कैलाली- टीकापुर नगरपालिका-८ का धनसिंह साउद कृषि क्षेत्रमा सम्भावना देखेका किसान हुन्। राजनीतिसँगै कृषिबाट आत्मनिर्भर बन्न सकिन्छ भन्ने उदाहरण बनेका उनी बर्सेनि ६५ बिघाभन्दा बढी क्षेत्रफलमा खेती गर्छन्।
साउदले धानखेतीमात्र ३० देखि ३५ बिघामा गर्दै आएका छन्। याम अनुसारको उत्पादनका साथै उन्नत बीउ उत्पादनलाई जोड दिँदै आएका उनले पछिल्लो समयमा उखुखेतीलाई प्राथमिकता दिन थालेका छन्।
गत वर्ष उनले झन्डै ४५ बिघा उखुखेती गरेको जानकारी दिए। यस वर्ष थप आठ बिघा उखुखेती विस्तार गर्ने तयारी उनले गरेका छन्।
बर्दियाको राजापुर नगरपालिकामा स्थापना भएको राजापुर सुगर एन्ड केमिकल्स इन्डस्ट्रिजले किसानले उत्पादन गरेको उखु सहजै खरिद गर्न थालेपछि अन्य खेतीभन्दा उखुलाई प्राथमिकता दिएको साउद बताउँछन्।
‘एकपटकको लागानीले पछिसम्म फाइदा लिन सकिन्छ भने बजार खोज्नुपर्ने स्थिति छैन’, उनले भने, ‘मूल्य पनि राम्रो पाइने भएपछि अन्य बालीभन्दा उखुलाई बढी प्राथमिकता दिइएको छ।’
चिनी उद्योगले किसानको उखु प्रतिक्विन्टल रु ६९० मा खरिद गर्दै आएको छ। रु ६२० किसानले उद्योगबाट पाउँछन् भने प्रतिक्विन्टल ७० रुपैयाँ सरकारले उखु किसानलाई अनुदान दिँदै आएको छ।
वडा नं ८ कै वडाध्यक्ष दीर्घबहादुर ठकुल्ला उखुखेतीमा लामो समयदेखि लागेका छन्। दुई कार्यकाल वडाध्यक्षको जिम्मेवारीमा रहेका उनी निर्वाचित पूर्व कृषि क्षेत्रमै आबद्ध थिए।
कृषिसँगै राजनीति गर्दै आएका वडाध्यक्ष ठकुल्ला केही वर्ष पहिले गाउँमा गुदमिल सञ्चालन गरेका थिए।
अहिले गुदमिल भने छैन। गत वर्षबाट उनले पनि पुनः उखुखेती विस्तार गरेका छन्। सात बिघामा विस्तार गरिएको उखुखेती यस वर्ष थप विस्तार गर्ने योजनामा वडाध्यक्ष ठकुल्ला छन्।
राजनीति गरेर समाजसेवा भनेर मात्रै आर्थिक समृद्धि हासिल गर्न नसकिने भन्दै वडाध्यक्ष ठकुल्लाले उत्पादनलाई प्राथमिकतामा राखेर समृद्धिको लक्ष्य हासिल गर्न सकिने बताए।
‘मैले समयको व्यवस्थापन गर्दै कृषिलाई पहिलो प्राथमिकता दिएर काम गरिरहेको छु,’ उनले भने।
टीकापुर नगरपालिका वडा नं ७ का वडाध्यक्ष यज्ञप्रसाद न्यौपाने पनि लामो समयदेखि कृषि र व्यापारमा आबद्ध छन्। उनी बर्सेनि ९-१० बिघा खेती लगाउँछन् भने २०५३ सालदेखि व्यापार गर्दै आएका छन्।
कृषि, व्यापारसहित राजनीतिमा आबद्ध न्यौपाने पनि राजनीतिले सन्तुष्टिमात्र मिल्ने बताउँछन्। ‘पैसा कमाउनका लागि व्यवसाय गर्नैपर्छ,’ उनी भन्छन्।



