नागढुंगा-मलेखु सडक खण्डमा ११ किमी कालोपत्र

हिमाल प्रेस ४ फागुन २०८२ ८:०२ | Monday, February 16, 2026
4
SHARES
नागढुंगा-मलेखु सडक खण्डमा ११ किमी कालोपत्र

चितवन- पृथ्वी राजमार्गअन्तर्गतको नागढुंगा-मलेखु सडक खण्ड विस्तार तथा स्तरोन्नति गर्ने कार्यले तीव्रता पाएको छ। हालसम्म यस खण्डको ११ किलोमिटर सडक कालोपत्र गर्ने काम सकिएको छ। गत वर्ष आठ किलोमिटर कालोपत्र गरिएकोमा यस वर्ष थप तीन किलोमिटर सम्पन्न भएको हो।

अहिले कुरिनटार, फिस्लिङ, चरौदी र विशालटारका केही क्षेत्रमा कालोपत्र भइसकेको छ भने धादिङको बाँदरे क्षेत्रमा काम धमाधम भइरहेको छ। नागढुंगा-मुग्लिन सडक आयोजना/पश्चिम खण्डका इन्जिनियर विजय दरैका अनुसार हालसम्म आयोजनाको भौतिक प्रगति ४० प्रतिशत पुगेको छ।

विसं २०७९ पुस १५ गते तीन वर्षभित्र सक्ने गरी ठेक्का लागे पनि तोकिएको समयमा काम नसकिएपछि ६ महिना म्याद थप गरिएको छ। अहिले झन्डै दुई सय कामदार, कर्मचारी र प्राविधिकहरू कालोपत्रको काममा खटिएका छन्।

फिस्लिङ र जवाङ खोला क्षेत्रमा कालोपत्रका लागि बेस र सबबेस राख्ने काम अन्तिम चरणमा पुगेको छ। निर्माण कार्य तीव्र पारिए पनि सामग्रीको अभावले चुनौती थपेको छ।

धादिङ र इच्छाकामनाका विभिन्न क्षेत्रबाट निर्माण सामग्री ल्याइएको भए पनि लामो समयका लागि अभाव हुन सक्ने देखिएको छ। सामग्री पर्याप्त भएमा काम नरोकिने निर्माण पक्षको दाबी छ। यस खण्डमा रहेका ६ वटा पुलमध्ये हुग्दी र चरौदी पुलको फाउन्डेसनपछिको काम भइरहेको छ भने कृष्णभिरमा पहिरो रोकथामको कार्य पनि जारी छ।

झन्डै ३९ किलोमिटर लामो यो सडक खण्ड विश्व बैंकको सहयोगमा विस्तार गर्न लागिएको हो। यस अन्तर्गत मलेखु, बेनीघाट र मुग्लिन क्षेत्रमा २।२ किलोमिटर सडक ६ लेनको हुनेछ भने ७।२ किलोमिटर सडक ४ लेनको बन्नेछ।

उकालो–ओरालो पर्ने ठाउँमा ३ लेनको ‘क्लाइम्बिङ’ मार्ग बनाइने र बाँकी सडक दुई लेनकै रहने आयोजनाले जनाएको छ। शर्मा–जेडआइसिजीले ४ अर्ब ८० करोड ५९ लाख रुपैयाँमा यसको ठेक्का लिएको हो।

प्रकाशित: ४ फागुन २०८२ ८:०२ | Monday, February 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast