काठमाडौँ- चलचित्र विकास बोर्डले नेपाली चलचित्र सङ्ग्रहालयको औपचारिक सुरुवात गरेको छ। नेपाली फिल्मको इतिहास, कला र प्रविधिलाई भावी पुस्तासम्म सुरक्षित रूपमा संरक्षण गर्ने उद्देश्यसहित उक्त सङ्ग्रहालयको सुरुवात गरिएको हो।
बोर्डको प्रेक्षालयमा मंगलबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव लक्ष्मी कुमारी बस्नेतले सङ्ग्रहालयको उद्घाटन गरे।
कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले स्वदेशी फिल्म सङ्ग्रहालय स्थापना आफ्नो दीर्घकालीन सपना रहेको बताए। यसलाई उनले नेपाली फिल्मको आत्मा जोगाउने अभियानका रूपमा व्याख्यासमेत गरे।
‘नेपाली फिल्मको इतिहास केवल सम्झनामा सीमित नहोस्, त्यसलाई पुस्तान्तरण गर्न सकिने गरी संस्थागत रूपमा संरक्षण गर्नुपर्छ भन्ने सोचका साथ हामीले यो पहल गरेका हौँ,’ अध्यक्ष डिसीले भने। उनले विगतका संघर्ष, प्रविधिगत विकास र सिर्जनात्मक यात्रालाई एकै थलोमा अभिलेखीकरण गर्नु समयको माग भएको धारणा राखे।

सङ्ग्रहालयलाई भविष्यमा डिजिटल अभिलेखीकरणसँग जोड्दै अनुसन्धानकर्ता, विद्यार्थी तथा फिल्मप्रेमीका लागि अध्ययन केन्द्रका रूपमा विकास गर्ने लक्ष्य रहेको जानकारी दिए। अहिले सुरुवातमात्र भएको भन्दै उनले यसलाई राष्ट्रिय गौरवको परियोजनाका रूपमा विस्तार गर्ने प्रतिबद्धता जनाए।
कायर्क्रममा चलचित्रसँग सम्बन्धित १३ संघ-संस्थाका अध्यक्षलगायत विशिष्ट फिल्मकर्मीहरूको उल्लेख्य उपस्थिति थियो।
कार्यक्रममा वक्ताहरूले नेपाली चलचित्रको इतिहास संरक्षणमा बोर्डले ऐतिहासिक कदम चालेको बताए। सङ्ग्रहालयले विगतका प्रविधि, सिर्जना र दस्तावेजहरूलाई एकै स्थानमा सुरक्षित राखेर नयाँ पुस्तालाई अध्ययन तथा अनुसन्धानको अवसर प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ।
कार्यक्रममा फिल्मकर्मी तथा विभिन्न संस्थाहरूले विगतका ऐतिहासिक क्यामेरा, क्यासेट, टेप, पोस्टर, आर्टवर्क, स्क्रिप्ट तथा संग्रहयोग्य कागजातहरू हस्तान्तरण गरे।
सामाग्री उपलब्ध गराउने व्यक्तित्व तथा संस्थाहरूलाई कार्यक्रममा सम्मान समेत गरेको थियो। सङ्ग्रहालयलाई समृद्ध बनाउन विभिन्न क्षेत्रका फिल्मकर्मी तथा विभिन्न संस्थाले महत्त्वपूर्ण योगदान दिएकाे बाेर्डले जनाएकाे छ।
कसले केके सामग्री हस्तान्तरण गरे?
सिने फोकस प्रा.लि. (रजत बुढाथोकी) ले रेड क्यामेरा हस्तान्तरण गरे। क्लासिक सिने युनिभर्स प्रा.लि. (दिनेश महरा) ले सोनी EX3 क्यामेरा उपलब्ध गराए।
वरिष्ठ फिल्म सम्पादक मानबहादुर थापाले सन् १९८० को पानासोनिक F10 क्यामेरा, सोनी कलर मोनिटर (२००१), नेशनल पानासोनिक ५४३ क्यासेट टेप, साउन्ड/भिडियो उपकरण तथा अडियो मिक्सर उपलब्ध गराए।

उत्तम थापा, प्रबन्ध निर्देशक, म्यूजिक नेपाल प्रा.लिले १५२ वटा नेपाली फिल्मका पोस्टर तथा आर्टवर्क प्रदान गरे। रुपेन्द्र खड्गी, ओएसआर प्रा.लि.ले फिल्म आर्टवर्कहरू उपलब्ध गराए। कान्तिपुर रेडियोले ३४४ वटा फिल्मका क्यासेट तथा अडियो सिडीहरू हस्तान्तरण गरे।
दर्शनवीर शाक्य, सम्पादक, पेज थ्री पत्रिकाले नेपाल भाषाका ८० फिल्मका पोस्टर उपलब्ध गराए। जनक तामाङ, प्रबन्ध निर्देशक, हाईलाईट्स नेपाल प्रा.लि.ले २०२ नेपाली फिल्मका आर्टवर्क प्रदान गरे।

सुन्दरलाल श्रेष्ठ, आईडियल डिजाईनर्सले १४६ नेपाली फिल्मका पोस्टर उपलब्ध गराए। वरिष्ठ फिल्मकर्मी मन्दिल श्रेष्ठ तथा गौरीशंकर धुँजु (ए वन जन सेन्टर)ले पुरानो ऐतिहासिक क्यामेरा तथा ट्राइपोड प्रदान गरे।

लेखक तथा फिल्मकर्मी नरेन्द्रबहादुर श्रेष्ठले प्रथम फिल्म अवार्डका संग्रहयोग्य कागजात उपलब्ध गराउने भएका छन्। वरिष्ठ छायाकार पुरुषोत्तम प्रधानले आफू सम्बद्ध ६३ नेपाली फिल्मका स्क्रिप्ट उपलब्ध गराए।
नेपाली फिल्मप्रेमी दर्शक खुमराज पौडेल (प्रतिनिधि प्रिया लामिछाने)ले ७०४ वटा नेपाली फिल्मका पोस्टर हस्तान्तरण गरे।






