काठमाडौँ- निर्वाचनका समयमा बजारमा हुने गैर कानुनी क्रियाकलाप रोक्न र उपभोक्ताको अधिकारको संरक्षण गर्ने उद्देश्यका साथ वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एकै दिन २६ वटा फर्ममा अनुगमन गरेको छ।
विशेष गरी खाद्यान्न तथा फलफूल व्यवसाय गर्ने फर्ममाथि अनुगमन गर्दै विभागले कानुनको पूर्ण परिपालना गर्न आग्रह गरेको छ। निर्वाचनको बहानामा खाद्यपदार्थ लुकाउने, कालोबजारी गर्ने, तोकिएकोभन्दा बढी मूल्य लिनेजस्ता समस्या देखिएको भन्दै गुनासो आएपछि विभागले थप सक्रिय भएको छ।
विभागले सोमबार एकै पटक कुलेश्वर क्षेत्रमा अनुगमन गरेको हो । अनुगमनका क्रममा कैफियत भेटिएपछि रमेश फ्रुट ट्रेडर्सलाई व्यवसायसँग सम्बन्धित कागजात लिई तीन दिनभित्र विभागमा उपस्थित हुन भनिएको छ।
अन्य २५ वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिइएको विभागले जनाएको छ। स्थानीय जनप्रतिनिधि, उपभोक्ता अधिकारकर्मी तथा सरोकारवालाको उपस्थितिमा विभागले अनुगमन गर्दै आएको छ। रासस





