नामिबियालाई भारतले ९३ रनले हरायो, कुन खेलाडीको कस्तो प्रदर्शन?

हिमाल प्रेस १ फागुन २०८२ ६:२२ | Friday, February 13, 2026
4
SHARES
नामिबियालाई भारतले ९३ रनले हरायो, कुन खेलाडीको कस्तो प्रदर्शन?

नयाँ दिल्ली- भारतले नामिबियालाई ९३ रनले पराजित गर्दै टी-२० विश्वकपमा आफ्नो दाेस्राे जित दर्ता गरेको छ। यसअघि अमेरिकालाई पराजित गरेको थियो। बिहीबार टोलीले यस फर्म्याटमा ४७औँ पटक २०० भन्दा बढी रन बनाउने कीर्तिमान पनि बनायो। हार्दिक पाण्ड्याले १०९ मिटर लामो छक्का प्रहार गरे।

बिहीबार पहिले ब्याटिङ गर्दै भारतले ९ विकेट गुमाएर २०९ रन बनायो। ईशान किशनले २० बलमै अर्धशतक पूरा गरे। २१० रनको लक्ष्य पछ्याएको नामिबिया १८.२ ओभरमा ११६ रनमै अलआउट भयो।

भारतले टी-२० विश्वकपमा लगातार १०औँ जित दर्ता गर्दै प्रतियोगिताको इतिहासमा नयाँ कीर्तिमान बनायो। यो जितको सिलसिला २०२४ सिजनदेखि सुरु भएको हो। दोस्रो स्थानमा दक्षिण अफ्रिका र अष्ट्रेलिया छन् जसका नाममा लगातार ८-८ जित छन्।

९३ रनको जितसँगै भारतले टी-२० विश्वकप इतिहासमा आफ्नो सबैभन्दा ठूलो अन्तरको विजय हासिल गर्‍यो। यसअघि २०१२ मा कोलम्बोमा इंग्ल्यान्डविरुद्ध ९० रनको जित सबैभन्दा ठूलो थियो।

भारतले टी-२० विश्वकप इतिहासको तेस्रो सबैभन्दा ठूलो स्कोर पनि बनायो। टोलीले २० ओभरमा २०९/९ रन बनायो। यस सूचीमा २००७ मा इंग्ल्यान्डविरुद्ध बनाएको २१८/४ रन भारतकै शीर्ष स्थानमा छ।

भारतले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ४७औँ पटक २०० भन्दा बढी रन बनाएको छ। दक्षिण अफ्रिका (२९) र न्यूजिल्यान्ड (२८) पछि छन्। अष्ट्रेलिया र वेस्टइन्डिजले २५-२५ पटक यो उपलब्धि हासिल गरेका छन्।

विशेष कुरा के छ भने टी-२० विश्वकप २०२४ पछि भारतले १४ पटक २०० बढी स्कोर बनाइसकेको छ। यस अवधिमा अन्य कुनै पनि टोलीले सात पटकभन्दा बढी यस्तो उपलब्धि हासिल गर्न सकेको छैन।

ईशान किशनले २० बलमा अर्धशतक प्रहार गरे। टी-२० विश्वकपमा भारतका लागि संयुक्त रूपमा पाँचौँ सबैभन्दा छिटो अर्धशतक हो। यस सूचीमा शीर्ष स्थानमा युवराज सिंहको १२ बलको ऐतिहासिक पारी छ।

ईशानले पावरप्लेभित्रै अर्धशतक पूरा गर्दै टी-२० विश्वकपमा यस्तो गर्ने भारतीय खेलाडीहरूको सूचीमा स्थान बनाए। यसअघि रोहित शर्मा र केएल राहुलले यो उपलब्धि हासिल गरेका थिए।

सञ्जु स्यामसन टी-२० विश्वकपमा डेब्यू गर्ने भारतका दोस्रो सबैभन्दा बढी उमेरका खेलाडी बने। डेब्यू गर्दा उनको उमेर ३१ वर्ष ९३ दिन थियो। यसभन्दा अघि अमित मिश्रा छन् जसले २०१४ मा ३१ वर्ष ११७ दिनको उमेरमा डेब्यू गरेका थिए।

नामिबियाका कप्तान गेरहार्ड इरास्मसले दिल्लीमा भारतविरुद्ध ४ विकेट लिए। यससँगै उनी टी-२० विश्वकपमा कप्तानको रूपमा चार विकेट लिने बलरहरूको सूचीमा समावेश भएका छन्।

उनअघि राशिद खान, ड्यानियल भिटोरी र जीशान मकसूदले यस्तो उपलब्धि हासिल गरेका थिए। साथै, इरास्मस भारतविरुद्ध टी-२० विश्वकपमा चार विकेट लिने चौथो बलर पनि बने। यसअघि मिचेल स्यान्टनर (४/११) ले यस्तो प्रदर्शन गरेका थिए।

प्रकाशित: १ फागुन २०८२ ६:२२ | Friday, February 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast