पशुपति क्षेत्रमा कसरी गरिँदैछ महाशिवरात्रि पर्वको तयारी?

हिमाल प्रेस १ फागुन २०८२ ५:५२ | Friday, February 13, 2026
8
SHARES
पशुपति क्षेत्रमा कसरी गरिँदैछ महाशिवरात्रि पर्वको तयारी? फाइल तस्बिर।

काठमाडौँ- महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

महाशिवरात्रि पर्व मनाउनका लागि आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिरमा श्रद्धालु भक्तजन, साधुसन्त र दर्शनार्थीको उपस्थिति बढ्न थालेको छ।

महाशिवरात्रिका लागि कोषले सम्पूर्ण व्यवस्थापन कार्य पनि उच्च प्राथमिकताका साथ गरेको बिहीबार कोषले आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराइएको हो।

महाशिवरात्रि पर्व सम्पन्न गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं कोष सञ्चालक परिषद्का अध्यक्ष अनिलकुमार सिन्हाको अध्यक्षतामा महाशिवरात्रि पर्व व्यवस्था मूल समारोह समिति गठन गरिएको छ। मन्त्रीको अध्यक्षतामा गठन गरिएको १७१ सदस्यीय मूल समारोह समितिले पनि सक्रियरुपमा काम गरिरहेको छ।

मन्त्री सिन्हाको निर्देशन र प्रत्यक्ष उपस्थितिमा कोषले तयारीका काम गरिरहेको छ। पर्व सम्पन्न गर्न नौ वटा विषयगत उप–समिति गठन गरिएको छ। पशुपतिनाथ आउने दर्शनार्थीलाई सहज सेवा दिन सम्पूर्ण ध्यान केन्द्रित गरेको कोषका कार्यकारी निर्देशक सुभाषचन्द्र जोशीले सुनाए। यसपटक महाशिवरात्रि पर्व उल्लासमय वातावरणमा मनाइँदैछ। पशुपति क्षेत्र फूल र बत्तीले आकर्षक रुपमा सिँगार्न थालिएको छ।

नेपाल, भारत, भुटान, बंगलादेश, म्यान्मारसहित विश्वका धेरै देशबाट भक्तजनको उपस्थिति भइरहेको छ। व्यवस्थित रुपमा पूजाआजा र दर्शनको व्यवस्था गर्नका लागि आइतबार बिहान २ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोल्ने निर्णय भएको उनले बताए।

कोषको प्राथमिकता भक्तजनको सुविधा र सहजता भएकाले त्यसै अनुरुप काम गरिएको छ। दर्शनार्थी, साधुसन्त एवं भक्तजनको सङ्ख्या वृद्धि भएकाले सुरक्षा तथा स्वास्थ्यका मापदण्ड पालना गर्न कोषले आह्वान गरेको छ। भगवान्को दर्शन गर्न लामो समय प्रतीक्षा गर्न नपर्ने गरी व्यवस्थापन गरिएको छ।

पशुपति क्षेत्रमा सुरक्षा व्यवस्था पनि महाशिवरात्रिकै लागि प्रभावकारी बनाइएको छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागको टोली परिचालन गरिएको छ। सुरक्षा निकायसँगै कोषको आफ्नो सुरक्षा टोली पनि पशुपति क्षेत्रमा खटाइएको छ। दर्शनार्थीको सुरक्षामा विशेष ध्यान दिइएको छ। साधुसन्त, महन्थ र भक्तजनको सुरक्षा गर्दै अनुगमन गर्ने प्रबन्ध गरिएको छ।

सामाजिक एवं धार्मिक संघसंस्था परिचालन गरी महाशिवरात्रि पर्वलाई सहज रुपमा व्यवस्थापन गर्न लागिएको छ। कालिका साधना संघ, नेपाल रेडक्रस, स्काउट, लायन्स क्लब र धार्मिक संघ संगठनका तर्फबाट स्वयंसेवक खटाइएको कोषले जनाएको छ।

प्रकाशित: १ फागुन २०८२ ५:५२ | Friday, February 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast