सुनसरी–२ मा चौपक्षीय भिडन्त : कसले मार्ला बाजी?

विवेक विवश रेग्मी २१ माघ २०८२ १८:३९ | Wednesday, February 4, 2026
22
SHARES
सुनसरी–२ मा चौपक्षीय भिडन्त : कसले मार्ला बाजी?

इटहरी – २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा सुनसरी क्षेत्र नंं–२ मा चुनावी प्रतिस्पर्धा तीव्र बन्दै गएको छ। अघिल्ला निर्वाचनमा मुख्यतः नेपाली कांग्रेस र नेकपा एमालेबीच प्रतिस्पर्धा सीमित रहेको थियो भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अस्वभाविक मत प्राप्तिले नयाँ आयाम पाएको थियो।

यसपटक भने चौपक्षीय प्रतिस्पर्धा हुने आँकलन गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सक्रिय उपस्थितिले चुनावी समीकरण मात्र होइन, परम्परागत मत संरचना नै विभाजित हुने अवस्था सिर्जना गरेको छ।

२०७९ सालको निर्वाचनमा एमालबाट उम्मेदवार बनेका भीमप्रसाद आचार्यले कांग्रेसका सीताराम मेहतालाई पराजित गरेका थिए। ०७४ को निर्वाचनमा भने उनै मेहता विजयी भएका थिए।

तर यसपटक उम्मेदवार परिवर्तन, गठबन्धनको अभाव र नयाँ राजनीतिक शक्तिको उदयले यो क्षेत्र पूर्णतः खुला प्रतिस्पर्धाको मैदान बनेको छ।

यस क्षेत्रमा नेपाली कांग्रेसबाट १४ औँ महाधिवेशमा केन्द्रीय सदस्यसमेत भइसकेका राजीव कोइराला, नेकपा (एमाले) का युवा संघ कोशी प्रदेश अध्यक्ष सुजन लामा, नेकपाकी केन्द्रीय सदस्य तथा पूर्व कृषि राज्यमन्त्री रामकुमारी चौधरी र राष्ट्रिय स्वतन्त्र पार्टीका कोशी प्रदेश महामन्त्री लालविक्रम थापाबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।

यसअघिसम्म कांग्रेस र एमालेबीच प्रतिस्पर्धा हुँदै आएको यस क्षेत्रमा दुवै दलको संगठन मजबुत मानिन्छ। तर पछिल्लो समय पुराना दलहरूप्रति जनविश्वास कमजोर बन्दै गएपछि रास्वपा मुख्य प्रतिस्पर्धी मानिएको छ भने नेकपाका उम्मेदवारहरूसमेत प्रतिस्पर्धीका रूपमा अघि आएका छन्।

थारू बाहुल्य क्षेत्र भएकाले रामकुमारी चौधरी आफ्नो समुदायको मत कब्जा गर्ने तयारीमा जुटेकी छन् भने देशव्यापी रूपमा चलेको रास्वपाको लहरले सुनसरी–२ मा पनि प्रभाव जमाएको आँकलन गरिएको छ।

बेदागको छवि, कांग्रेसका कोइराला युवा मत जोगाउने रणनीतिमा

बेदाग र सादगीको छवि बनाएका कांग्रेसका कोइराला यसअघि कोशी प्रदेशसभा सदस्य हुँदै संसदीय दलको नेतासमेत भइसकेका छन्। उनी सुनसरी कांग्रेसको दुई कार्यकाल सभापति भइसकेका अनुभवी नेता भए पनि लाभको पदमा भने पुगेका छैनन्।

सबै समूहलाई समेट्ने क्षमता भएका कोइरालालाई यसपटक एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरूले कडा चुनौती दिएका छन्।

कोइरालाले युवाको आशा र वृद्ध पुस्ताको भरोसाका रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै निर्वाचित भएपछि भावनात्मक भन्दा नीतिगत राजनीतिमा केन्द्रित हुने बताएका छन्। इनरुवा नगरपालिका–१ निवासी उनी निर्वाचनका बेला मात्र होइन, नियमित रूपमा जनतासँग सम्पर्क र संवादमा रहने नेता भएको दाबी गर्दै आएका छन्।

कोइरालाले भने, ‘सुनसरी–२ का मतदाताले मलाई नजिकबाट चिन्नुभएको छ। अब संघीय संसदमा पुगेर यस क्षेत्रको समग्र विकासलाई नयाँ उचाइमा पु¥याउने प्रतिबद्धता व्यक्त गरेको छु। कांग्रेसप्रति जनविश्वास कायम छ। यसपटक जित कांग्रेसकै हुन्छ।’

विशेष महाधिवेशनपछि कांग्रेसभित्र दुई धार देखिए पनि आफू भौगोलिक तथा राजनीतिक रूपमा सबैका लागि परिचित र समेट्ने नेता भएकाले संगठनको मत र जनताको विश्वासका आधारमा चुनाव जित्ने दाबी कोइरालाले गरे। यद्यपि, विशेष महाधिवेशनपछि कांग्रेस फेरिएको र नयाँ पुस्ताको भावना समेट्ने उनले उल्लेख गरे।

कोइराला उम्मेदवार बनेपछि कांग्रेसभित्र उत्साह बढेको देखिए पनि संगठनात्मक रूपमा पार्टी अझै पनि अन्तर्घात र ढुक्कपनको जोखिममा छ। अघिल्लो निर्वाचनमा कांग्रेस–माओवादीबीच गठबन्धन हुँदासमेत यो क्षेत्र गुमाएपछि आन्तरिक व्यवस्थापन कमजोरी रहेको निष्कर्ष कांग्रेसकै नेता–कार्यकर्ताहरूले स्वीकार गर्दै आएका छन्।

संगठनको बलमा युवाको मत तान्ने पक्षमा एमाले

नेकपा एमाले भने संगठनको बलमा युवाको मत तान्ने पक्षमा छन्। युवानेता एवम् युवा संघ कोशी प्रदेश कमिटिका अध्यक्ष सुजन लामाले युवा ‘सेन्टिमेन्ट’ ‘क्याच’ गरिरहेका छन्। खासगरी मनोनयन दर्ताको अघिल्लो दिनसम्म रेवतीरमण भण्डारीले टिकट पाउने चर्चा भए पनि अन्तिम समयमा लामाले टिकट पाएका थिए। उम्मेदवार परिवर्तनले एमालेभित्र सुरुआती अन्योल देखिए पनि संगठनात्मक संरचना भने अडिग देखिन्छ।

वडा तहसम्मको संरचना, स्थायी मतदाता र विगतको निर्वाचन जितको मनोवैज्ञानिक लाभ लिदैँ लामाले शिक्षा र स्वास्थ्यलाई प्राथमिकता राखेर चुनावमा होमिएका छन्। युवालाई केन्द्रमा राख्दै संगठन चलायमान बनाउने प्रयास गरिरहेका उनले भने, ‘अहिले मतदातासँग प्रत्यक्ष भेटघाट, आन्तरिक बैठक र पुराना मतदातासँग संवादमा छौँ। त्यससँगै युवाको मत प्राप्त हुने भएकाले चुनाव जित्ने रणनीतिलाई प्राथमिकता दिएका छौँ।’ युवाको रोजाइ आफू भएको उनको दाबी छ।

तर, एमालेको आन्तरिक किचलो र जेन–जी आन्दोलनपछिको जनाधार कमजोर हुँदै गएको अवस्थाले पार्टीलाई थप चुनौतीको सामना गर्नुपर्ने देखिएको छ।

अघिल्लो जनमत र लहरले नै चुनाव जित्ने रास्वपाको दाउ

राष्ट्रिय स्वतन्त्र पार्टीले लालविक्रम थापालाई पुनः उम्मेदवार बनाएको छ। उम्मेदवारको व्यक्तिगत विवाद र संगठनात्मक कमजोरी हुँदाहुँदै पनि रास्वपाको राजनीतिक ब्रान्ड र वैकल्पिक शक्तिको सन्देशले परम्परागत दलका मतदातालाई आकर्षित गरिरहेको देखिन्छ।

खासगरी रास्वपाका वरिष्ठ नेता बालेन शाहको यस क्षेत्रमा उपस्थिति र देशभर आएको जनलहरले चुनाव जित्ने दाउमा उनी रहेका छन्। अहिले चुनावी अभियान तीव्र बनाउँदै पुराना दलप्रति असन्तुष्ट मतदातालाई लक्षित गरिरहेको छ।

थापाले भने, ‘पुराना दलले पटक–पटक शासन गर्ने अवसर पाए पनि जनअपेक्षाअनुसारको परिवर्तन दिन सकेनन्। राजनीति शुद्धीकरणका लागि हामी मैदानमा उत्रिएका छौँ। यसपटक रास्वपाले चुनाव जित्ने निश्चितप्रायः छ।’

रास्वपाको प्रभाव मुख्यतः कांग्रेसको असन्तुष्ट मतदाता, युवा र पहिलोपटक मत हाल्ने समूह, ‘सबै पुराना दल असफल’ भन्ने सोच राख्ने वर्गमा केन्द्रित रहेको छ।

तर, यसअघि पनि उनै थापा उम्मेदवार हुनु र विवादित छविका कारण रास्वपाले प्राप्त गर्ने मतले जित–हारको दिशा निर्धारण गर्ने जानकारहरू बताउँछन्।

थारू मत कब्जाको रणनीतिमा नेकपा

विशेषतः थारू बाहुल्य रहेको यस क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवार बनेकी रामकुमारी चौधरी थारू मत कब्जा गर्ने रणनीतिमा छिन्। उनले सुनसरी–२ को विकासमा आफूले गरेको योगदानका आधारमा मतदाताको समर्थन प्राप्त हुने विश्वास व्यक्त गरेकी छन्।

राज्यमन्त्रीका रूपमा कृषि, पूर्वाधार, शिक्षा तथा सामाजिक क्षेत्रमा काम गरेको स्मरण गराउँदै चौधरीले जनताको सुख–दुःखमा निरन्तर साथ दिएको दाबी गरिन्।

‘अनुभव र कार्यसम्पादनको मूल्यांकनका आधारमा मतदाताले मलाई रोज्नुहुन्छ,’ उनले भनिन्।

सुनसरी क्षेत्र नम्बर २ मा यसपटकको निर्वाचन कुनै दलका लागि सहज जित देखिदैँन। उम्मेदवारको व्यक्तिगत क्षमता र चुनावी एजेन्डाभन्दा पनि मतदाताको निर्णय यसपटक पार्टी विश्वास, संगठन सक्रियता र अन्तिम समयमा मत स्थानान्तरणजस्ता तत्वमा निर्भर हुने विश्लेषण गरिएको छ।

युवा मतदाता र असन्तुष्ट मतदातालाई रिझाउन दलहरू रणनीतिमा जुटेका छन्। खासगरी सुनसरी–२ मा चुनावी नतिजा पुराना दलहरूको संगठनात्मक बल र वैकल्पिक दलको प्रभावबीचको प्रतिस्पर्धामा निर्भर रहने देखिन्छ।

सुनसरी २ मा इटहरी उपमहानगरपालिकाको १–५ र १६–२० वडाहरू, रामधुनी नगरपालिकाको १–३, ५, ८ र ९, इनरुवा नगरपालिकाको वडा १, २, ५, ६, ९ र १०, देवानगन्ज गाउँपालिका र हरिनगर गाउँपालिकाको वडा ३ समेटिएको छ भने कुल १ लाख ५८ हजार ९१० जना मतदाता रहेका छन्।

प्रकाशित: २१ माघ २०८२ १८:३९ | Wednesday, February 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast