इन्डो-नेपाल ट्रेड फेस्टिभलको दोस्रो संस्करण

‘नेपालमा लगानी र पर्यटन’ को निम्तोले गुन्जियो नयाँदिल्ली

हिमाल प्रेस ९ फागुन २०८२ १९:३५ | Saturday, February 21, 2026
14
SHARES
‘नेपालमा लगानी र पर्यटन’ को निम्तोले गुन्जियो नयाँदिल्ली

काठमाडौँ- नेपाल र भारतबीचको सदीयौँ पुरानो ऐतिहासिक सम्बन्धलाई व्यापार, लगानी र पर्यटनको आधुनिक उचाइमा पुर्‍याउने लक्ष्यका साथ नयाँदिल्लीमा ‘इन्डो-नेपाल ट्रेड फेस्टिभल’ को दोस्रो संस्करण जारी रहेको छ। शुक्रबार सुरु भएको महोत्सवमा विभिन्न विषयका बहस सत्र चलिरहेका छन्।

‘कनेक्टिङ पिपुल, इन्हान्सिङ बाइलेटरल ट्रेड’ मूल नाराका साथ हौजखासस्थित पीएडी भवनमा आयोजित उद्घाटनसत्रमा वक्ताहरूले दुई मुलुकको ‘रोटी-बेटी’ को सम्बन्धलाई अब ‘लगानी र साझा समृद्धि’ को नयाँ अध्यायमा बदल्नुपर्नेमा जोड दिए।

उद्घाटनसत्रलाई सम्बोधन गर्दै भारतका लागि नेपाली राजदूत डा‍‍. शंकरप्रसाद शर्माले नेपाल र भारतबीचको सम्बन्ध केवल कूटनीतिक सीमामा मात्र सीमित नभई यो भावनात्मक रहेको उल्लेख गरे। दुई मुलुकबीचको खुला सिमाना र सहज आउजाउले जनस्तरको सम्बन्धलाई विश्वमै उदाहरणीय बनाएको चर्चा गर्दै उनले भने, ‘नेपाल र भारतलाई भूगोलले मात्र होइन, साझा संस्कृति, धर्म र इतिहासले जोडेको छ। यही सहजतालाई अब हामीले आर्थिक लाभ र पर्यटन प्रवर्द्धनमा बदल्नुपर्छ।’

राजदूत शर्माले नेपालका कैयौँ सुन्दर र ऐतिहासिक गन्तव्यहरूको प्रचारप्रसार भारतमा अझै पुग्न नसकेकोमा चिन्ता व्यक्त गरे। विशेषगरी रामग्राम जस्ता बुद्धको अस्थिधातु रहेको पवित्र स्थललाई भारतीय पर्यटकमाझ पुर्‍याउनुपर्नेमा उनले जोड दिए।

निर्यात क्षेत्रमा सोयाबिन र पाम आयलमा मात्र निर्भर नभई अन्य उत्पादन बढाउनुपर्ने र भारतीय व्यापार मेलाहरूमा नेपाली स्टलको सहभागिता बढाउनुपर्ने पनि औंल्याइएको छ। भारतमा रहेका नेपालीहरूलाई स्वदेशमा लगानी गर्न आह्वान गर्दै दूतावासले निजी क्षेत्रलाई स्पष्ट ‘रोडम्याप’ तयार पार्न सुझाव दिँदै सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएको राजदूतले बताए।

कार्यक्रमका विशेष अतिथि भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महाबरले नेपालमा हुन लागेको निर्वाचनको सफलताको शुभकामना दिँदै भारतले आवश्यक लजिस्टिक सहयोग उपलब्ध गराएको जानकारी दिए। उनले भारत-नेपाल स्टार्टअप साझेदारी नेटवर्कअन्तर्गत २४ नेपाली उद्यमीले आईआईटी मद्रासमा तालिम लिएको र ९ जना लगानीका लागि छनोट भएको सुखद खबर सुनाए।

महाबरले भारतको आन्तरिक तथा विदेशी नीतिमा समावेशीता नै मूल आधार रहेको उल्लेख गर्दै उन्नत कनेक्टिभिटी र सहकार्यमार्फत साझा समृद्धि अघि बढाउने प्रतिबद्धता पुनः व्यक्त गरे। नेपालसँग जलविद्युत क्षेत्रमा भएको प्रगतिले आगामी दिनमा थप महत्वाकांक्षी परियोजनामा सहकार्यका सम्भावना रहेको उनको भनाइ थियो। डिजिटल भुक्तानीमा भएको सहकार्यले आमनागरिकलाई सहज भएको धारणा पनि उनले राखे।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले दुई देशबीचको प्राचीन सम्बन्ध र भौगोलिक निकटतालाई व्यापारिक अवसरमा बदल्न भारतीय लगानीकर्ताहरूलाई आह्वान गरे। उनले नेपालका होटल, केबलकार र धार्मिक पर्यटन पूर्वाधारमा ‘जोइन्ट भेन्चर’ लगानीका लागि ठोस प्रस्ताव राखे।

दश अर्ब रुपैयाँको ‘नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड’ मार्फत भारतमा रहेका प्रवासी नेपालीहरूलाई पनि यो अभियानमा जोडिन उनले आग्रह गरे। त्यस्तै, नेपाल घरेलु तथा साना उद्यमी महासंघका अध्यक्ष उमेश प्रसाद सिंहले नेपालका साना उद्योगमा १० लाख भारतीय नागरिकले रोजगारी पाइरहेको जानकारी दिँदै यसले दुई देशको आत्मीयता दर्शाउने बताए।

सस्टेनेबल टुरिज्म उत्तर प्रदेशकी अध्यक्ष अंकिता जैसवालले नेपाल र भारत भौगोलिक मात्र नभई पारिवारिक र मानवीय सम्बन्धले गहिरो रूपमा जोडिएका देश भएको उल्लेख गर्दै सेवा, आतिथ्य र सांस्कृतिक सम्बन्धलाई दिगो विकाससँग जोड्नुपर्ने धारणा राखिन्।

महोत्सवका मुख्य आयोजक एवं एभरेष्ट चेम्बर अफ कमर्सका अध्यक्ष युवराज बरालले व्यापार, कला र चलचित्रका माध्यमबाट जनस्तरको सम्बन्ध सुदृढ बनाउन यो महोत्सव कोसेढुंगा साबित हुने विश्वास व्यक्त गरे।  पूर्व सांसद दिव्यमणि राजभण्डारीले जलवायु परिवर्तन जस्ता साझा मुद्दामा नेपाल-भारतले संयुक्त रूपमा काम गर्नुपर्ने आवश्यकता औंल्याए ।

महोत्सवको पहिलो दिन नेपाली निर्देशक मिलन चाम्लिंग राई निर्देशित ब्रिटिस गोर्खाको वीरताको कथामा आधारित नेपाली चलचित्र ‘गोर्खा वारियर’ को स्क्रिनिंग गरिएको थियो। निर्माता सुमन राईले निर्माण गरेको चलचित्र ब्रिटिस गोर्खाको कथामा आधारित रहेकाले यसमा भारतमा रहेका नेपाली गाेर्खालाई समेत उत्सुकता हुने उल्लेख गरेका थिए।

लगत्तै ‘नेपाल भारत सम्बन्धमा सफ्ट पावरको रुपमा सिनेमाको भूमिका’ विषयको सत्रमा नेपाली दूतावासका उपप्रमुख डा.सुरेन्द्र थापा, गोर्खा वारियरका निर्देशक राई, नेपाल भारत सम्बन्धका जानकार जनरल अशोक मेहता, फिल्म डाइरेक्टर्स गिल्ड अफ नेपालका अध्यक्ष जनकदीप पराजुली, इण्डिया एण्ड साउथ इंकका उपाध्यक्ष आनन्द झा लगायत वक्ताहरुले धारणा राखेका थिए। सत्रलाई दिल्लीमा रहेकी पत्रकार आकांक्षा शाहले सञ्चालन गरेकी थिइन्।

दूतावासका उपप्रमुख डा. थापालगायतले सिनेमाले दुई देशको भावनात्मक दूरी मेटाउने धारणा राखे। पीएचडी चेम्बरको नेपाल-भारत सेन्टरका सिनियर सेक्रेटरी अतुल कुमार ठाकुरले फिल्म तथा लोकेसन प्रमोशन क्षेत्रमा नेपालसँग सहकार्यका व्यापक सम्भावना रहेको उल्लेख गर्दै आगामी दिनमा एभरेष्ट चेम्बरसँग सहकार्य विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे।

तीन दिनसम्म चल्ने यस महोत्सवमा जलविद्युत्, सीमापार व्यापार, डिजिटल अर्थतन्त्र र ‘भिजन २०३०’ लगायतका १० भन्दा बढी उच्चस्तरीय सत्र सञ्चालन भइरहेका छन्, जसमध्ये आधाभन्दा बढी सम्पन्न भइसकेका छन्।  व्यावसायिक तथा नीतिगत छलफलसँगै महोत्सवमा नेपालको समृद्ध सांस्कृतिक सम्पदा संगीत कार्यक्रम, चलचित्र प्रदर्शन, परम्परागत कला तथा प्रामाणिक नेपाली परिकारमार्फत प्रस्तुत गरिएको छ।

साठीभन्दा बढी स्टलहरू रहेको यस मेलामा २५ हजारभन्दा बढी अवलोकनकर्ता सहभागी हुने अनुमान गरिएको छ। नेपालको समृद्ध सांस्कृतिक सम्पदा, संगीत र परिकारमार्फत भारतीय नागरिकलाई नेपालसँग अझ नजिक ल्याउने अपेक्षासहित यो महोत्सव गर्न लागिएको हो। गत वर्ष यसको पहिलो संस्करण सफलतापूर्वक सम्पन्न भएको थियो।

 

 

 

प्रकाशित: ९ फागुन २०८२ १९:३५ | Saturday, February 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast