एक लोककथा अनुसार पुरानो समयको एउटा गाउँको मन्दिरमा ठूलो ढुंगा राखिएको थियो। त्यो ढुंगा वर्षौँदेखि त्यहीँ थियो र कुनै काममा प्रयोग भएको थिएन। एक दिन मन्दिरका पुजारीको मनमा विचार आयो- यस ढुंगालाई कुँदेर भगवान् शिवको सुन्दर मूर्ति बनाइयो भने मन्दिर अझ शोभायमान हुनेछ।
पुजारीले गाउँका एक मूर्तिकारलाई बोलाए र ढुंगाबाट शिवजीको मूर्ति बनाउन जिम्मा दिए। मूर्तिकारले ठूलो उत्साहका साथ काम सुरु गर्यो। उसले हथौडा र छिनोले ढुंगामा लगातार प्रहार गरिरह्यो तर ढुंगा अत्यन्तै कडा थियो। धेरै घण्टाको मेहनतपछि पनि ढुंगामा खासै चिरा परेन। एक दिन बित्यो।
अर्को दिन पनि उसले सम्पूर्ण शक्ति लगाएर प्रयास गर्यो तर ढुंगा फुटेन। उसका हात दुख्न थाले, शरीर थकित भयो र मन निराशाले भरियो। उसलाई लाग्न थाल्यो कि यो काम उसको क्षमताभन्दा बाहिर छ। अन्ततः उसले हार मान्यो र पुजारीलाई भन्यो- यो ढुंगा अत्यन्तै कडा छ,म यसलाई कुँद्न सक्दिन।
भोलिपल्ट पुजारीले अर्को मूर्तिकारलाई बोलाए। उसले काम सुरु गर्यो। उसले पहिलो पटक हथौडाले प्रहार गर्यो, ढुंगा तुरुन्तै फुट्यो। केही दिनको मेहनतमा उसले भगवान् शिवको सुन्दर र आकर्षक मूर्ति तयार गर्यो।
यो देखेर पुजारी मुस्कुराए। पहिलो मूर्तिकारका अनगिन्ती प्रहारहरूले ढुंगा पहिल्यै कमजोर भइसकेको थियो भन्ने उनलाई बुझ्न ढिलो भएन। यदि उसले अन्तिम क्षणमा अझ एक प्रहार गरेको भए सफलता उसैको हातमा पर्थ्यो। तर ऊ ठीक लक्ष्य नजिक पुगेर हार मान्यो।
यस घटनाले हामीलाई जीवनमा धेरै पटक हाम्रो मेहनतको फल तुरुन्त देखिँदैन तर हरेक प्रयासले हामीलाई सफलतासँग अझ नजिक पुर्याउँछ। प्रायः अन्तिम प्रयास नै निर्णायक हुन्छ भन्ने सिकाउँछ।



