जनार्दनले सार्वजनिक गरे रुकुम विकासको खाका

हिमाल प्रेस १२ फागुन २०८२ १३:२३ | Tuesday, February 24, 2026
16
SHARES
जनार्दनले सार्वजनिक गरे रुकुम विकासको खाका

काठमाडौँ- प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता तथा रुकुम पश्चिमबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार जनार्दन शर्माले रुकुम पश्चिमको विकास र सामाजिक रूपान्तरणको योजना सार्वजनिक गरेका छन्। ‘हेरौँ स्पष्ट, छानौँ उत्कृष्ट’ भन्ने नारासहित खुलेको आँखा चुनाव चिह्न लिएर उनी प्रतिस्पर्धामा उत्रिएका छन्।

शर्माले राजनीतिमा देखिएको विकृति र विसंगति विरुद्ध लड्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले राजनीतिलाई व्यापार र व्यक्तिगत स्वार्थको माध्यम बनाउने प्रवृत्ति, जनमतको दुरुपयोग तथा प्रतिशोधको भावनाविरुद्ध अभियान चलाउने बताए। समाजलाई सभ्य, शान्त, समृद्ध र लोकतान्त्रिक बनाउन गालीगलौजको संस्कृति, अपारदर्शिता, विलासिता र पारिवारिक स्वार्थ जस्ता व्यवहार निरुत्साहित गर्ने उनको भनाइ छ।

भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै उनले जनचेतना अभिवृद्धि, दबाब सिर्जना र बलियो नीतिगत संरचना निर्माण गर्ने बताएका छन्। राज्यका नीति, योजना निर्माण र कार्यान्वयनमा जनसहभागिता सुनिश्चित गरिने उनले उल्लेख गरे।

रुकुम पश्चिममा गरिबी र बेरोजगारी अन्त्यका लागि जल, जमिन, जंगल, खानी र पर्यटकीय क्षेत्रको अधिकतम उपयोग गरिने योजना उनले अघि सारेका छन्। कृषि र पशुपालन क्षेत्रमा सुधार गर्दै रोजगारी सिर्जना गरिने पनि उनले बताए। युवालाई स्वरोजगार बनाउन सूचना प्रविधि शिक्षामा जोड दिँदै ‘देशमै रोजगारी, जिल्लामै अवसर’ सिर्जना गर्ने लक्ष्य रहेको उनले बताए।

समाजमा विद्यमान विभेद अन्त्यका लागि सचेतना कार्यक्रम सञ्चालन गर्ने, दलित, महिला, अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक र बालबालिकाको संरक्षण तथा सशक्तीकरण गर्ने योजना पनि प्रस्तुत गरिएको छ।

स्वास्थ्य क्षेत्रमा मेडिकल कलेज स्थापना गरी स्थानीयस्तरमै उपचार सुविधा विस्तार गर्ने, गरिब तथा असहायलाई नि:शुल्क उपचार उपलब्ध गराउने तथा योग र ध्यानको प्रवर्द्धन गर्ने योजना रहेको छ।

शिक्षा क्षेत्रमा ‘पढ्दै कमाउँदै’ कार्यक्रममार्फत सीपयुक्त जनशक्ति तयार गर्ने, विद्यालय तहदेखि नै सूचना प्रविधि शिक्षा लागु गर्ने र खेलकुद, संगीत तथा नृत्यजस्ता विषयलाई समेट्ने लक्ष्य राखिएको छ।

पूर्वाधार विकासअन्तर्गत सडक सञ्जाल विस्तार, विमानस्थल, विद्युतीकरण, खानेपानी, सिँचाइ, पर्यटकीय संरचना तथा खेलकुद मैदान निर्माण गर्ने प्रतिबद्धता जनाइएको छ। नदी तथा खोलाबाट जलविद्युत उत्पादन गरी रोजगारी सिर्जना र आर्थिक समृद्धि हासिल गर्ने योजना पनि अघि सारिएको छ।

प्रकाशित: १२ फागुन २०८२ १३:२३ | Tuesday, February 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast