ट्रम्पको नयाँ भन्सार शुल्क घोषणा : सुनको मूल्य बढ्यो, डलरको भाउमा गिरावट

हिमाल प्रेस ११ फागुन २०८२ १९:१६ | Monday, February 23, 2026
38
SHARES
ट्रम्पको नयाँ भन्सार शुल्क घोषणा : सुनको मूल्य बढ्यो, डलरको भाउमा गिरावट एआईको सहायतामा बनाइएको तस्बिर।

काठमाडौँ- अमेरिकी सर्वोच्च अदालतले डोनाल्ड ट्रम्पको अघिल्लो व्यापार नीति गैरकानुनी भएको ऐतिहासिक फैसला गरेलगत्तै ट्रम्पले नयाँ १५ प्रतिशत भन्सार शुल्क लगाएर विश्व व्यापारमा अनिश्चितता बढाएपछि सोमबार सुनको मूल्य बढेको छ भने डलरको भाउ घटेको छ।

अमेरिकी राष्ट्रपतिले सर्वोच्च अदालतको शुक्रबारको फैसलाको प्रतिक्रियास्वरूप देशका व्यापारिक साझेदारमाथि एकमुष्ट भन्सार शुल्क लगाउने घोषणा गरेका हुन्, जुन मंगलबारदेखि लागू हुनेछ।

यो नयाँ शुल्क सन् १९७४ को व्यापार ऐनमा आधारित छ, जसले ट्रम्पलाई १५० दिनसम्म आयातमा प्रतिबन्ध लगाउने अधिकार दिन्छ। अमेरिकी सर्वोच्च अदालतले आफ्नो फैसलामा गत वर्ष भन्सार शुल्क लगाउन राष्ट्रपतिले संकटकालीन अधिकार प्रयोग गर्दा आफ्नो क्षेत्राधिकार नाघेको बताएको थियो।

गत अप्रिलमा ट्रम्पले सुरु गरेको व्यापार युद्धले मुद्रा, ऋणपत्र र सेयर बजारलाई निकै उथलपुथल बनाएको थियो। त्यसपछि एआईको लहरका कारण सेयर बजारले लय समात्दै ऐतिहासिक उचाइ छोइसकेको छ।

सोमबार लन्डनको प्रारम्भिक कारोबारमा सुरक्षित सम्पत्तिका रूपमा मानिने सुनको मूल्य ०.६ प्रतिशतले बढेर प्रतिऔँस पाँच हजार एक सय ३३ डलर पुगेको छ भने डलर अन्य प्रमुख मुद्राहरूको तुलनामा ०.३ प्रतिशतले कमजोर भएको छ।

अमेरिकी सेयर बजारका फ्युचर्स सूचकहरूले एस एन्ड पी ५०० मा ०.५ प्रतिशत र नास्डाक १००मा ०.७ प्रतिशतको गिरावट आउने संकेत गरेका छन्।

युरोपेली सेयर बजारमा भने यसको प्रतिक्रिया केही मत्थर देखिएको छ, जहाँ ‘स्टक्स युरोप ६००’ प्रारम्भिक कारोबारमा ०.३ प्रतिशतले घटेको छ। प्रविधि क्षेत्रका सेयरहरू सबैभन्दा कमजोर देखिएका छन्, जहाँ प्रविधि उपसूचक ०.९ प्रतिशतले ओरालो लागेको छ।

१० वर्षे ट्रेजरी ऋणपत्रको प्रतिफल ०.०१ प्रतिशत विन्दुले घटेर ४.०७ प्रतिशत कायम भएको छ। यस्तै बिटक्वाइन २.७ प्रतिशतले ओरालो लाग्दै प्रतिटोकन ६५ हजार ८०१ डलरमा झरेको छ।

‘बजारले अहिले अनिश्चिततालाई ध्यानमा राखेर मूल्य निर्धारण गरिरहेको छ किनभने भन्सार शुल्क अन्ततः कहाँ पुगेर टुंगिने हो भन्ने कसैलाई थाहा छैन’, बीएनपी पारिबास एसेट म्यानेजमेन्टका एसिया (जापानबाहेक) मुख्य लगानी अधिकृत एकातेरिना विगोसले भनिन्।

आरबीसी क्यापिटल मार्केट्सका विश्लेषकहरूका अनुसार ट्रम्पको नयाँ नीतिअन्तर्गतको समग्र प्रभावकारी भन्सार दर अघिल्लो व्यवस्थाको तुलनामा कम भएकाले सेयर बजारमा हुन सक्ने जोखिम केही हदसम्म कम भएको छ।

गोल्डम्यान स्याक्सका विश्लेषकहरूले पनि नयाँ भन्सार शुल्कले सन् २०२५ को सुरुवातको तुलनामा प्रभावकारी भन्सार दरमा हुने वृद्धिलाई केही कम गरेको बताएका छन्। अघिल्लो व्यवस्थामा १० प्रतिशत विन्दुभन्दा बढी रहेको यो वृद्धि अहिले नौ प्रतिशत विन्दुमा झरेको छ। बैंकले नयाँ करका कारण अमेरिकी आर्थिक वृद्धि र मुद्रास्फितिमा आफ्नो अपेक्षामा खासै परिवर्तन नआएको बताएको छ।

एसियाली बजारमा भने केही निर्यातकर्ताका लागि भन्सार दर घट्ने सम्भावनालाई लगानीकर्ताहरूले स्वागत गरेपछि सोमबार सेयर बजारमा उत्साह देखिएको छ। हङकङको ह्याङ सेङ सूचक २.४ प्रतिशतले बढ्दै वृद्धिमा अग्रस्थानमा रह्यो। ताइवानको ट्याइक्स ०.५ प्रतिशत र दक्षिण कोरियाको कोस्पी ०.७ प्रतिशतले उकालो लागेका छन्। जापानको बजार भने बन्द थियो।

चीनका बजार पनि बन्द थिए, जुन १५ प्रतिशतको भन्सार शुल्कबाट सबैभन्दा बढी लाभान्वित हुने देशहरूमध्ये एक हुन सक्थ्यो।

सर्वोच्च अदालतको फैसलामाथि आफ्नो पहिलो आधिकारिक प्रतिक्रिया दिँदै चीनको वाणिज्य मन्त्रालयले सोमबार आफू एकपक्षीय भन्सार शुल्कको विरुद्धमा रहेको र फैसलाको प्रभावबारे विस्तृत मूल्याङ्कन गरिरहेको बताएको छ।

मन्त्रालयले भनेको छ, ‘अमेरिकाले आफ्ना व्यापारिक साझेदारहरूमाथि भन्सार कायम राख्नका लागि व्यापार अनुसन्धान जस्ता वैकल्पिक उपायहरूको तयारी गरिरहेको छ। चीनले यसलाई नजिकबाट नियाल्नेछ र आफ्ना हितहरूको दृढतापूर्वक रक्षा गर्नेछ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast