साहित्य लेखनमा नारीको नयाँ भूगोल : चेतनाको एउटा जीवित दस्ताबेज

हिमाल प्रेस १४ फागुन २०८२ २१:३३ | Thursday, February 26, 2026
12
SHARES
साहित्य लेखनमा नारीको नयाँ भूगोल : चेतनाको एउटा जीवित दस्ताबेज

नारी अस्मिताको प्रश्न आज अधिकार, प्रतिनिधित्व वा समानतामा मात्र सीमित रहेन। यो अनुभव, चेतना र आत्मनिर्णयको एउटा निरन्तर र जटिल प्रक्रिया हो। समकालीन साहित्यमा नारी न त कुनै निश्चित ढाँचामा अटाउँछिन्, न त कुनै एउटा विमर्शको स्थिर निष्कर्ष बन्छिन्। उनी लगातार निर्माण भइरहेकी, परिवर्तन भइरहेकी र आफ्नो समयसँग संवाद गरिरहेकी एक जीवन्त उपस्थिति हुन्। साहित्य यस परिवर्तनशील अस्मिताको सबैभन्दा संवेदनशील र इमानदार दस्ताबेजका रूपमा अगाडि आउँछ।

पूर्ववर्ती नारीलेखनमा संघर्ष मुख्यतया घरेलु घेरा, विवाहसंस्था र सामाजिक बन्देजमा मात्र सीमित थियो भने आजको संघर्ष अझ बढी जटिल र बहुस्तरीय भएको छ। समकालीन नारी एकसाथ धेरै मोर्चामा लडिरहेका छन्- घरभित्रको अदृश्य श्रमको उपेक्षादेखि कार्यस्थलका असमान अवसरसम्म सामाजिक नैतिकताका कसीदेखि डिजिटल निगरानी र सार्वजनिक आलोचनासम्म।

नारी अस्मिता अब विरासतमा मिलेको लडाइँमात्र नभई वर्तमानमा बाँचिने अनुभव पनि हो। यो पुस्ता न त गुनासो मात्र गर्छ, न त खोक्रो आशा जगाउँछ। उनीहरू आफ्नो समयलाई पूर्ण इमानदारी, संकोच र साहसका साथ लिपिबद्ध गर्छन्। यही इमानदारी समकालीन नारीलेखनको सबैभन्दा ठूलो राजनीतिक र साहित्यिक उपलब्धि हो।

दैनिक जीवनमा हामी प्राय: प्रश्नहरूमाथि विचार गर्दैनौँ। एउटा बनिसकेको रेखा (लिक) छ, जसमा हामी हिँडिरहन्छौँ र त्यसलाई कोट्याउने वा चलाउने प्रयास गर्दैनौँ। हामी वैचारिक रूपमा मानिस भइरहेका छौँ,  किताब छुने र प्रश्न उठाउने सामर्थ्य पाइरहेका छौँ। अब समय यी कुराहरूमा अडिएर सोच्नुपर्ने समय आएको छ।

वर्षौँदेखि बनेका मानसिकता एकदुई दिनमै बदलिँदैनन्। रूढिवादी विचारहरू हाम्रा भित्री तहसम्म निकै गढिसकेका छन्। तिनबाट छुटकारा पाउन सहज छैन। तैपनि नारीहरू समाज र समय अगाडि बढिरहेका छन्, छात्राहरू/केटीहरू अगाडि निस्किरहेका छन्, नारीहहरूले एकअर्कालाई दृढताका साथ सहारा दिइरहेका छन्। यसले हाम्रा लागि एउटा सुनौलो बिहानी अब टाढा छैन भन्ने विश्वास जगाउँछ। एउटा यस्तो बिहानी जहाँ हामी अदुवा हालेको चियासँगै आफ्नो स्वतन्त्रतालाई कुनै अपराध बोधबिना बाँच्न सक्नेछौँ। औँला हामीतिर मात्र ठडिने छैनन्, बरु हाम्रा प्रश्नको जवाफ पनि पाइनेछ। हामीले समानता मात्र होइन, बरु मानवताको दायरामा आफ्नो स्थान पाउनेछौँ।

हामी अगाडि बढिरहेका छौँ तर हामीले आफ्नो सोचभन्दा पनि अगाडि बढ्नुपर्नेछ। महिला घरबाट बाहिर निस्किरहेका छन्, पुरुष पनि घरभित्र प्रवेश गर्नुपर्नेछ। तबमात्र नारीहरूले कुनै अपराधबोध र दबाबबिना आफ्नो कार्यस्थलमा सर्वश्रेष्ठ योगदान दिन सक्नेछन्।

समकालीन नारीलेखनमा सपनाहरूको प्रकृति बदलिएको छ। यो पुरुषको बराबर हुने मात्र होइन, एक स्वतन्त्र र पूर्ण मानिसका रूपमा बाँच्ने सपना हो। यो सपना आत्मनिर्भर हुने वा कामकाजी बन्ने कुरामा सीमित छैन, बरु भावनात्मक र वैचारिक स्वायत्ततासँग जोडिएको छ।

आजका नारी प्रेमलाई पनि नयाँ ढंगले हेर्छन्। उनीहरू प्रेममा आफूलाई विलीन गराउन चाहँदैन्नन्, बरु संवाद, साझेदारी र सम्मान चाहन्छन्। मातृत्व उनीहरूका लागि एक विकल्प हो, अनिवार्य होइन। उनीहरू एक्लोपनलाई असफलता मान्दैनन्, बरु कैयौँ पटक त्यसलाई आफ्नो रचनात्मक र आत्मिक आवश्यकताका रूपमा स्वीकार गर्छन्। यही दृष्टिले साहित्यलाई भावुकताबाट बाहिर निकालेर विचारको धरातलमा उभ्याउँछ।

समकालीन कवितामा यी सपना निकै सूक्ष्म रूपमा आउँछन्- कहिले आफ्नो समयमा सुत्न पाउने इच्छामा, कहिले अपराधबोधबिना आफ्ना लागि समय माग्ने कुरामा र कहिले निर्भय भई आफ्ना कुरा राख्न सक्ने लोकतन्त्रात्मक आकांक्षामा। यही सानासाना सपनाले ठूलो सामाजिक परिवर्तनको जग बसाल्छन्।

यो समयले नारीबाट सबै कुरा एकैसाथ सम्हाल्ने अपेक्षा गर्दछ- करियर, परिवार, सम्बन्ध र आत्मविकास। साहित्यले यस असम्भव अपेक्षामाथि प्रश्न उठाउँछ र यो रेखांकित गर्दछ- नारीको थकान पनि एउटा राजनीतिक तथ्य हो, जसलाई बेवास्ता गर्न सकिँदैन।

आजका नारी लेखनका चासो र सरोकार व्यापक र स्पष्ट छन्। यहाँ शरीर कुनै सौन्दर्य वा नैतिकताको वस्तु होइन, बरु अनुभवको थलो हो। नारी आफ्नो शरीरका माध्यमबाट संसारलाई बुझ्छिन् पनि र त्यसलाई प्रश्न पनि गर्छिन्। महिनावारी, गर्भावस्था, सुत्केरी अवस्था, यौनहिंसा, बिरामी र उमेर यी सबै विषय अब साहित्यको किनारामा होइन, केन्द्रमा छन्।

भाषाको स्तरमा पनि नारी लेखनले एउटा निर्णायक हस्तक्षेप गर्दछ। यो भाषा सजावटी वा विनम्र हुनुपर्ने दबाबबाट मुक्त भएर सीधा, अनुभवजन्य र कतिपय अवस्थामा असहज पनि भइदिन्छ। यहाँ करुणाका साथमा क्रोध छ, संवेदनाका साथमा तर्क छ। यो भाषाले पितृसत्तात्मक सौन्दर्यबोधलाई चुनौती दिन्छ र नयाँ साहित्यिक मापदण्डहरू निर्माण गर्दछ।

समकालीन नारीलेखनले के स्पष्ट पार्छ भने नारी अस्मिता कुनै तयारी परिभाषा होइन, यो त एउटा निरन्तर निर्माणको प्रक्रिया हो। यो संघर्षहरूबाट गुज्रिन्छ, सपनाहरूबाट दिशा पाउँछ र यसले आफ्ना सरोकारका माध्यमबाट समाजमा हस्तक्षेप गर्दछ। यो साहित्यले कुनै अन्तिम निष्कर्षमा पुग्ने दाबी गर्दैन, बरु प्रश्नहरूलाई खुला छाडिदिन्छ। यही नै यसको सबैभन्दा ठूलो शक्ति हो।

अहिलेका नारीले साहित्यमा आफूलाई लिपिबद्ध गरिरहेका छन्। उनीहरूबाट आफ्नो समय बदल्ने प्रयास भइरहेको छ। यस अर्थमा समकालीन नारीलेखन साहित्यमात्र होइन, बरु चेतनाको एउटा जीवित दस्ताबेज हो।

प्रकाशित: १४ फागुन २०८२ २१:३३ | Thursday, February 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast