काठमाडौँ- चालु आर्थिक वर्षको पहिलो छ महिनामा मोटर सवारी खरिदका लागि बैंक तथा वित्तीय संस्थाहरूले प्रवाह गर्ने हायर पर्चेज कर्जा ७.१ प्रतिशतले बढेको छ।
यस अवधिमा समग्र कर्जा विस्तार भने ३.६ प्रतिशतमा सीमित रहेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरूको कुल बक्यौता हायर पर्चेज कर्जा पुस मसान्तसम्म एक खर्ब ३७ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ। साउनको सुरुमा यस्तो कर्जा एक खर्ब २८ अर्ब ७० करोड रुपैयाँ थियो।
छ महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाहरूले नौ अर्ब ११ करोड रुपैयाँ बराबरको हायर पर्चेज कर्जा प्रवाह गरेका छन्। यसमध्ये ६ अर्ब ७९ करोड रुपैयाँ बस र ट्रकजस्ता व्यावसायिक सवारी खरिदमा प्रयोग भएको छ भने दुई अर्ब ३२ करोड रुपैयाँ निजी सवारीसाधन खरिदमा खर्च भएको छ।
२० वाणिज्य बैंकहरूले मात्रै कुल एक खर्ब २२ अर्ब ७० करोड रुपैयाँ बराबरको हायर पर्चेज कर्जा प्रवाह गरेका छन्। हायर पर्चेज कर्जाको भुक्तानी अवधि अधिकतम सात वर्षसम्मको हुन्छ।
केन्द्रीय बैंकका अनुसार ग्लोबल आइएमई बैंकले सबैभन्दा धेरै हायर पर्चेज कर्जा प्रवाह गरेको छ। यस बैंकले १५ अर्ब ७२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। त्यसपछि नबिल बैंक (१२ अर्ब ४२ करोड), एभरेस्ट बैंक (११ अर्ब ७५ करोड), राष्ट्रिय वाणिज्य बैंक (१० अर्ब ८४ करोड), हिमालयन बैंक (७ अर्ब ७ करोड) र एनएमबी बैंक (६ अर्ब ७३ करोड) रहेका छन्।
सबैभन्दा कम हायर पर्चेज कर्जा प्रवाह स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालको रहेको छ, जसको परिमाण एक अर्ब १८ करोड रुपैयाँ छ।




