प्रतिनिधिसभा निर्वाचन : वास्तविक मतपत्रको नमूना सार्वजनिक गर्न सुरु

हिमाल प्रेस १७ माघ २०८२ २१:२७ | Saturday, January 31, 2026
38
SHARES
प्रतिनिधिसभा निर्वाचन : वास्तविक मतपत्रको नमूना सार्वजनिक गर्न सुरु

काठमाडौँ– निर्वाचन आयोगले कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्लाबाट वास्तविक मतपत्रको नमूना सार्वजनिक गर्न सुरु गरेको छ।

कर्णाली प्रदेशको सल्यान, डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट र रुकुमपश्चिममा एउटा मात्र निर्वाचन क्षेत्र छन् भने दैलेख र सुर्खेतमा दुईवटा निर्वाचन क्षेत्र छन्।

ती जिल्लाको वास्तविक मतपत्रको नमूनासमेत सार्वजनिक गरिएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले बताए। सुदूरपश्चिम प्रदेशको बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी र डडेल्धुरामा एउटा मात्र निर्वाचन क्षेत्र रहेका छन् भने अछाममा दुई, कञ्चनपुरमा तीन र कैलालीमा पाँच निर्वाचन क्षेत्र रहेका छन्। ती सबै निर्वाचन क्षेत्रको वास्तविक मतपत्रको नमूनासमेत आयोगले सार्वजनिक गरिएको उनले जानकारी दिए।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विभिन्न जिल्ला र निर्वाचन क्षेत्रको मतपत्रको नमूना सार्वजनिक गर्ने क्रम जारी रहेको आयोगले जनाएको छ। आयोगले सातवटै प्रदेश मातहतका जिल्लाका मतपत्रको नमूना सार्वजनिक गरिसकेको छ। आयोगले एउटा मात्र निर्वाचन क्षेत्र भएका जिल्लाको एक प्रकारको र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको अर्को प्रकारको मतपत्रको नमूना सार्वजनिक गरेको हो।

उम्मेदवारको संख्याका आधारमा पनि मतपत्रको नमूना तयार पारिएको आयोगले प्रस्ट पारेको छ। उम्मेदवार धेरै भएका निर्वाचन क्षेत्रका मतपत्रको आकार तुलनात्मक रूपमा ठूलो र कम उम्मेदवार भएका निर्वाचन क्षेत्रको हकमा भने सानो मतपत्र रहने जनाइएको छ। सबैभन्दा धेरै निर्वाचन क्षेत्र भएको काठमाडौँमा उम्मेदवार पनि बढी भएकाले मतपत्रको आकार ठूलो हुने आयोगका सहायक प्रवक्ता जिसीले बताए।

आयोगका अनुसार अन्य जिल्लामा पनि वास्तविक मतपत्र क्रमशः सार्वजनिक गर्दै जाने छ। जनक शिक्षा सामग्री केन्द्रले मतपत्र छपाइको काम जारी रहेको जनाएको छ। आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्रको छपाइ सम्पन्न भइसकेको जनाएको छ।

त्यसैगरी, आयोगले विभिन्न जिल्लाका विभिन्न निर्वाचन क्षेत्रको नमूना मतपत्र तयार पारेर निर्वाचन सचेतनाको कार्यक्रम पनि अगाडि बढाएको छ। मतदाता सचेतना कार्यक्रमका लागि तयार पारिएको नमूना मतपत्र विभिन्न मतदान केन्द्र मातहत पुर्‍याउने काम पनि अगाडि बढेको आयोगका सहायक प्रवक्ता जिसीले बताए।

प्रकाशित: १७ माघ २०८२ २१:२७ | Saturday, January 31, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast