काठमाडौँ- यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा क्षेत्र नम्बर ५ का उम्मेदवार बालेन्द्र शाह (बालेन) लाई चुनावी प्रचारका क्रममा एक शिक्षकले शिक्षासम्बन्धी भिजनबारे प्रश्न गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता शाहसँग अन्तरक्रियाका क्रममा ती शिक्षकले विगतका सरकारप्रति असन्तुष्टि व्यक्त गरे।
उनले भने,‘म एक शिक्षक हुँ। शिक्षा सुधारका निम्ति नेपाल शिक्षक महासंघबाट पटकपटक आन्दोलन गर्यौं। पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा गर्यौं, शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा गर्यौं, केपी शर्मा ओली प्रधानमन्त्री हुँदा पनि गर्यौं। सत्ताबाहिर हुँदा उनीहरू असल शिक्षा र शिक्षकका माग पूरा गर्ने बाचा गर्छन् तर सत्तामा पुगेपछि शिक्षा र शिक्षकका कुरा सुन्दैनन्। हामीलाई पटकपटक ढाँटेका छन्।’
ती शिक्षकले बालेनलाई पुनः सोधे,‘शिक्षाको विकासका निम्ति यहाँको स्पष्ट भिजन के छ?’
काठमाडौँ महानगरपालिकामा शिक्षकका मागहरू पहिल्यै सम्बोधन भएकाले शिक्षक आन्दोलनका क्रममा महानगरका शिक्षकहरू कमै सहभागी हुने गरेका बालेनले सुनाए।
काठमाडौँ महानगरको मेयर पदबाट राजीनामा दिएर चुनावमा होमिएका शाहले काठमाडौँमा शिक्षामा गरेको सुधारलाई उदाहरणीय मानिन्छ।




