पोखरा- पोखरा रंगशालामा जारी २५ औं आहा रारा पोखरा गोल्डकप प्रतियोगिता अबदेखि रातिमा सञ्चालन नहुने भएको छ।
आयोजक सहारा क्लब पोखराले प्रतियोगिताको रजत संस्करण विशेष बनाउन फ्लडलाइट सुविधासहित दिन ढलेपछि खेलाएको थियो। तर उद्घाटनकै दिन लाइट प्रोटेस्टका कारण मैदानमा बल नै नदेखिएको गुनासो दर्शक तथा स्वयं रेफ्रीले गरेका थिए।
तत्पश्चात् दोस्रो र तेस्रो दिनका खेल दिउँसो ४ बजे नै सुरुवात गरिएको थियो। तर चौथो दिनका खेल फेरि समय घटाएर विगत वर्षमा झैं दिउँसो ३ बजेदेखि नै सुरुवात गरिने आयोजकले प्रेस विज्ञप्तिमार्फत जनाएको छ।
क्लब महासचिव गंगाराम पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘फ्लडलाइटमा सञ्चालन गर्ने अथक प्रयास गर्दा पनि खेल सञ्चालनका लागि आवश्यक पर्याप्त लाइट पुर्याउन नसकेका कारण सन्ध्याकालीन समयमा खेल सञ्चालन गर्न असमर्थ भएको हुँदा सम्पूर्ण खेलप्रेमीमा क्षमायाचना गर्दै फागुन १ देखि हुने खेलहरू दिउँसो ३ बजेबाट सञ्चालन हुने जानकारी गराउँदछौं।’
नेपालको पूर्वी भेगमा अभ्यासमा हुँदै आएको फ्लडलाइट २० लाख खर्चेर पोखरा ल्याएको भए पनि रातिमा फुटबल हेर्ने सपना यसपालि तुहिएको छ।
आज शुक्रबार चौथो प्रिक्वाटरफाइनलअन्तर्गत फ्रेन्डस् क्लब र प्लानिङ ब्वाइज युनाइेटबीच प्रतिस्पर्धा हुनेछ। यसअघि उद्घाटन खेल जित्दै आयोजक सहारा क्लबसहित जावलाखेल युथ क्लब र मनाङ मर्स्याङ्दी क्लब प्रतियोगिताको क्वाटरफाइनल प्रवेश गरिसकेका छन्।
१२ टिमले भाग लिएको प्रतियोगितामा शनिबारदेखि क्वाटरफाइनलमा खेल सञ्चालन हुनेछन्। फाइनल ९ फागुनमा हुनेछ।




