पुस्तक चर्चा

मिथकको ऐनामा आधुनिक नेपाली कथा

राजाराम बर्तौला २४ माघ २०८२ १३:२१ | Saturday, February 7, 2026
22
SHARES
मिथकको ऐनामा आधुनिक नेपाली कथा

काठमाडौँ उपत्यका कुनै समय पानीले भरिएको विशाल ताल थियो रे। स्वयम्भू पुराणअनुसार कीर्तिपुर नजिकै रहेको चोभार गल्छीको डाँडोलाई आफ्नो तरबारले काटेर विशाल दह (जहाँ नागहरू बस्थे) को पानी निकास गरी मञ्जुश्रीले बस्ती बसाले। त्यसैगरी गोपाल वंशावलीमा उल्लेख भएअनुसार उपत्यका दहकै रूपमा रहेको समयमा भगवान् श्रीकृष्णको आगमन भयो र उनले सुदर्शन चक्रको सहायताले चोभारको डाँडो काटेर पानी बाहिर पठाई बस्ती बसालेर गोपालवंशीहरूको शासन चलाए।

यी कथा वा किंवदन्ती हामीले काठमाडौँ उपत्यकाका विषयमा सुन्दै र पढ्दै आएका छौँ। यस्ता कथा सुन्दा रमाइलो र चाखलाग्दो लाग्छ। एकपटक सुनिएका वा वाचन गरिएका यस्ता कथा बालमस्तिष्कमा जरो गाडेर बसेका हुन्छन्। कहिलेकाहीँ हामीलाई लाग्छ- यी तिलस्मी कथाहरू साँच्चिकै हुन् र यसका पात्रहरू ऐतिहासिक हुन्। यी पात्रहरूको रोमाञ्चक वृत्तान्त र वीरताका कथाहरू पढ्दा सजीव लाग्छन्।

अर्कोतर्फ, रामायण र महाभारतका कथा त हाम्रो दिनचर्याकै रूपमा घर, विद्यालय, घाँसपात, मेलापात, धार्मिक पर्व र चाडबाड आदिमा प्रसङ्गवश सुन्दै आएका छौँ। देव-दानवको युद्ध, राजा र युवराजहरूको जय-पराजय, द्युत, नीति र कूटनीतिका तिलस्मी कथाहरू हाम्रो जीवनचर्याका अभिन्न पाटो बनेका छन्। लोककथा पढ्दा वा सुन्दा हामीलाई आनन्द लाग्छ। यिनै पौराणिक कथामा आधारित भएर आधुनिक कथाहरू पनि लेखिँदै आएका छन्।

लेखेर कहिल्यै नसकिने, पढेर कहिल्यै नथाकिने र मन-मस्तिष्कलाई सधैँ झङ्कृत गरिरहने हुन्छ- पौराणिक तथा मिथकीय साहित्य। जसरी रामायण पढेर कहिल्यै अघाइँदैन, त्यसैगरी नेपाली साहित्यका स्थापित सर्जकहरू लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, विश्वेश्वरप्रसाद कोइरालालगायत सयौँ साहित्यकारका प्रतिनिधि कथाहरू पढेर पनि थाकिँदैन।

सायद मिथक कालजयी हुन्छ, त्यसैले यी कथा विभिन्न स्वरूपमा युगयुगसम्म जीवित रहन्छन्। मानिसजति कल्पनाशील प्राणी अरू कोही छैन। ऊ आफ्नो कल्पनाले सिर्जना गर्छ। सिर्जनाले प्रभावित पार्छ र दिगदिगन्तसम्म जीवित रहन्छ। जसरी मानिस कल्पनामा बाँच्छ, त्यसैगरी उसको भाषा र साहित्य सिर्जनामा बाँच्छ।

नेपाली समाज आधुनिकतातर्फ उन्मुख भएपछि साहित्य सिर्जनामा पनि आधुनिकताको प्रभाव देखिन्छ। साहित्य समाजको प्रतिबिम्ब हुने भएकाले यसले समयको प्रवाहसहित ऐतिहासिकता पनि बोकेको हुन्छ। नेपालको आधुनिक साहित्यमा पौराणिक कथा, वैदिक परम्परा र सांस्कृतिक धरोहरको प्रभाव कुन मात्रामा परेको छ भन्ने स्पष्ट तथ्याङ्क हामीसँग छैन। अर्थात्, यस विषयमा प्राज्ञिक खोज-अनुसन्धान पर्याप्त भएको देखिँदैन। पौराणिकता, जसलाई हामी ‘मिथक’ भन्छौँ, तिनै वाणीहरूमा हामी रमाएका त छौँ तर त्यसको खोजीनितितर्फ खासै उद्यत् भएका छैनौँ। यसै विषयलाई समेटेर ‘आधुनिक नेपाली कथामा मिथक’ नामक ग्रन्थका साथ पाठकमाझ उपस्थित भएका छन्- समकालीन नेपाली साहित्यका सशक्त हस्ताक्षर दर्शनाचार्य बद्रीप्रसाद ढकाल।

गुरुकुलबाट शिक्षित एवं समाजमा पण्डितका रूपमा सम्मानित पिताका सुपुत्र आधुनिक शिक्षामा दीक्षित भए पनि वैदिक, पौराणिक र सनातनी परम्परा एवं साहित्यसँग परिचित नहुने कुरै भएन। वि.सं. २०३४ मा चन्द्रागिरि–२ काठमाडौँमा जन्मिएका बद्रीप्रसाद ढकाल निकै मिहिनेती र साहित्य-अनुरागी छन्। अहिलेसम्म उनले २५ भन्दा बढी पुस्तक लेखिसकेका छन् भने पाठ्यपुस्तकतर्फ दुई, सम्पादनतर्फ पाँच र सयौँ लेख-रचना प्रकाशित गरिसकेका छन्।

बद्रीप्रसाद ढकाल वर्तमान नेपाली साहित्य फाँटका जाँगरिला र तीक्ष्ण प्रतिभा हुन्। नेपाली साहित्यका विभिन्न विधामा उनको कलम सक्रिय र उत्तिकै प्रभावकारी छ। केही समयअघि मात्र मैले उनको ‘साहित्यमा मृत्यु चिन्तन’ पुस्तक पढेको थिएँ। त्यसपछि तत्कालै ‘नेपाली साहित्यमा संस्कृति’ पनि पढेँ, जुन उत्तिकै जोडदार थियो। यसै वर्ष फेरि ‘आधुनिक नेपाली कथामा मिथक’ आएको छ। उनको लेखकीय प्रवाह हेर्दा कतै थामिने छाँटकाँट देखिँदैन। सम्भवतः द्रुत गति क्षतिको कारण पनि बन्न सक्छ, त्यसैले लेखकको क्षमता, शिल्प र कल्पनाशीलतालाई पुनर्भरण गर्न अलिकति विश्रामको पनि आवश्यकता पर्छ कि जस्तो लाग्छ।

प्रस्तुत पुस्तक साहित्य-अनुरागीका लागि मात्र नभई उच्च अध्ययन गरिरहेका विद्यार्थी, अध्येता र अनुसन्धानकर्ताका लागि समेत उपयोगी देखिन्छ। लेखकले मिथकको परिभाषादेखि यसको व्युत्पत्ति र प्रयोगका सम्बन्धमा विशेष चर्चा गरेका छन्। पूर्वीय साहित्यमा मिथकको प्राचुर्य र यसको रसास्वादनका विषयमा सम्बद्ध कृतिहरूको नामै उल्लेख गरिएको छ। लेखकको मुख्य ध्यान आधुनिक कथामा मिथकको प्रयोगतर्फ मोडिएकाले ‘शारदा’ पत्रिकाको उदयपछि आएका साहित्यकारका कथामा प्रयोगवादिता, यथार्थवादिता र मनोवादिता जस्ता पक्षलाई केलाइएको छ।

साहित्यमा कथा एक प्रिय विधा हो। अनादिकालदेखि यो समाजको आख्यानको बलियो आधार बन्दै आएको छ। अधिकांश अशिक्षित र रूढिवादी समाजमा न्याय, नीति र नैतिकताको पाठ सिकाउन देव-दानवसँग सम्बन्धित कथालाई बिम्ब, प्रतीक र काल्पनिकताको चास्नीमा घोलेर गुरुहरूले सुनाउने गर्दथे। त्यो बेलाको समाजको स्वरूप कस्तो थियो र धरोहरका रूपमा प्राप्त मिथकीय साहित्य आधुनिकतामा कसरी प्रयोग भएका छन् भनेर बुझ्न यो पुस्तक निकै उपयोगी छ।

आधुनिक नेपाली कथाका प्रवर्तक गुरुप्रसाद मैनालीलाई मानिँदै आए पनि मिथक कथाको प्रथम वाहक विश्वेश्वरप्रसाद कोइराला रहेछन् भनेर पढ्न पाउँदा अचम्म लाग्छ। कथा लेखन र यसको अवस्थालाई आधार मानेर चर्चा गरिए पनि मिथकीय धाराको विशद चर्चा कमै पाइन्थ्यो, जसको थालनी बद्रीप्रसाद ढकालले गरेका छन्। यसको श्रेय उनलाई जानुपर्छ।

रामायण र महाभारतका कथाको प्रभाव देखेर मिथकीय प्रयोग पूर्वीय साहित्यमा मात्र छ भन्नु गलत हुन्छ। मिथक त वैश्विक रहेछ। पाश्चात्य साहित्यका धुरन्धर सर्जकहरूका सिर्जनामा पनि मिथकको उत्तिकै प्रभाव छ। होमरको ‘ओडिसी’ र ‘इलियड’, दाँतेको ‘डिभाइन कमेडी’, मिल्टनको ‘प्याराडाइज लस्ट’, सेलीको ‘प्रमिथस’ आदि सबै मिथककै आधारमा लेखिएका हुन्। थप जानकारीका लागि त पुस्तकमै घोत्लिनुपर्छ।

मिथकीय साहित्यबाट तत्कालीन परिवेश, मानव सभ्यता, इतिहास र पूर्वजहरूको जीवनशैली एवं सामाजिक संरचनाका विषयमा ज्ञान प्राप्त गर्न सकिन्छ। यति हुँदाहुँदै पनि मिथक साहित्यभित्र अटाउने एउटा अंश मात्र हो। लेखक भन्छन्, “मिथक नै साहित्य भने होइन।”

लेखकले पौराणिक, वैदिक, लोककथा, युद्धकथा र ऐतिहासिक कथाका २३ वटा प्रतिनिधि कथाहरू यस पुस्तकमा समावेश गरेका छन्। यी कथा हामीले विद्यालयदेखि विश्वविद्यालयसम्म पढिसकेका छौँ, तर पुनः एकै ठाउँमा पढ्न पाउँदा पुनर्ताजगी अनुभव हुन्छ।

पुस्तकमा केही खट्किने कुरा पनि छन्। लेखकको मौलिक लेखोटमा खासै त्रुटि नदेखिए पनि साभार गरिएका कथाहरूमा प्रुफ रिडिङको अभाव प्रस्टै देखिन्छ। बग्रेल्ती प्रुफ गल्तीहरू देख्दा अलिकति खल्लो लाग्छ, यद्यपि विषयवस्तुको गाम्भीर्यले ती कमजोरीलाई गौण बनाइदिन्छन्।

‘अनुसन्धान विमर्श नेपाल’ प्रकाशक रहेको यस पुस्तकको मूल्य ६०१ रुपैयाँ तोकिएको छ। पुस्तक आद्योपान्त पढिसक्दा खर्च गरेको रकमभन्दा कैयौँ गुणा बढी ज्ञान र लाभ मिल्छ। व्यक्तिगत पुस्तकालयमा संग्रह गर्न योग्य यो पुस्तक एकपटक पढ्न म सबैलाई सिफारिस गर्दछु।

प्रकाशित: २४ माघ २०८२ १३:२१ | Saturday, February 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast