सुर्खेत- नेपाली कांग्रेस कर्णाली प्रदेशका उपसभापति एवम् सुर्खेत-१ बाट कांग्रेसका उम्मेदवार विष्णुबहादुर खड्काले कर्णालीमा पार्टी एकढिक्का भएको चुनावी मैदानमा होमिएको उद्घोष गरेका छन्।
कांग्रेसले बिहीबार सुर्खेतमा आयोजना गरेको चुनावी सभाको सम्बोधनका क्रममा उनले यस्तो उद्घोष गरेका हुन्। खड्काले कर्णालीका १० ओटै निर्वाचन क्षेत्रमा कांग्रेसप्रति जनलहर आएकाले सबैमा चुनाव जित्ने दाबी गरे।
उनले नेकपा एमाले, नेकपा र रास्वपालगायतका राजनीतिक दलले कांग्रेस विभाजित भएको भन्ने गलत भाष्य बनाएर जनतामा भ्रम छर्ने काम गरेको र यो लगत भएको बताए।
खड्काले भने,‘हाम्रो पार्टी अहिले एकढिक्का भएर चुनावमा होमिएको छ। कुनै समस्या छैन। बाहिर आएको हल्ला हामीलाई कमजोर बनाउने हल्ला मात्रै हो।’
उनले आफू सुर्खेत-१ को उम्मेदवार भए पनि यस क्षेत्रबाट कांगेसबाट चुनावी प्रतिस्पर्धामा रहेका सबैलाई जिताउन आफ्नो तर्फबाट काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
विगत २९ वर्षदेखि यातायात व्यवसायीको रूपमा सुर्खेतमा सेवा गर्दै आएका खड्काले यस प्रदेशका सबै निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेस जिताउन सबै नागरिकलाई आग्रह गरे।
कांग्रेस कर्णालीको सुखदुःखका सारथी खड्काले भदौ २३ र २४ को जेनजी आन्दोलनपछि बदलिएर देश बदल्ने हुटहुटीसहित निर्वाचनमा होमिएको कांग्रेसलाई सहयोग गर्नसमेत उनले आग्रह गरे।





