चिनियाँ नयाँ वर्षअन्तर्गत ललितपुरमा लालटिन महोत्सव, राजदूत चाङको पहिलो सार्वजनिक सम्बोधन

हिमाल प्रेस ६ फागुन २०८२ १४:२८ | Wednesday, February 18, 2026
4
SHARES
चिनियाँ नयाँ वर्षअन्तर्गत ललितपुरमा लालटिन महोत्सव, राजदूत चाङको पहिलो सार्वजनिक सम्बोधन

ललितपुर- चिनियाँ नयाँ वर्ष (लुनार न्यु इयर) का अवसरमा  ललितपुरको पाटन दरबार क्षेत्रमा लालटिन महोत्सव  सुरु भएको छ। रंगीन प्रकाश, परम्परा र सांस्कृतिक उत्साहले उज्यालिएको महोत्सवले नेपाल र चीनबीचको सदीयौँ पुरानो मित्रता, सांस्कृतिक सद्भाव र जनस्तरको आत्मीयतालाई अझ प्रखर बनाउने सन्देश दिएझैँ देखिन्छ।

नेपालका लागि चीनका नवनियुक्त राजदूत चाङ माओमिङले ऐतिहासिक पाटन संहग्रहालय परिसरमा मंगलबार साँझ आयोजित उद्घाटन समारोहमा महोत्सव शुभारम्भ गरेका हुन्। राजदूतका रूपमा नेपाल आएपछि यो उनको पहिलो ठूलो सार्वजनिक उपस्थिति एवं औपचारिक सम्बोधन हो।

राजदूत झाङ फागुन १ मा काठमाडौँ आइपुगेका हुन। उनी आएलगत्तै आफ्नो ओहोदाको प्रति परराष्ट्र मन्त्रालयमा बुझाएर कार्यक्रममा सहभागी हुने जानकारी गराएका थिए। उनले सामाजिक सञ्जालमा लेखेका थिए, ‘नमस्ते! नेपालका लागि चीनको २३औँ असाधारण तथा पूर्णाधिकार प्राप्त राजदूत नियुक्त हुनु मेरा लागि ठूलो सम्मान हो। नेपाली जनताबाट पाएको न्यानो स्वागतले म गहिरो रूपमा प्रभावित भएको छु। नेपालको सुन्दरता र जीवन्तता अविस्मरणीय छ।’

उनले नेपाल-चीन रणनीतिक साझेदारी अझ बलियो बनाउने, व्यावहारिक सहयोग विस्तार गर्ने तथा साझा भविष्यको समुदाय निर्माणमा योगदान गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका थिए। आफ्नो सक्रियता सञ्जालमा देखाइसकेका राजदूत चाङले मंगलबार उद्घाटन समारोहमा देखिएका हुन्।

‘हिमालका हिउँचुलीहरू रंगीन प्रकाशले उज्यालो हुँदा, उत्सवका लालटिनहरूले शुभाशिष बोकेर आउँछन्,’ राजदूत चाङले  भने, ‘यस्ता सांस्कृतिक उत्सवहरूले दुई देशका जनताबीचको समझदारी, आत्मीयता र सांस्कृतिक आदानप्रदान अझ गहिरो बनाउने विश्वास छ।’

नेपाल र चीन दुवै प्राचीन सभ्यता भएका मुलुक भएकाले जनस्तरको मित्रता सदीयौँदेखि कायम रहेको र त्यसलाई थप सुदृढ बनाउन सांस्कृतिक सम्पर्क अत्यन्त महत्त्वपूर्ण हुने उनको भनाइ थियो।

महोत्सव चिनियाँ दूतावास र ललितपुर महानगरको संयुक्त आयोजना तथा नेपाल ओभरसिज चिनियाँ संघ र नेपालस्थित चाइना कल्चरल सेन्टरको सह-आयोजनामा भइरहेको छ। उद्घाटन समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हा प्रमुख अतिथि तथा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन विशेष अतिथिका रूपमा सहभागी भएका थिए।

‘Snow-Capped Peaks Aglow with Hues, Festive Lanterns Bring Auspicious Blessings’ अर्थात् ‘रंगीन ज्योतिमा नुहाएका हिमशिखर, लालटिन उत्सवले बोकेका मंगलमय शुभकामना’ भन्ने मूल नारासहित आयोजना गरिएको महोत्सवले लुनार नयाँ वर्षको उल्लाससँगै नेपाल-चीन सांस्कृतिक सम्बन्धको गहिराइ उजागर गर्ने लक्ष्य राखेको आयोजकहरूले जनाएका छन्।

कार्यक्रमस्थल पाटन संग्रहालय परिसर रंगीन चिनियाँ लालटिन, परम्परागत सजावट र प्रकाश कलाले सुसज्जित बनेको छ। चीनकै कुनै पुरानो सहरमा प्रवेश गरेको झल्को दिने गरी सजाइएको छ।

उद्घाटन कार्यक्रममा नेपाल र चीनका कलाकारहरूले परम्परागत संगीत, नृत्य तथा सांस्कृतिक प्रस्तुति दिएका थिए। जुन प्रस्तुतिले  दुवै मुलुकको समृद्ध सांस्कृतिक धरोहरलाई जीवन्त रूपमा झल्काएकाे थियो। प्रदर्शनीमा चिनियाँ नयाँ वर्षसँग सम्बन्धित विविध प्रकारका परम्परागत लालटिन कला, सजावट र प्रतीकहरू राखिएका छन्, जसले खुसी, आशा, समृद्धि र उज्यालोको सन्देश बोकेका छन्।

लालटिन प्रदर्शनी फागुन ७ (फेब्रुअरी १८) देखि फागुन २० (मार्च ३)  सम्म सर्वसाधारणका लागि निःशुल्क खुला रहनेछ। ऐतिहासिक क्षेत्रमा आयोजना गरिएको  महोत्सवले सांस्कृतिक पर्यटन प्रवर्द्धन, जनस्तरको सम्पर्क विस्तार तथा नेपाल-चीन मित्रताको उज्यालो सन्देश विश्वसामु प्रवाहित गर्ने अपेक्षा गरिएको छ।

महोत्सवमा राजदूत चाङले नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई चिनियाँ नयाँ वर्षको हार्दिक शुभकामना व्यक्त गर्दै नयाँ वर्षले नेपाल र चीन दुवै देशमा शान्ति, समृद्धि र सौभाग्य ल्याओस् भन्ने कामना  गरेका थिए।

प्रकाशित: ६ फागुन २०८२ १४:२८ | Wednesday, February 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast