नेपालसम्बन्धी भाइरल भिडियोका कारण भारतमा इन्फ्लुएन्सर शर्माविरुद्ध राजद्रोहको मुद्दा

हिमाल प्रेस ४ फागुन २०८२ १४:०० | Monday, February 16, 2026
4
SHARES
नेपालसम्बन्धी भाइरल भिडियोका कारण भारतमा इन्फ्लुएन्सर शर्माविरुद्ध राजद्रोहको मुद्दा नेपालमा गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा सुरक्षामा खटिएका प्रहरी। फाइल तस्बिर

काठमाडौँ- भारतको उत्तर प्रदेशमा नेपालसम्बन्धी भाइरल भिडियोका कारण इन्फ्लुएन्सर अर्पित शर्माविरुद्ध राजद्रोहसम्बन्धी मुद्दा दर्ता गरिएको छ। प्रहरीले उक्त भिडियो उत्तेजक रहेको र भारतको सार्वभौमिकता तथा अखण्डतामा असर पार्न सक्ने भन्दै कानुनी कारबाही अघि बढाएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

बुलन्दसहर प्रहरीले शर्माविरुद्ध भारतीय न्याय संहिता (बीएनएस) का विभिन्न धाराअन्तर्गत मुद्दा दर्ता गरेको हो।

शर्माले नेपालको जेनजी विरोध प्रदर्शनको पृष्ठभूमिमा भारतमा हिंसा भड्काउने उद्देश्यले उक्त भिडियो बनाएको आरोप लगाइएको छ। साथै भारतको अखण्डतालाई कमजोर बनाउन डिजिटल मिडियाको दुरुपयोग गरेको आरोप पनि छ।

यो घटनापछि पछिल्ला तीन दिनदेखि शर्मा अनलाइन ट्रोलिङ र ज्यान मार्ने धम्कीको सामना गरिरहेका छन्। इङ्ग्ल्यान्डमा चार्टर्ड एकाउन्टेन्टका रूपमा कार्यरत शर्माले भारतीय सञ्चारमाध्यम द वायरलाई आफ्नो कार्यस्थलको विवरण अनलाइनमा सार्वजनिक गरिएको बताएका छन्। साथै आफ्ना भनाइ गलत सन्दर्भमा प्रस्तुत गरिँदा परिवारका सदस्यहरूमाथि ज्यान मार्ने तथा बलात्कारसम्मका धम्की आइरहेको उनले बताएका छन्।

भिडियोमा के थियो?

नेपालमा जेनजी विरोध प्रदर्शन सुरु भएको एक दिनपछि सार्वजनिक गरिएको एक रिलमा शर्माले नेपाली युवाको प्रशंसा गर्दै भ्रष्टाचार र घृणात्मक अभिव्यक्तिजस्ता विषयमा विरोध नगरेको भन्दै भारतीय युवामाथि प्रश्न उठाएका थिए।

यस सन्दर्भमा शर्माले भने, ‘मैले भिडियो बनाउँदा विरोध प्रदर्शन शान्तिपूर्ण थियो र मैले कुनै पनि बेला मानिसहरूलाई उक्साएको थिइनँ।’

शर्माले भारतीय जनता पार्टी (भाजपा) र राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) विरोधी विचारका कारण आफूमाथि मुद्दा लगाइएको आरोप लगाए। उनले भने, ‘मेरा विचारका कारण मेरो बुबालाई पनि तानिएको छ। सत्य के हो भने मैले आमआदमी पार्टी सत्तामा हुँदा आलोचना गरेको थिएँ।’

शर्माले सामाजिक सञ्जालमा आफ्नो भिडियोको बचाउ गर्दै लेखेका छन्, ‘म महात्मा गान्धी र जवाहरलाल नेहरूका मूल्यमा विश्वास गर्छु। म यस देशको शान्तिप्रिय नागरिक हुँ र कुनै पनि हिंसाको समर्थन गर्दिनँ।’

यसैगरी उनले कुनै गल्ती नगरेको स्पष्ट पारेका छन्। उनले थपे, ‘गान्धीको मूल्य, भगत सिंहको साहस र भीमराव रामजी अम्बेडकरको संविधानिक दृष्टिकोणसँगै म शान्ति, सत्य र एकताका लागि उभिएको छु।’

प्रकाशित: ४ फागुन २०८२ १४:०० | Monday, February 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast