वितृष्णालाई आशामा बदल्न राजनीतिक दलमा आत्मसुधार आवश्यक : उपसभापति शर्मा

हिमाल प्रेस २९ माघ २०८२ २०:४२ | Thursday, February 12, 2026
6
SHARES
वितृष्णालाई आशामा बदल्न राजनीतिक दलमा आत्मसुधार आवश्यक : उपसभापति शर्मा नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा

काठमाडौँ– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुकको राजनीतिक अवस्थालाई सुधार गर्दै लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरणका लागि कांग्रेसले नेतृत्वदायी भूमिका खेल्ने बताएका छन्।

बिहीबार भैरहवामा आयोजित पार्टी सदस्य भेटघाट कार्यक्रममा उनले राजनीतिप्रतिको बढ्दो वितृष्णालाई आशामा बदल्न राजनीतिक दलहरू आत्मसुधारमा लाग्नुपर्ने र त्यसको सुरुआत कांग्रेसले गरिसकेको बताए।

उपसभापति शर्माले विगतका राजनीतिक परिवर्तनमा कांग्रेसको भूमिका स्मरण गर्दै अब सुशासन र विकासको नेतृत्व गर्ने जिम्मेवारी पनि कांग्रेसकै काँधमा रहेको बताए।

‘तरल राजनीतिक परिस्थितिमा संयमित भएर जनताका मुद्दालाई प्राथमिकतामा राख्नुपर्छ। सत्ता केन्द्रित सोचभन्दा माथि उठेर नागरिकको जीवनस्तर सुधारतर्फ ध्यान दिन जरुरी छ। यसका लागि कांग्रेसले संकल्प गरिसकेको छ,’ उनले भने।

पार्टीभित्रको एकता र संगठन सुदृढीकरणमा जोड दिँदै उपसभापति शर्माले गुटबन्दी त्यागेर टोलस्तरसम्म पुगेर जनताको गुनासा सुन्न र समाधानको प्रतिज्ञा गर्न आग्रह गरे। उनले मुलुकको आर्थिक संकट र युवा पुस्तामा देखिएको नैराश्यताप्रति चिन्ता व्यक्त गर्दै नीतिगत सुधारको आवश्यकता औँल्याए।

सत्ता समीकरणका खेलहरूभन्दा माथि उठेर जनताको जीविकोपार्जनमा सुधार ल्याउने गरी सरकारले काम गर्नुपर्ने र त्यसमा कांग्रेसले स्पष्ट दृष्टिकोण अगाडि सारेर काम गर्ने प्रतिबद्धता जनाए।

नेता बालकृष्ण खाणले संविधान र लोकतान्त्रिक मूल्य–मान्यतामाथि चुनौती देखिएको उल्लेख गर्दै यसको रक्षाका लागि कांग्रेस बलियो हुनुपर्ने बताए। ‘संविधान र प्रजातन्त्रको रक्षा गर्ने ऐतिहासिक जिम्मेवारी कांग्रेसको हो। विगतमा देशको हितमा गरेका कामको निरन्तरता र नयाँ सुधारका काम अगाडि सार्दै पार्टीले देशको नेतृत्व गर्नेछ,’ उनले भने।

कार्यक्रममा रुपन्देही क्षेत्र नं १ का प्रतिनिभिसभा सदस्य उम्मेदवार हीराबहादुर खत्री, क्षेत्र नं २ का चुन्नप्रसाद पाण्डे, क्षेत्र नं ३ का सुशील गुरुङ, क्षेत्र नं ४ का आशुतोष मिश्र, क्षेत्र नं ५ का भरतकुमार शाहलगायत वक्ताहरूले संगठन सुदृढीकरण, सुशासन र लोकतान्त्रिक मूल्यको संरक्षणलाई प्राथमिकतामा राख्दै अघि बढ्नुपर्नेमा जोड दिएका थिए।

प्रकाशित: २९ माघ २०८२ २०:४२ | Thursday, February 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast