काठमाडौँ- नेकपा एमालेले निर्वाचन नजिकिदै जाँदा विभिन्न स्थानमा निषेधाज्ञा र कफ्र्यु लगाएर त्रास सिर्जना गर्न खोजेको आरोप लगाएको छ।
पार्टी कार्यालय च्यासलमा मंगलबार पत्रकार सम्मेलन गर्दै एमालेले तराई–मधेशका केही स्थानमा निषेधाज्ञा र कफ्र्यु जारी हुँदा मतदातामा भयरहित वातावरणमा मतदान केन्द्रमा पुगेर मतदान गर्न पाउने संवैधानिक अधिकार कुण्ठित हुनसक्ने भन्दै चिन्ता समेत व्यक्त गरेको छ।
शान्तिसुरक्षाका नाममा निषेधाज्ञा र कफ्र्यु लगाउने कामले क्षणिक सुरक्षाको अनुभूति भए पनि मतदाताको मनमा त्रासको सिर्जना गर्ने एमालेको ठहर छ। भयरहित निर्वाचनका लागि सरकारलाई पुनः शान्तिसुरक्षाको प्रत्याभूति गराउन आग्रह गरिएको एमाले आमनिर्वाचन प्रेस संयोजक मीनबहादुर शाहीले बताए।
एमालेले निर्वाचन सार्ने हल्ला चलेको प्रति ध्यानाकर्षण भएको भन्दै कुनै पनि बहानामा निर्वाचन नसारी घोषित मितिमा हुनुपर्नेमा एमालेको दृढ अडान रहेको शाहीले स्पष्ट पारे। एमालेले मत सर्वेक्षणका नाममा जनमत प्रभावित पारिएको भन्दै आपत्ति जनाएको छ।
सार्वजनिक खपतका लागि सार्वजनिक गरिने एकपक्षीय तथ्यांकबाट मतदाताको मनोविज्ञान प्रभावित गर्नसक्ने भएकाले यस्ता क्रियाकलाप रोक्न निर्वाचन आयोगको ध्यानाकर्षण गराइएको शाहीले बताए।
पछिल्लो समय गलत सूचना, दुष्प्रचार र कृत्रिम सामग्री प्रसारले सामाजिक सद्भाव भड्काउने, राजनीतिक ध्रुवीकरणको भाष्य खडा गर्ने गम्भीर चुनौती सिर्जना गरेको एमालेको ठहर छ।





