काठमाडौँ- प्रतिनिधिसभा सदस्य निर्वाचन मिति नजिकिँदै गर्दा सार्वजनिक बिदाबारे चासो बढेको छ। यस सन्दर्भमा निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले कति दिन बिदा दिने भन्नेमा छलफल भइरहेको बताएका छन्।
आइतबार हिमालप्रेसको जिज्ञासामा प्रवक्ता भट्टराईले भने, ‘यस विषयमा छलफल गर्दैछौं, छिट्टै निर्णयमा पुग्छौं।’ यही फागुन २१ गते देशभर एकैचरणमा प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ। देशभरका अधिकांश विद्यालयलाई मतदान केन्द्र तोकिएकाले बिदा व्यवस्थापनबारे सरकार र आयोगबीच परामर्श चलिरहेको जनाइएको छ।
२०७९ सालमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका बेला आयोगले तीन दिन सार्वजनिक बिदाको प्रस्ताव गरेको थियो। आयोगको प्रस्ताव मन्त्रिपरिषद्मा पठाइए पनि अन्तिम निर्णय भने सरकारले नै गर्ने प्रावधान छ।
त्यतिबेला मतदान सामग्री व्यवस्थापन, कर्मचारी खटाउने व्यवस्था तथा मतदाताको सहज आवतजावतलाई ध्यानमा राख्दै तीन दिन बिदा दिइएको थियो। यसअनुसार अघिल्लो अभ्यास दोहोर्याउँदै तीन दिन सार्वजनिक बिदा दिने सम्भावना छ।




