उम्मेदवारका कुरा : गोरखा-२

बाबुराम दाइको सदासयता मप्रति छ : प्रकाशचन्द्र दवाडी [अन्तरवार्ता]

रमेश दवाडी २६ माघ २०८२ १४:५२ | Monday, February 9, 2026
178
SHARES
बाबुराम दाइको सदासयता मप्रति छ : प्रकाशचन्द्र दवाडी [अन्तरवार्ता]

आशन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसबाट गोरखा-२ मा प्रकाशचन्द्र दवाडी चुनावी मैदानमा छन्। गण्डकी प्रदेशसभाका पूर्वसदस्य दवाडीले पहिलोपटक प्रतिनिधिसभा सदस्यको उम्मदेवार बनेका हुन्। प्रदेशसभा सदस्य हुँदा आफ्नो तलबभत्ता समाजसेवा र विकासका काममा खर्चेको बताउने दवाडी बेदाग उम्मेदवार हुन्। २०६४ सालपछि पूर्वमाओवादीले एकल वा कांग्रेससँगै गठबन्धनमा चुनाव जित्दै आए पनि यसपटक भने सबै दल एक्लाएक्लै चुनावी मैदानमा छन्। पूर्वमाओवादी अर्थात् नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को बलियो संगठन, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति देशव्यापी लहरले दवाडीलाई चुनाव जित्न चुनौती छ। दवाडीको चुनावी अभियानका विषयमा रमेश दवाडीले गरेको कुराकानी :

चुनावी अभियान कसरी अगाडि बढेको छ?

मतदाताको घरदैलोमा पुग्ने क्रम जारी छ। निर्वाचन क्षेत्रका आमाबुबा, दाजुभाइ, दिदीबहिनीसँग प्रत्यक्ष भेटघाट गरिरहेको छु। उहाँहरूसँग मैले गर्ने काम के हो? सांसदले क्षेत्रको विकासका  लागि के गर्न सक्छ? कानुन निर्माणमा कसरी प्रस्तुत हुने? बदलिएको राजनीतिक परिस्थितिमा  कसरी अगाडि बढ्दा नागरिकका चाहना सम्बोधन हुन्छ भन्ने विषयमा सुझाव पनि संकलन गरिरहेको छु।

यहाँले भेट्नुभएका मतदाता के भन्छन्?

मतदाताको चाहना परिवर्तन छ। कांग्रेस परिवर्तन भएर अगाडि बढेको छ। अन्य पार्टीहरूको भन्दा कांग्रेसको एजेन्डा फरक छ। कांग्रेसले यस क्षेत्रमा पहिलादेखि नै गरेको योगदानको मूल्यांकन हुन्छ भन्ने विश्वास गरेको छु।

मतदाताकहाँ पुग्दा यहाँले के कस्ता एजेन्डा बताउनु भएको छ?

मेरा एजेन्डामा समाजसेवा सँगसँगै राजनीति हो। राजनीतिबाट देशको नीति परिवर्तन गरेर देश विकास गर्नुपर्छ भन्ने अभियान हो। जनतालाई पर्ने सानातिना दुःखपीडादेखि विकास निर्माणका कुरा मेरो मुख्य प्राथमिकतामा पर्दछन्।

यहाँले कसलाई आफ्नो मुख्य प्रतिस्पर्धी ठान्नुहुन्छ?

म अरूको भन्दिनँ। म निर्वाचित हुन्छु भन्ने विश्वस्त छु। गोरखा-२ का जनताले जिताउनुहुन्छ भन्ने विश्वस्त छु। गोरखा-२ मा जति जनाले उम्मेदवारी दिनुभएको छ, मेरो प्रतिस्पर्धा उहाँहरू सबैसँग हो।

संगठनको हिसाबले नेपाली कम्युनिस्ट पार्टी बलियो छ भनिन्छ। कांग्रेसको संगठन पनि कमजोर छैन। राष्ट्रिय स्वतन्त्र पार्टीको देशभर लहर छ। त्यसैले यहाँलाई चुनौती भएजस्तो लाग्दैन?

चुनौतीका कुरा हुन सक्छन्। म पात्र मात्रै हो। गोरखाली जनताले हार्नुहुन्न भन्ने हो। मेरो प्रतिस्पर्धी को छ, के छ भन्नेतिर म जान्नँ। म आफ्नो काम गर्छु। जनताले त्यसको मूल्यांकन गर्नुहुन्छ।

२०७४ को चुनावमा डा.बाबुराम भट्टराईलाई कांग्रेसले सहयोग गरेको थियो। २०७९ को चुनावमा पनि कांग्रेसले प्रचण्डलाई सघाएको हो। डा.भट्टराई संरक्षक रहेको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) यस क्षेत्रमा प्रत्यक्षतर्फ कुनै उम्मेदवार छैनन्। उहाँहरूबाट सहयोग पाउनेमा कति विश्वस्त हुनुहुन्छ?

यसअघिका चुनावमा उहाँहरूसँग कांग्रेस सहयात्रीका रूपमा हिँड्यो। त्यो सहयात्रीको भावलाई बाबुराम दाइले सायद बुझ्नुभएको होला। उहाँले त्यो भावलाई मेटाउनु हुन्न भन्नेमा विश्वस्त छु।

यहाँले केही दिनअघि डा.बाबुराम भट्टराईलाई यहाँले भेट्नुभएको थियो। सहयोगको संकेत गर्नु भयो या भएन?

दाइले ‘मेरो सदासयता छ, तपाईँहरू लाग्नुस् मैले गर्न पर्ने ठाउँमा म गर्छु’ भन्नुभयो। उहाँले यसो गर्नुभयो भनेर अहिले मैले भन्न मिल्दैन। उहाँ अहिले शोकमा हुनुहुन्छ।

विशेष महाधिवेशनपछि कांग्रेस एकढिक्का छैन भन्ने सन्देश गइरहेको छ। तपाईँको क्षेत्रमा कांग्रेसका कति गुट छन्? सबैले तपाईँलाई भोट हाल्छन्?

त्यस्तो होइन। कांग्रेस एकढिक्का भएर चुनावमा होमिएको छ। प्रतिनिधिसभातर्फ कांग्रेसले रूख चिह्नमा भोट हाल्न नपाएको १२ वर्ष भयो। त्यसै कारणले कांग्रेसका साथीहरू रूख चिह्नमा मतदान गर्न आतुर हुनुहुन्छ। सबै ठाउँमा कांग्रेस बलियो छ। बाहिर जसले हल्ला गरे पनि कहीँकतै अन्तरघात हुँदैन। हामी एक ढिक्का छौँ। गोरखा-२ मा कांग्रेसको कुनै गुट छैन।

गोरखा-२ मा २०५६ यता कांग्रेसले चुनाव जितेको छैन। कहिले माओवादी र कहिले पूर्व माओवादीले जित्दै आएको छ। यसपटक यहाँको उम्मेदवारीलाई चासोपूर्वक हेरिएको छ। के भन्नुहुन्छ?

मप्रति कम्युनिस्ट साथीहरूको पनि माया छ, सदासयता छ। कसको गढभन्दा पनि २०४८ सालदेखि कांग्रेसले नै जितेको क्षेत्र हो। संगठन हाम्रो बलियो छ। अरू पार्टीका साथीहरूले मलाई मत दिनुहुन्छ भन्ने विश्वास छ। ‘प्रकाश दवाडीले भ्रष्टाचार गर्दैन, गर्न दिँदैन भन्ने नारा छ उहाँको’ भन्ने भावलाई बुझेर मत दिनुहुन्छ भन्ने मलाई विश्वास छ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डे गोरखा- २ कै हुनुहुन्छ । उहाँबाट कत्तिको साथ पाउनुभएको छ?

सुरेन्द्र दाइ कुनै पनि हालतमा कांग्रेसले जित्नुपर्छ भनेर लाग्नुभएको छ। तत्कालचाहिँ आचारसंहिताका कारण उहाँ चुनावी अभियानमा हिँड्नुभएको छैन।

बाबुरामले हामीसँग संवाद गरेर उम्मेदवारी फिर्ता लिनुभएको हो : कविन्द्र बुर्लाकोटी [अन्तरवार्ता]

प्रकाशित: २६ माघ २०८२ १४:५२ | Monday, February 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast