फाइल तस्बिर।
बिर्तामोड- प्रतिनिधिसभाका निवर्तमान सभामुख देवराज घिमिरेले सामाजिक मर्यादा र लोकतान्त्रिक संस्कार जोगाउनु सबैको दायित्व रहेको बताएका छन्। केही दिनअघि अर्जुनधारामा मन्तव्य दिइरहेका बेला पर्खाल बाहिरबाट एक महिला र नवजात शिशुले आफूलाई नियालिरहेको तस्बीर देखेपछि मनमा धेरै कुरा आएको उल्लेख गर्दै घिमिरेले समाजप्रति जिम्मेवारीबोध गर्नुपर्ने बताए।
उनका अनुसार नेपाली समाज दुई देखि चार पुस्तासम्म मिलेर बस्ने परम्परामा आधारित छ, जहाँ ठूलालाई आदर गर्ने र सानालाई माया गर्ने संस्कारले समाजलाई जोडेर राखेको छ। ‘हाम्रो समाज विभिन्न जातजाति, भाषा र संस्कृतिले बनेको छ । यही विविधताभित्र आपसी सम्मान नै हाम्रो पहिचान हो,’ उनले भने ।
एक उम्मेदवार र जनप्रतिनिधिका रूपमा आफ्नो जीवन सबैका लागि खुला किताबजस्तै भएको उल्लेख गर्दै उनले सबै उमेर समूहका नागरिकले आफूलाई नियाल्न सक्ने बताए । ‘महिला र नवजात शिशुले जसरी मलाई हेरिरहेका थिए, त्यसरी नै समाजका सबै वर्गले जनप्रतिनिधिलाई नियालिरहेका हुन्छन्,’ उनले स्पष्ट पारे।
तर पछिल्ला वर्षहरूमा सामाजिक सञ्जाल र सार्वजनिक जीवनमा ज्येष्ठ व्यक्तित्वलाई अपमान गर्ने, घृणात्मक अभिव्यक्ति दिने र होच्याउने प्रवृत्ति बढेकोप्रति उनले चिन्ता व्यक्त गरेका छन्। ‘राजनीतिमा घृणा मिसिएका कठोर शब्द प्रयोग गर्नेहरूलाई समर्थन बढ्दै जानु लोकतन्त्रका लागि राम्रो संकेत होइन,’ उनले भने।
आफ्नो इनबक्समा आएका प्रश्नहरूलाई सकेसम्म जवाफ दिइरहेको तर कतिपय टिप्पणी सभ्य समाजमा बोल्न, सुन्न र लेख्नै नसकिने खालका रहेको उनले बताएका छन्।
‘चुनाव मात्र होइन, हाम्रो व्यवहार, बोली र लेखाइले पनि लोकतन्त्र बलियो वा कमजोर बनाउँछ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।



