखा, म्याग्दी, मुस्ताङ र मनाङका तीन हजार मिटरभन्दा माथिका मतदान केन्द्रमा खटिने कर्मचारीका निम्ति आवश्यक औषधि तथा स्वास्थ्य सामग्रीको तयारी गरिएको निर्वाचन कार्यालयले जनाएको छ। विगतमा हिमाली क्षेत्रबाट जाडो छल्न बाहिरिएका मतदाता पनि फर्कन क्रम जारी छ।

कास्कीका मुख्य निर्वाचन अधिकृत हिमलाल बेल्बासेले निर्वाचनको चुनाव स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सबैसँग सहयोगको अपेक्षा गरेका छन्।
कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले चुनावमा तीन घेराको सुरक्षा प्रबन्ध मिलाइएको जानकारी दिइन्। मतदानस्थलमा न्यूनतम ८ देखि ३० जनासम्म नेपाल प्रहरी, त्यसको बाहिरी घेरामा सशस्त्र प्रहरी र सबैभन्दा बाहिरी घेरामा नेपाली सेना परिचालन हुनेछ।

गण्डकी प्रदेशभर कुल १८ लाख ७० हजार ६५ मतदाता छन्। प्रदेशमा १ हजार २९७ मतदानस्थल र २ हजार ३९६ मतदान केन्द्र निर्धारण गरिएको छ। अस्थायी मतदाता २१ हजार ६९३ छन् भने १७ अस्थायी मतदान केन्द्र कायम छन्। प्रदेशका १८ निर्वाचन क्षेत्रमा ३० स्वतन्त्र उम्मेदवारसहित २३४ जना उम्मेदवार चुनावी मैदानमा होमिएका छन्। तीमध्ये २९ महिला र २०५ पुरुष छन्। सबैभन्दा बढी कास्कीमा १८ राजनीतिक दल र सबैभन्दा कम मनाङमा ३ दल चुनावी होमिएका हुन्।

प्रकाशित: १६ फागुन २०८२ २०:२० | Saturday, February 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast