उपेन्द्र यादव
काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव अघिल्लो प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलोपटक चुनावी राजनीतिमा आएको जनमत पार्टीका अध्यक्ष सीके राउतसँग पराजित भएका थिए। त्यस बेला सप्तरी-२ बाट चुनाव लडेका उपेन्द्रलाई सीकेले दोब्बरभन्दा बढी मतले पराजित गरे। सीकेले ३५ हजार ४२ मत ल्याउँदा उपेन्द्रको १६ हजार ९७९ मत थियो।
सप्तरीमा सीकेसँग पराजित उपेन्द्र पार्टीका तर्फबाट बारा-२ मा निर्वाचित रामसहायप्रसाद यादवलाई राजीनामा गर्न लगाएर प्रतिनिधिसभा छिरेका थिए। बारा-२ मा भएको उपनिर्वाचनमा उपेन्द्रलाई जिताउन नेपाली कांग्रेस, तत्कालीन माओवादी केन्द्र र लोसपाले सहयोग गरेको थियो। प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिएका रामसहाय उपराष्ट्रपतिमा निर्वाचित भए।
सप्तरी-२ मा पराजय बेहोरिसकेका उपेन्द्र फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि फेरि त्यहाँबाट प्रतिस्पर्धा गर्न ‘साहस’ जुटाएनन्। यो क्षेत्रबाट लडेको भए उनले फेरि जनमतका अध्यक्ष सीकेसँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्थयो।
उपेन्द्र यसपालि क्षेत्र परिवर्तन गरेर सप्तरी-३ पुगेका छन्। सप्तरी-२ र उपनिर्वाचनमा बाराबाट जितेका क्षेत्र सुरक्षित नदेखेपछि उपेन्द्र सप्तरी-३ पुगेका हुन्। राजनीतिका साथै जातीय समीकरणका कारण उनलाई सप्तरी-३ बाट पनि जित निकाल्न त्यति सहज देखिएको छैन।
यस क्षेत्रबाट नेपाली कांग्रेस सप्तरीका पूर्वसभापति दिनेशकुमार यादव र नेकपा एमालेका ताराकान्त चौधरी चुनावी मैदानमा छन्। कांग्रेसका दिनेश विघटित प्रतिनिधिसभाका सदस्य हुन् भने एमालेका ताराकान्त यस क्षेत्रबाट लगातार तेस्रोपटक प्रतिस्पर्धा गरिरहेका छन्। ताराकान्तकै भतिजो अमरकान्त चौधरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट चुनाव लडेका छन्।
ताराकान्त र अमरकान्त एउटै परिवारका भएकाले मत बाँडिनसक्ने अनुमान छ। अघिल्लो निर्वाचनमा सामान्य प्रदर्शन गरेको रास्वपाले यसपालि चलेको लहरका कारण बढी मत पाउन सक्ने आकलन धेरैको छ। एकै परिवारका सदस्य भए पनि संगठन र पार्टीप्रति प्रतिबद्ध मत दायाँबायाँ नहुने एमाले नेताहरूको दाबी छ।
एमालेका ताराकान्तका साथै उपेन्द्रका लागि सप्तरी-३ मा ठूलो चुनौती बनेका छन् कांग्रेसका दिनेश। उपेन्द्र र दिनेश दुवै यादव समुदायका हुन्। त्यसैले यादव मत बाँडिनसक्ने अनुमान गरिएको छ।
सांगठनिक हिसाबले जसपा नेपालभन्दा कांग्रेस बलियो रहेकोले केही मत बाँडिए पनि परिणाममा फरक नपर्ने कांग्रेस नेताहरूको भनाइ छ। कांग्रेसको आफ्नो मत अन्य उम्मेदवारतिर नगए नतिजा फरक नपर्ने सप्तरी-३ का एक महाधिवेशन प्रतिनिधिले बताए।
‘दुईजना यादव उम्मेदवार भएपछि बाँडिने सम्भावना देखिएको छ,’ ती प्रतिनिधिले भने, ‘आफ्नो पार्टीप्रति प्रतिबद्ध मतमात्रै संरक्षण गर्न सक्यौँ भने नतिजा हाम्रो पक्षमा हुन्छ।’ पूर्वपश्चिम राजमार्ग दक्षिणतर्फका केही मत बाँडिए पनि उत्तरतर्फको मत भने दायाँबायाँ नहुने उनको दाबी छ।
सप्तरी-३ मा यादवपछि बाहुल्य भएको समुदाय चौधरी (थारू) हो। पूर्वपश्चिम राजमार्ग उत्तरतर्फ थारू समुदायको बाक्लो उपस्थिति छ भने दक्षिणतर्फ मिश्रित बसोबास छ। कांग्रेसका दिनेश, एमालेका ताराकान्त र रास्वपाका अमरकान्त क्षेत्र नम्बर- ३ कै बासिन्दा हुन् भने उपेन्द्रको स्थायी ठेगाना मोरङ हो।
कांग्रेस उम्मेदवार दिनेश विष्णुपुर गाउँपालिका र ताराकान्त तथा अमरकान्त डाक्नेश्वरी नगरपालिकाका हुन्। स्थायी बासिन्दा भएकाका कारण यी उम्मेदवारहरूले आआफ्नो पालिकाबाट उल्लेख्य मत पाउने अनुमान सप्तरी-३ का मतदाताको छ।
‘दिनेशजी र ताराकान्तजीहरू यो क्षेत्रको स्थानीयवासी हुनुहुन्छ। उहाँहरूले आफ्नो पालिकाबाट राम्रै मत पाउने निश्चित छ,’ सप्तरी-३ का स्थानीय महेश चौधरी भन्छन्, ‘उपेन्द्रजीको त यो क्षेत्रमा आफ्नो पालिका छैन, यसले पनि उहाँलाई फरक पर्ने देखिन्छ।’
कांग्रेसकै केही यादव मत आफूतिर ताने पनि उपेन्द्रलाई जितका लागि त्यो मत पर्याप्त नहुने उनको भनाइ छ। उनी भन्छन्, ‘यसभन्दा सुरक्षित उहाँका लागि क्षेत्र नम्बर २ नै थियो। यो कांग्रेसको बाहुल्य भएको क्षेत्र हो, पहिले पनि कांग्रेसले नै जितेको हो।’
चौधरीका अनुसार युवाहरूको मत रास्वपा उम्मेदवार अमरकान्ततर्फ जाने सम्भावना देखिएको छ। पछिल्लो समय चलेको लहरका कारण पनि उनले युवाहरूको मत पाउने उनको भनाइ छ। काका-भतिजाको मत बाँडिए पनि यसको धेरै फाइदा उपेन्द्रलाई नपुग्ने चौधरीको अनुमान छ।
‘काका र भजिताले पाउने भनेको एकैखाले मत हो, यो मत बाँडिएपछि घाटा एमालेलाई हुने हो,’ उनी भन्छन्, ‘फेरि एमालेको सांगठनिक मत कहीँ दयाँबायाँ हुँदैन।’ अघिल्लोपटकको निर्वाचनमा दलहरूले पाएको मतलाई हेर्दा समेत थारू र यादव मत बाँडिदा पनि उपेन्द्र जोखिममा देखिएको उनको भनाइ छ।
२०७९ सालको निर्वाचनमा कांग्रेसका पूर्वजिल्ला सभापति दिनेश २६ हजार १६६ मत ल्याएर प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए। हुनत त्यो निर्वाचनमा कांग्रेसले माओवादीसँग गठबन्धन गरे पनि सप्तरी-३ मा माओवादीको खासै प्रभाव देखिँदैन। समानुपातिकतर्फ तत्कालीन नेकपा (माओावदी केन्द्र) ले पाएको १ हजार ७३६ मतले पनि यसको पुष्टि गर्छ।
जसपा नेपालसँग तालमेल गरेको एमालेका ताराकान्त २२ हजार ३०० मत ल्याएर पराजित भएका थिए। त्यस्तै जनमत पार्टीका अनिस अंसारीले १५ हजार ११४ मत पाएका थिए।
प्रत्यक्षतर्फ दलहरूले पाएको मतलाई हेर्दा सप्तरी-३ मा कांग्रेस, एमाले र जनमत पार्टीको बलियो पकड देखिन्छ। अघिल्लो निर्वाचनमा जसपा नेपालले समानुपातिकतर्फ पाएको मतलाई हेरेर उपेन्द्र यो क्षेत्रबाट चुनाव लड्न हौसिएको हुनसक्छन्।
२०७९ सालको निर्वाचनमा सप्तरी-३ मा समानुपातिकतर्फ सबैभन्दा बढी जनमतले १८ हजार ३४० मत पाएको थियो। पहिलोपटक चुनावी मैदानमा उत्रिएको र मधेशमा राम्रो ‘क्रेज’ देखिएका कारण जनमतले त्यो मत पाएको थियो।
दोस्रो सबैभन्दा बढी मत पाउनेमा कांग्रेसको १८ हजार २४९ मत रहेको थियो। त्यस्तै जसपा नेपालले समानुपातिकतर्फ १० हजार १५३ मत पाएको थियो। समानुपातिकतर्फ पाएको मत र काकाभतिजाको मत बाँडिदा आफूलाई फाइदा पुग्ने अनुमानका साथ उपेन्द्र सप्तरी-३ मा पुगेका हुन्। यस क्षेत्रबाट एमालेले समानुपातिकतर्फ ९ हजार ५९४ मत पाउँदा रास्वपाको जम्मा २९८ मत थियो।




