काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा पूर्वराजा ज्ञानेन्द्र शाहले गरेको सम्बोधनको समर्थन गरेको छ। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको अनुपस्थितिमा वरिष्ठ नेता बुद्धिमान तामाङको अध्यक्षतामा बसेको बैठकमा केन्द्रीय पदाधिकारीको बैठकले ज्ञानेन्द्रले गरेको अभिव्यक्ति मुलुकको धरातलीय यथार्थको प्रतिबिम्ब भएको निष्कर्ष निकालेको छ।
बुधबार पूर्वराजाले ‘पहिले राष्ट्रिय समस्याको समाधान गरेर मात्र आसन्न निर्वाचन प्रक्रियातर्फ जानु उचित हुने र निर्वाचनपछि कुनै द्वन्द, अशान्ति र खिचातानी नहोस् भन्ने विषयलाई ध्यानमा राखेर राष्ट्रिय सहमति र सबैलाई समेटेर जाने समझदारी बनाएर मात्र निर्वाचनमा जाँदा नै त्यसले सही बाटो समात्ने थियो’ भनेका थिए।
राप्रपाले आफूले पनि शाहकै भनाइअनुसार मुलुकको वर्तमान अवस्थालाई दृष्टिगत गर्दै सबै विचार र शक्तिहरूको प्रतिनिधित्व हुने गरी सर्वपक्षीय सम्मेलन गर्ने र नविन समझदारी कायम गर्ने बारे पटकपटक आवाज उठाउँदै आएको बताएको छ। बैठकपछि राप्रपा प्रवक्ता मोहन श्रेष्ठले निकालेको विज्ञप्तिमा यथासम्भव निर्वाचन पूर्व नै राष्ट्रिय समस्याको समाधानका निम्ति समझदारी कायम गर्न सरकार र राजनीतिक दलहरूसँग आग्रह गरेको छ।
प्रेस विज्ञप्ति राप्रपाको केन्द्रीय पदाधिकारीको बैठक आज केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको छ। चुनावी अभियानको क्रममा अध्यक्ष राजेन्द्र लिङ्देन उपत्यका बाहिर रहनुभएकाले अध्यक्षको निर्देशनमा वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङको अध्यक्षतामा बसेको बैठकमा पूर्व अध्यक्षद्वय डा.प्रकाशचन्द्र लोहनी र कमल थापा एवं काठमाण्डौंमा उपलब्ध केन्द्रीय पदाधिकारीको उपस्थिति रहेको थियो । बैठकले, राजा ज्ञानेन्द्रबाट प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा देशवासीको नाममा दिइएको सन्देशमा व्यक्त विचारको राष्ट्रिय प्रजातन्त्र पार्टी स्वागत र समर्थन गर्दछ। “पहिले राष्ट्रिय समस्याको समाधान गरेर मात्र आसन्न निर्वाचन प्रक्रियातर्फ जानु उचित हुने र निर्वाचनपछि कुनै द्वन्द, अशान्ति र खिचातानी नहोस् भन्ने विषयलाई ध्यानमा राखेर राष्ट्रिय सहमति र सबैलाई समेटेर जाने समझदारी बनाएर मात्र निर्वाचनमा जाँदा नै त्यसले सही बाटो समात्ने थियो” भन्ने राजाको अभिव्यक्ति मुलुकको धरातलीय यथार्थको प्रतिबिम्ब हो। आम जनताको चाहना नै त्यही हो। राष्ट्रिय प्रजातन्त्र पार्टीले मुलुकको वर्तमान अवस्थालाई दृष्टिगत गर्दै सबै विचार र शक्तिहरूको प्रतिनिधित्व हुने गरी सर्वपक्षीय सम्मेलन गर्ने र नविन समझदारी कायम गर्ने बारे पटकपटक आवाज उठाउँदै आएको सर्वविदित छ। यसै क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीले सम्माननीय प्रधानमन्त्रीलाई ज्ञापनपत्र दिनुका साथै विभिन्न राजनीतिक दलहरूसँग यस सम्बन्धमा वार्ता र विचारविमर्श गरिरहेको छ। यथासम्भव निर्वाचन पूर्व नै राष्ट्रिय समस्याको समाधानका निम्ति समझदारी कायम गर्न सरकार र राजनीतिक दलहरूसँग फेरि पनि हामी आग्रह गर्दछौं। साथै, राजाको सन्देश तथा पार्टीको नीति अनुरूप उच्च मनोबलका साथ चुनावी अभियानमा समेत नवीन समझदारीको निम्ति दबाब दिन तथा आम जनतालाई जागरुक तुल्याउन राप्रपा आह्वान गर्दछ।
मोहन कुमार श्रेष्ठ प्रवक्ता एवं प्रचार विभाग प्रमुख




