टीप्पणी

पौडेलको जापान भ्रमणको सन्देश : स्थिर नीति र परिपक्व कूटनीति

चन्द्रशेखर अधिकारी २१ माघ २०८२ २०:२६ | Wednesday, February 4, 2026
228
SHARES
पौडेलको जापान भ्रमणको सन्देश : स्थिर नीति र परिपक्व कूटनीति

काठमाडौँ– नेपाल-जापान सम्बन्ध परस्पर सम्मान र स्थायित्वको लामो यात्राबाट बनेको हो। दुईदेशीय सम्बन्ध एक कालखण्ड, सरकार वा राजनीतिक व्यवस्थासँग सीमित रहेर कायम भएको होइन। जापानले नेपाललाई अनौपचारिक सम्बन्ध हुँदैदेखि सघाउँदै आएको छ। सन् १९०२ मा नेपालबाट भारत हुँदै पानीजहाजमा यात्रा गर्दै जापान पुगेका विद्यार्थीबाट जनस्तरको सम्बन्ध सुरु भएको इतिहास छ।

नेपाली विद्यार्थीलाई युरोप नपठाएर आठ विद्यार्थी र सहयोगीसमेत गरेर १७ जनालाई जापान पठाउने निर्णय सुधारवादी राणा प्रधानमन्त्री देवशमशेरले गरेका थिए। विद्यार्थी जापान जाँदा चन्द्रशमशेर प्रधानमन्त्री थिए। उनीहरूले अध्ययनपछि ल्याएका जापानी बिरुवा अहिले पनि नेपाली सडकछेउमा फुलेका हुन्छन्। त्यही बेलादेखिको जनस्तरको सम्बन्ध झाँगिएर नेपाली समाज बनेको छ जापानमा।

जापानीहरू नेपालमा सन् १८८९ मा आएको देखिन्छ। यद्यपि नेपाल-जापान सम्बन्ध लिच्छविकालमा पनि रहेको इतिहासमा उल्लेख छ। नेपाल भ्रमण गर्ने पहिलो जापानी भिक्षु इकाई कावागुची हुन्। उनी तिब्बत जाँदा सन् १८८९ मा काठमाडौँ आएका थिए। उनले कालीगण्डकी नदी पार गरेर मुस्ताङको बाटो हुँदै तिब्बत गएको आफ्नो  पुस्तकमा उल्लेख गरेका छन्। उनले त्यसपछि चार पटकसम्म नेपालको भ्रमण गरेका थिए।

कावागुचीले सन् १९०५ मा तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरलाई सम्बोधन गरी नेपालका अनेकन् समस्याको जानकारी दिँदै लामो पत्र लेखेका थिए। उनले एक सय २० वर्षअघि लेखेको कुरा अहिले पनि उत्तिकै सान्दर्भिक छ। कावागुचीले नेपालको अपार जलस्रोतको समुचित उपयोग गर्न तथा घरेलु उद्योग, शिक्षा एवं पर्यटन क्षेत्रको विकास गर्न आवश्यक रहेको सुझाव दिएका थिए।

नेपाल र जापानबीच १ सेप्टेम्बर १९५६ मा औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको हो। नेपालको राजनीतिमा खासै चासो नराख्ने जापानले नेपालसँग सम्बन्ध स्थापना गरेयता विभिन्न क्षेत्रमा सघाउँदै आएको छ। जापानलाई नेपालले प्रमुख दातृ मुलुकको सूचीमा कैद गरेको छ। यसैले होला, जापानलाई नै कुनै दुःख आइपर्दा सांकेतिक रूपमा भए पनि नेपालले सहयोग गर्दै आएको छ।

जापान नेपालका लागि एक यस्तो मित्र मुलुक हो जसको नेपालमा राजनीतिक स्वार्थ देखिँदैन। नेपालमा राजनीतिक परिवर्तन, सत्ता समीकरण र भूराजनीतिक उतारचढाव भइरहे पनि दुई देशबीचको सम्बन्ध अटल देखिन्छ। नेपाल र जापानले यसरी सहकार्य गरेको सात दशक पार गर्दै छ। दुई मुलुकको कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षका अवसरमा जापानले नेपालबाट उच्चस्तरको भ्रमण चाहेको र त्यो सम्पन्न भएको छ।

चारदिने औपचारिक भ्रमण सकेर राष्ट्रपति रामचन्द्र पौडेल काठमाडौँ फर्किएका छन्। निर्वाचनको मुखमा राष्ट्रप्रमुखबाट भएको यो भ्रमण औपचारिक शिष्टाचार भ्रमण मात्र होइन। भ्रमणले बदलिँदो अन्तर्राष्ट्रिय शक्ति सन्तुलन, दक्षिण एसियाको रणनीतिक महत्त्व र नेपालजस्तो कमजोर एवं संवेदनशील मुलुकको कूटनीतिक सन्तुलनसँग गहिरो अन्तर्य जोडिएको छ।

भ्रमणले नेपाल-जापान कूटनीतिक सम्बन्धको ७० औँ वार्षिकोत्सवलाई विशेष महत्त्व दिएको छ, जसमा जापानी प्रधानमन्त्री सानाए ताकाइचीले द्विपक्षीय सम्बन्धलाई थप बलियो बनाउने प्रतिबद्धता व्यक्त गरेकी छन् भने सम्राट नारुहितोले त नेपाल भ्रमण गर्दाको पुराना संकलित तस्विर नै देखाउँदै हार्दिकता व्यक्त गरे।

सम्बन्धको ७० औँ वर्ष

नेपाल-जापान सम्बन्धको विशेषता ‘कम बोल्ने तर धेरै काम गर्ने’ कूटनीति हो। १९५६ मा औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना भएयता दुई मुलुकबीचको मित्रता निरन्तर, विश्वसनीय र गहिरो बन्दै गएको छ। यो सम्बन्ध राजनीतिक परिवर्तन, क्षेत्रीय तनाव र वैश्विक उतारचढावका बीचमा पनि अटल रहँदै आएको छ।

सम्बन्धको आधार जनस्तरमा छ। बौद्ध धर्मको साझा धरोहर, हिमाली आरोहण आदानप्रदान, विद्यार्थी तथा सांस्कृतिक सम्पर्कले दुई मुलुकलाई सदीयौँदेखि जोडेको छ। औपचारिक सम्बन्ध स्थापना भएको एक दशक नहुँदै नेपालले सन् १९६५ मा जापानको टोकियोमा दूतावास खोल्यो भने त्यसको दुई वर्षपछि जापानले काठमाडौँमा दूतावास स्थापना गरेको हो। जापानले नेपालमा पूर्वाधार, शिक्षा, स्वास्थ्य, मानव संसाधन र विपद् व्यवस्थापनमा निरन्तर सहयोग गर्दै आएको छ।

सात दशकयता जापान नेपालको सबैभन्दा विश्वसनीय विकास साझेदार हो। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) मार्फत जापानले पूर्वाधार, शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन र मानव संसाधन विकासमा ठूलो योगदान पुर्‍याएको छ। मेलम्ची खानेपानी आयोजना, अरनिको राजमार्ग, बीपी राजमार्ग निर्माण (अहिले पुनर्निर्माणका लागि २.६ अर्ब रुपैयाँ अनुदान), भूकम्पपछिको पुनर्निर्माण, नागढुंगा सुरुङ, कुलेखानी तथा कालीगण्डकी जलविद्युत् परियोजना, धुलिखेल अस्पतालको ट्रमा सेन्टर सुधार, चन्द्र नहर सिँचाइ पुनर्स्थापना, कोटेश्वर चोक सुधार जस्ता परियोजना जापानी सहयोगमा निर्माण भएका हुन्।

अन्य दर्जनबढी सहयोग विभिन्न क्षेत्रमा छन्, साना सहकार्य बाहेक नै। जाजरकोट भूकम्पपछि स्कुल पुनर्निर्माण र छात्रवृत्ति कार्यक्रममा जापानी सहयोग रहँदै आएको छ।

७० वर्षको अवसरमा राष्ट्रपति पौडेलको भ्रमण विशेष महत्त्वपूर्ण रह्यो। जापानी सम्राट् नारुहितो, प्रधानमन्त्री सानाए ताकाइची तथा परराष्ट्र राज्यमन्त्री होरिई इवाओसँगको भेटमा दुवै पक्षले सम्बन्धलाई थप बलियो बनाउने प्रतिबद्धता व्यक्त गरे। प्रधानमन्त्री ताकाइचीले नेपालको लोकतान्त्रिक विकासमा जापानको निरन्तर समर्थन रहने बताउँदै क्षेत्रीय स्थिरताका लागि नेपालको भूमिका महत्त्वपूर्ण ठानेकी छन्।

राष्ट्रपति पौडेलले ७० वर्षको मित्रतालाई सबै क्षेत्रमा गहिरो बनाउने इच्छा व्यक्त गरे। भ्रमणले ‘संस्थागत आश्वासन’ को सन्देश थियो- सरकार फेरिए पनि नीति र मित्रता स्थिर रहन्छ। जापानका लागि नेपाल रणनीतिक साझेदार पनि बन्दै छ।

बदलिँदो विश्व कूटनीति र जापानको सक्रियता

आजको विश्व कूटनीति तरल छ। युक्रेन युद्ध, गाजाको संकट, भेनेजुएला, इरान समस्या छ भने अर्कोतिर चीन-अमेरिका रणनीतिक प्रतिस्पर्धा, इन्डो-प्यासिफिक अवधारणा, ग्लोबल साउथको पुनर्संरचना र ब्रिक्सका विषय छन्। यस सन्दर्भलाई केलाउने हो भने पनि स्पष्ट हुन्छ- जापान अब आर्थिक शक्ति मात्र रहेन।

उसले इन्डो प्यासिफिक क्षेत्रको शान्तिका लागि भन्दै कूटनीतिक र सुरक्षा साझेदारका रूपमा आफूलाई अघि बढाएको छ। जापानले पछिल्ला वर्षहरूमा दक्षिण एसिया र हिमालय क्षेत्रप्रति पनि चासो बढाएको छ। यसको मुख्य कारण चीनको बढ्दो प्रभाव, भारत-प्रशान्त क्षेत्रमा शक्ति सन्तुलन र आपूर्ति शृंखलाको सुरक्षा हो।

नेपाल भौगोलिक रूपमा सानो भए पनि भारत र चीनबीचको संवेदनशील भूराजनीतिक क्षेत्रमा अवस्थित भएकाले जापानका लागि रणनीतिक रूपमा महत्त्वपूर्ण बन्दै गएको छ। राष्ट्रपति पौडेलको भ्रमणलाई यही बदलिँदो अन्तर्राष्ट्रिय सन्दर्भसँग जोडिएर हेर्नु आवश्यक छ।

जापानी मिडियामा भ्रमणलाई हिमालय क्षेत्रको स्थिरतासँग जोडेर चर्चा गरिएको छ। प्रधानमन्त्री ताकाइचीले नेपालको आगामी चुनावलाई स्वतन्त्र, निष्पक्ष र समावेशी बनाउन जोड दिएकी छन्। उनले क्षेत्रीय स्थिरतामा नेपालको भूमिकालाई महत्त्वपूर्ण ठानेकी छन्।

निर्वाचनकै बीचमा राष्ट्रपति भ्रमणको सन्देश

नेपाल र जापान दुवै देश आआफ्नो निर्वाचन प्रक्रियातर्फ उन्मुख छन्। यस्तो अवस्थामा उच्च तहको भ्रमण किन? यो प्रश्न स्वाभाविक रूपमा उठ्छ। कूटनीतिक दृष्टिले यो भ्रमण सरकार-सरकारभन्दा माथि उठेको राज्य-राज्य सम्बन्धको सन्देश हो।

राष्ट्रपति स्वयं संविधानको संरक्षक र निरन्तरताको प्रतीक भएकाले निर्वाचनको अनिश्चितताबीच पनि सम्बन्ध स्थिर रहने विश्वास दुवै पक्षले प्रकट गरेका छन्। अन्तर्राष्ट्रिय कूटनीतिमा यस्तो भ्रमण राज्य स्तरको सम्बन्धको निरन्तरताको सन्देशका लागि गरिन्छ। जुन यथार्थपरक पनि छ।

सत्ता परिवर्तन भए पनि नीति र सम्बन्ध परिवर्तन हुँदैनन् भन्ने जानकारी दुवै मुलुकको नागरिकलाई दिन भ्रमणको समय तय भएको हो। भ्रमणलाई नेपालको कूटनीतिक परिपक्वताको प्रमाणका रूपमा लिइएको छ। राष्ट्रपति कार्यालयको टोली ठूलो रहे पनि अन्य पाटो अब्बल देखिएको छ। राष्ट्रपति पौडेलले जापानी प्रधानमन्त्रीलाई हिमालयन स्कार्फ उपहार दिएका छन्। जसले सांस्कृतिक सम्बन्धलाई प्रतीकात्मक रूपमा बलियो बनाएको प्रस्ट हुन्छ।

भ्रमणका प्रमुख कार्य र औपचारिक भेटघाट

राष्ट्रपति पौडेलको जापान भ्रमण औपचारिकतामा सीमित नरहेको स्पष्ट हुन्छ। जापानी सम्राट् नारुहितो र प्रधानमन्त्री सानाए ताकाइचीसँगको छुट्टाछुट्टै भेटले नेपाल-जापान सम्बन्धको उच्चतम तहको सम्मान झल्कायो। अनि राष्ट्रपतिलाई दिइएको सम्मानबाट पनि महत्वको मापन गर्न सकिन्छ।

जापानका नीति-निर्माता, कूटनीतिज्ञ र विकास साझेदारहरूसँगको संवादले नेपालको राजनीतिक संक्रमण, आर्थिक आवश्यकता र क्षेत्रीय भूमिकाबारे स्पष्ट सन्देश दिएको छ। नेपाली समुदाय र श्रमिकसँगको अन्तरक्रियाले जनकूटनीति अर्थात् ‘पब्लिक डिप्लोमेसी’लाई बलियो बनाएको देखिन्छ।

राष्ट्रपति पौडेलले जापानी व्यवसायीहरूसँगको अन्तरक्रियामा नेपालमा लगानीका लागि आह्वान गर्ने काम पनि भएको छ। कृषि, जलविद्युत्, पर्यटन, सूचना प्रविधि र सेवा क्षेत्रलाई प्राथमिकता राखेर उनले आह्वान गरेका थिए। त्यहाँ जमेर बसेका नेपाली समुदायलाई पनि उनको आग्रह यस्तै थियो।

यी सबै कार्यक्रमलाई जापानको ‘सफ्ट पावर डिप्लोमेसी’ र नेपालको सन्तुलित कूटनीतिको संगमका रूपमा लिन सकिन्छ। भ्रमणका क्रममा जापानी सञ्चारमाध्यम र कूटनीतिक वृत्तमा आएको सन्देश उल्लेखनीय छन्। जापानले नेपाललाई स्थिर, लोकतान्त्रिक र सन्तुलित कूटनीति अपनाउने मुलुकका रूपमा चित्रित गरेको देखियो।

विशेषगरी लोकतान्त्रिक अभ्यासप्रति नेपालको प्रतिबद्धता, शान्ति प्रक्रिया र गणतान्त्रिक संक्रमण र क्षेत्रीय तनावबीच सन्तुलित कूटनीतिको जापानले खुलेर प्रशंसा गरेको छ। यी विषय जापानी पक्षबाट हाम्रा लागि सकारात्मक सन्देश बने। नेपालको अन्तर्राष्ट्रिय छवि बलियो बनाउने एउटा काम भएको छ।

जापानलाई होच्याउने गरी छिमेकी चीनले गरेको परेडमा नेपालको उपस्थिति भयो। उपस्थित हुनु अघि जारी विज्ञप्तिमा नेपालले चीनकै लाइनमा लेखेको वाक्यांशलाई जापानले स्मरण गरिरहेकाले त्यस्तो नहोस् भन्ने सन्देशचाहिँ यो भ्रमणमा पनि दिएको छ। भ्रमणले ‘नेपाल अस्थिर छ’ भन्ने गलत धारणालाई चुनौती दिएको देखिन्छ। जापानले यस्ताकुरा सिधा भन्दैन तर संकेत भने गर्छ। जुन सहजै बुझ्न सकिन्छ।

राजदूतविहीन अवस्थामै सफल भ्रमण

कूटनीतिक क्षमताको परीक्षा यस्तै अवस्थामा हुने हो। प्रभावहीन र कामै नगर्ने राजदूत हुनुभन्दा नहुँदा राम्रो हुने सन्देश यो भ्रमणबाट गएको छ। राजदूत नहुँदा उपसचिव स्तरबाट कहाँ भ्रमण सम्पन्न हुन्छ भन्नेहरूलाई कार्यवाहक राजदूत हरिहरकान्त पौडेलले काममार्फत जवाफ दिएका छन्। उनले कुनै राजदूतले चलाउने उच्च स्तरको भ्रमणमा भन्दा कत्ति पनि कमि हुन दिएनन्।

भ्रमणको सबैभन्दा रोचक र बहसयोग्य पक्ष भनेको नेपालको जापानस्थित दूतावास राजदूतविहीन अवस्थामा छ। त्यहाँबाट फिर्ता गरिएका राजदूत दुर्गाबहादुर सुवेदी परराष्ट्रमा हाजिरी गरेर बसिरहेका छन्। सेवानिवृत्त भएपछि पनि डा. आरजु देउवाको निगाहमा राजदूत पाएका थिए सुवेदीले।

वर्तमान सरकाले उनलाई फिर्ता बोलाएको थियो। यसअघि तीन नियोगमा काम गरिसकेका र परराष्ट्रमा पनि महाशाखा राम्रै सम्हालेका हरिहरले आफ्नो कार्यवाहक जिम्मेवारी राम्रैसँग निर्वाह गरेको परराष्ट्र अधिकारी बताउँछन्। जापानको निम्ता भए पनि समन्वय टोकियोस्थित दूतवाासको महत्त्वपूर्ण रहन्छ। त्यसमा कतै नचुकीकन कार्य सम्पन्न गरेको जानकारी भ्रमण दलमा रहेकाले दिए।

परम्परागत कूटनीतिक अभ्यासमा यस्तो भ्रमणका लागि राजदूत अपरिहार्य मानिन्छ। यसपटक कार्यवाहक नियोग प्रमुखले नै सम्पूर्ण समन्वय, व्यवस्थापन र कूटनीतिक संवाद सफलतापूर्वक सम्हाले। यो पक्षलाई नेपालको परराष्ट्र प्रशासनको क्षमताको प्रमाणका रूपमा चर्चा गर्न सकिन्छ। यसले दुई गहिरा सन्देश दिन्छ।

पहिलो, कूटनीतिक सम्बन्ध पदभन्दा बढी संस्थागत क्षमता र अनुभवमा निर्भर हुन्छ। दोस्रो, कहिलेकाहीँ कार्यवाहक प्रमुख स्थायी राजदूतभन्दा बढी सक्रिय र परिणाममुखी देखिन सक्छन्। यो सन्दर्भले नेपालको परराष्ट्र प्रशासनमा सुधार र क्षमताको बहसलाई पनि पुनः सतहमा ल्याएको छ।

जापानको दृष्टिमा नेपाल विकास साझेदार अनि रणनीतिक मित्र

जापानका लागि नेपाल विकास सहायता प्राप्त गर्ने मुलुकमात्र होइन। दुई देशबीचमा पर्यटन, श्रम, शिक्षा, जलवायु परिवर्तन र विपद् व्यवस्थापनमा सहकार्य विस्तार हुँदै गएको छ। विशेषगरी हिमालय क्षेत्रको जलवायु संकट, पानीको स्रोत र प्राकृतिक प्रकोपको जोखिम जापानका लागि पनि साझा चासोका विषय हुन्।

राष्ट्रपति पौडेलको भ्रमणले यी विषयमा दीर्घकालीन सहकार्यको ढोका खोल्ने संकेत दिएको छ। जापानी सञ्चारमाध्यममा यो भ्रमणलाई जन-जन स्तरको आदानप्रदान र ‘माउन्टेनिङ एक्सचेन्ज’को इतिहाससँग जोडेर सकारात्मक रूपमा वर्णन गरिएको देखिन्छ।

सम्राट् नारुहितो युवराज हुँदा सन् १९८७ मा नेपाल भ्रमणमा आएका थिए। तत्कालीन सम्राट् अकिहितोले आफ्ना छोरालाई नेपालका तत्कालीन राजा वीरेन्द्र तथा रानी ऐश्वर्यलाई आगामी सहकार्यप्रति आशावादी रहेको सुनाइदिन अह्राएका थिए। हुन त सम्राट् अकिहितो र साम्राज्ञी मिचिकोले पनि दुई पटक नेपालको औपचारिक भ्रमण गरेका थिए।

सम्राट् अकिहितोकी बहिनी राजकुमारी चिचिबुबाट पनि सन् १९८५ मा नेपालको भ्रमण भएको थियो। जापान फर्केपछि त्यहाँको राजपरिवार सदस्यले नेपालको प्राकृतिक सौन्दर्यबारेमा बयान गरेको अहिले पनि त्यहाँका नेपालीहरू सुनाउँछन्।

हालका सम्राट् नारुहितोका भाइबुहारी राजकुमार अकिसिनो तथा राजकुमारी किको पनि सन् १९९७ मा नेपाल आएका थिए। उनीहरूले पोखरा भ्रमणमा गरेर जापानीमा लेखेको भ्रमण विवरण अहिले पनि पढ्न पाइन्छ। जापान पहिलेदेखि नै आगामी सहकार्यमा आशा राख्दै आएको मुलुक हो। जुन अहिले कार्यावन्यमा लैजान पहलकदमी गरिरहेको देखिन्छ।

नेपाललाई यो क्षेत्रमा रणनीतिक मित्रको रुपमा हेर्न चाहन्छ। सायद यही भएर होला जापान दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कमा पनि सक्रिय पर्यवेक्षक छ। सार्क सिथिल भएर मात्र अन्यथा उसले यस मार्फत यो क्षेत्रकमा विभिन्न कार्यहरु गरिरहेको हुन्थ्यो। कूटनीतिक पहलकदमी हुँदा भारत भ्रमणमा आएका जापानी प्रधानमन्त्री केही घण्टाकै लागि भए पनि नेपाल आएको उदाहरण छ। तर पहल कदमी कमजोर हुँदा भुटान रोज्दा नेपाल छुटेका दिन पनि छन्।

निष्कर्ष

राष्ट्रपति रामचन्द्र पौडेलको भ्रमणले चीनसँग नजिक रहेर चिढाएको सम्बन्धलाई लयमा फर्काउने काम गरेको छ। सम्बन्धमा सानो इँटा तर बलियो जगलाई स्मरण गराउने काम भएको छ। पौडेलको जापान भ्रमण कुनै तडकभडक, ठूला घोषणापत्र वा तत्कालीन राजनीतिक फाइदाका लागि गरिएको होइन।

भ्रमणलाई बदलिँदो अन्तर्राष्ट्रिय कूटनीतिमा नेपालले आफ्नो सन्तुलन, निरन्तरता र विश्वसनीयता देखाएको क्षणका रूपमा लिनुपर्छ। निर्वाचनको अनिश्चितता, राजदूतविहीन अवस्था र विश्वव्यापी तनावका बीच पनि नेपाल-जापान सम्बन्ध कमजोर भएन, बरु थप परिपक्व देखियो।

भ्रमणलाई नेपाली र जापानी सञ्चारमाध्ययममा ७० वर्षको मित्रताको उत्सव र भविष्यको सहकार्यको आधारका रूपमा टीकाटिप्पणी गरिएको छ जसले नेपालको कूटनीतिक सफलता उजागर गरेको स्पष्ट हुन्छ। जापानले खासगरि नेपालको विकास होस र यो क्षेत्रमा नेपाल अघि बढोस भन्ने चाहना राख्छ। यही कारण होला जापान यस्तो मुलुक हो जसले नेपाललाई दिएको ऋणलाई समेत अनुदानमा मोचन गरिदिन्छ।

इन्डो-प्यासिफिक क्षेत्रमा चीनको प्रभाव, हिमालयको जलवायु संकट र आपूर्ति शृंखला सुरक्षासँग जोडिएर नेपालको महत्त्व थप सान्दर्भिक भएको छ। जापानबाट उपलब्ध जनकूटनीति, पर्यटन, श्रमिक आदानप्रदान, शिक्षा तथा सांस्कृतिक कार्यक्रमले सम्बन्धलाई जीवन्त बनाएका छन्।

७० वर्षको यो यात्राले दुई देशबीचको सम्बन्धलाई परिपक्व, सन्तुलित र भविष्योन्मुखी बनाएको छ। यो मित्रताले नेपालको विकासमा योगदान मात्र होइन, क्षेत्रीय शान्ति तथा स्थिरतामा पनि सकारात्मक भूमिका खेलिरहेको छ। जापान नेपालले भारतसँग सहकार्य गरेर अघि बढेको हेर्न रुचाउँछ। उसले नेपालको भूगोल र पानी ढलोलाई राम्रोसँग बुझेर नै यस्तो सल्लाह दिने गरेको हो। जुन अनौपचारिक कुराकानीमा प्रष्टसँग उसले भन्ने गर्छ।

आगामी दशकमा जलवायु सहकार्य, प्रविधि हस्तान्तरण र जनस्तर आदानप्रदानमा थप विस्तार हुने अपेक्षा गरिएको छ। नेपाल-जापान सम्बन्धमा यो भ्रमणले सानो इँट्टा थप्ने र जग बलियो बनाउने काम गरेको छ। जसले दुवै मुलुकको भविष्यलाई सुदृढ बनाउँछ। भ्रमणबाट इतिहासले बनाएको सम्बन्धलाई वर्तमानले बचाइरहेको र भविष्यतर्फ डोर्याइरहेको सकारात्मक संकेत प्राप्त भएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast