काठमाडौँ- नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो पार्टीले राखेको मागअनुसार सिङ्गो मुलुक निर्वाचनमा होमिएको बताएका छन्।
नेकपा काठमाडौँ क्षेत्र नं ५ ले आज यहाँ आयोजना गरेको ‘पार्टी प्रवेश’ कार्यक्रममा उनले जेनजी आन्दोलनको मर्म र भावनाअनुसार नेपाली कम्युनिष्ट पार्टीको निर्माण भएको बताए। ‘नेपालभित्र रहेका सबै कम्युनिष्ट शक्ति अट्न सक्ने गरी नेपाली कम्युनिष्ट पार्टी निर्माण गरेका छौँ, यो पार्टीमा हाल साना र ठूला २६ पार्टी जोडिएका छन् भने हजारौँ कार्यकर्ताहरु जोडिएका छन्’, उनले भने।
पूर्वप्रधानमन्त्री दाहालले नेकपाले सुरुदेखि नै निर्वाचन भनेको र अहिले सिँगो देश निर्वाचनमा होमिएको बताए। नेकपा दिनदिनै बलियो हुँदै गएको उनको भनाइ छ। उनले नेकपा जनताको भरोसाको केन्द्र हुँदै गएको उल्लेख गरे। पूर्वप्रधानमन्त्री दाहालले सामाजिक सञ्जालमा पपुलिज्मको नाममा लोकतन्त्रमाथि प्रहार गर्ने काम हुन लागेको बताए। देशैभर नेकपामा जनलहर छाउँदै गएको उनको भनाइ थियो । नेकपाले अगाडि सारेको नीतिको पक्षमा जनतामा आशा र भरोसा थपिंदै गएको दाहालले बताए।
नेकपा काठमाडौँ क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार कल्पना शर्माले जेनजी आन्दोलनपछि देश फरक दिशामा अगाडि बढेको बताए। उनले जेनजी आन्दोलनलाई संस्थागत रूपमा अगाडि बढाउन नेकपाको जीत आवश्यक रहेको उल्लेख गरे।



