काठमाडौँ– बंगलादेशको नवनियुक्त प्रधानमन्त्री तारिक रहमानको शपथग्रहण समारोहमा भारतको प्रतिनिधित्व लोकसभा अध्यक्ष ओम बिरला र विदेश सचिव विक्रम मिस्रीले गर्ने भएका छन्।
भारतको विदेश मन्त्रालय र बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) को सञ्चार शाखाले यसको पुष्टि गरेको हो।
भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘लोकसभाका अध्यक्ष ओम बिरलाले सन् २०२६ फेब्रुअरी १७ मा ढाकामा बंगलादेश नेसनलिस्ट पार्टीका अध्यक्ष तारिक रहमानको नेतृत्वमा नवनिर्वाचित बंगलादेश सरकारको नेतृत्वको शपथ ग्रहण समारोहमा भारत सरकारको प्रतिनिधित्व गर्नुहुनेछ।’
शपथग्रहण समारोहमा लोकसभा अध्यक्षको सहभागिताले दुवै देशका जनताबीचको स्थायी मित्रतालाई प्रतिनिधित्व गर्ने भारतीय विदेश मन्त्रालयले जनाएको छ।
‘यस महत्त्वपूर्ण कार्यक्रममा लोकसभा सभामुखको सहभागिताले भारत र बंगलादेशका जनताबीचको गहिरो र स्थायी मित्रतालाई रेखाङ्कित गर्दछ। यो हाम्रा दुई देशहरूलाई बाँध्ने लोकतान्त्रिक मूल्यहरूप्रति भारतको अटुट प्रतिबद्धताको पुनः पुष्टि पनि हो,’ विज्ञप्तिमा भनिएको छ,‘साझा इतिहास, संस्कृति र आपसी सम्मान भएको छिमेकीको रूपमा, तारिक रहमानको नेतृत्वमा बंगलादेशको निर्वाचित सरकारलाई भारतले स्वागत गर्दछ, जसको दृष्टि र मूल्यहरूलाई बंगलादेशका जनताले भारी जनादेश दिएका छन्।’
प्रधानमन्त्री नरेन्द्र मोदीले बीएनपीका अध्यक्ष तारिक रहमानलाई यसअघि नै फोन गरेर बधाई दिएका छन्।
बंगलादेशको तेह्रौँ संसदीय निर्वाचनमा बीएनपीले भारी बहुमतका साथ सरकार बनाउन गइरहेको छ र पार्टी अध्यक्ष तारिक रहमान देशको नयाँ प्रधानमन्त्री बनेका छन्।
बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसले नयाँ मन्त्रिपरिषद्को सपथग्रहण समारोहमा सहभागी हुन १३ देशका सरकार प्रमुखलाई निमन्त्रणा गरेका छन्।
अहिलेसम्म चीन, साउदी अरब, भारत, पाकिस्तान, टर्की, संयुक्त अरब इमिरेट्स, कतार, मलेसिया, ब्रुनाई, श्रीलंका, नेपाल, माल्दिभ्स, भुटानलाई निमन्त्रणा गरिएको सरकारी स्रोतहरूले बताएका छन्।




