फाइल तस्बिर
राष्ट्रपति पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल एयरलाइन्सको उडान नं ४३३ बाट आइतबार राति ११ः३० बजे जापान प्रस्थान गर्ने परराष्ट्र सचिव अमृतबहादुर राईले जानकारी दिए। भ्रमण सम्पन्न गरी उनी माघ २१ गते सोही एयरलाइन्सको उडान नं ४३४ बाट दिउँसो ४ः३० बजे स्वदेश फर्कने कार्यक्रम छ।
भ्रमणका अवसरमा राष्ट्रपति पौडेलले माघ १९ गते नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव मनाउने सन्दर्भमा जापान सरकारका तर्फबाट आयोजना हुने विशेष स्वागत समारोहमा सहभागिता जनाउने छन्।
उनले माघ २० गते टोकियोस्थित इम्पेरियल प्यालेसमा जापानका सम्राट नारुहितोसँग राजकीय शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र सचिव राईले बताए। सोही दिन राष्ट्रपति पौडेल र जापानका प्रधानमन्त्री सुश्री ताकाइची सानाएबीच पनि भेटवार्ता हुने तालिका छ। यस्तै, भ्रमणका क्रममा जापानका विदेश राज्यमन्त्री होरिइ इवाओले पनि राष्ट्रपति पौडेलसँग शिष्टाचार भेटवार्ता गर्नेछन्।
यसैगरी जापानी व्यावसायिक समुदायसँगको बैठकमा सहभागिता जनाउनाका साथै राष्ट्रपति पौडेलले जापानस्थित नेपाली राजदूतावासले उनको सम्मानमा आयोजना गर्ने स्वागत समारोहमा पनि सहभागी हुनुहुने मन्त्रालयले जनाएको छ। राष्ट्रपति पौडेलका साथ उनकी धर्मपत्नी श्रीमती सबिता पौडेल तथा उच्चस्तरीय सरकारी अधिकारीहरू भ्रमणमा सहभागी हुनेछन्।
नेपाल–जापान सम्बन्ध
नेपाल–जापान सम्बन्ध अठारौँ शताब्दीको अन्त्यतिरबाट सुरु भएको हो। १ सेप्टेम्बर १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएपछि यो सम्बन्ध औपचारिक भयो, जुन मित्रता, सद्भाव र सहयोगले चिनिन्छ। कूटनीतिक सम्बन्ध स्थापनापछि नेपालले १९६५ मा टोकियोमा र जापानले १९६७ मा काठमाडौँमा आफ्नो दूतावास स्थापना गरेको थियो।
जापानको ओसाकामा नेपालको मानार्थ वाणिज्य दूतावाससमेत रहेको छ।
ऐतिहासिक सम्बन्ध
जापानी बौद्ध भिक्षु, रेभ एकाई कावागुची पहिलोपटक १८९९ मा पवित्र बौद्ध धर्मग्रन्थहरूको खोजीमा तिब्बतको बाटो हुँदै नेपाल आएको इतिहास छ। उनले जापानमा नेपालको परिचय गराएको र आफ्ना लेखन तथा प्रकाशनमार्फत जापानी जनतालाई लुम्बिनीको महत्त्व उजागर गरेको इतिहासकारहरू बताउँछन्।
नेपालमा राणा शासनकालमा सन् १९०२ मा आठ नेपाली विद्यार्थीहरू उच्च शिक्षाका लागि जापान गएकापछि नेपालीहरू जापानी संस्कृति र प्रविधिसँग नजिक भएको बताइन्छ।
भ्रमण आदानप्रदान
नेपाल र जापानबीच उच्चस्तरीय भ्रमण आदानप्रदानले द्विपक्षीय सम्बन्धलाई सुदृढ पार्न योगदान पु¥याएको छ। पछिल्लो समय एकअर्का देशहरूमा उच्चस्तरस्तरीय भ्रमणहरू आदानप्रदान भइरहेका छन्।
जापानका विदेशमन्त्री तारो कोनोको निमन्त्रणामा तत्कालीन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सन् २०१८ नोभेम्बर १ देखिसम्म जापानको औपचारिक भ्रमण गरेका थिए। यस्तै, तत्कालीन कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले एसियाली अफ्रिकी कानुनी परामर्शदाता संगठनको ५७ औँ सत्रमा भाग लिन २०१८ अक्टोबर ८ देखि १२ सम्म जापानको भ्रमण गरेका थिए।
तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले २०१९ अक्टोबर २०–२२ सम्म टोकियोमा आयोजित सम्राट नारुहितोको राज्याभिषेक समारोहमा भाग लिन जापानको भ्रमण गरेका थिए।
यसैगरी जापानका विदेशमन्त्री तारो कोनोले २०१९ जनवरी ९ देखि १० सम्म नेपालको भ्रमण गरेका थिए। तत्कालीन उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा जापानकी विदेशमन्त्री कामिकावा योकोले २०२४ मे ५ मा नेपालको औपचारिक भ्रमण गरेका थिए।
विकास सहयोग
जापानले सन् १९५४ देखि नेपालको सामाजिक–आर्थिक विकासमा योगदान पु¥याउँदै आएको छ। जापानले नेपाललाई द्विपक्षीय अनुदान, ऋण, बहुपक्षीय सहायता र प्राविधिक सहयोगका रूपमा सहयोग गर्दै आएको छ। साथै नेपालको पूर्वाधार विकासका लागि सहुलियतपूर्ण ऋण पनि प्रदान गर्दै आएको छ।
जापानीले नेपाललाई गर्ने आर्थिक सहयोगका प्रमुख क्षेत्रहरूमा मानव संसाधन विकास, स्वास्थ्य, कृषि विकास, पूर्वाधार विकास, वातावरण संरक्षण र संस्कृतिलगायत रहेका छन्।
जापानले विद्युत् उत्पादन, सडक, पुल, खानेपानी सुविधा, दूरसञ्चारलगायत क्षेत्रहरूमा आधारभूत पूर्वाधारको सुधारलाई महत्व दिँदै आएको छ। सिन्धुली सडकको निर्माण जापानी विकास सहयोगअन्तर्गत प्रमुख परियोजनाहरूमध्ये एक हो। जापानले नेपाललाई कुलेखानी (१ र २) जलविद्युत् स्टेसन, कालीगण्डकी ‘ए’ जलविद्युत् स्टेसन, उदयपुर सिमेन्ट उद्योग र मेलम्ची खानेपानी परियोजना जस्ता परियोजनाहरूमा ऋण सहयोग प्रदान गरेको छ।
यस्तै, पूर्वाधार विकासका लागि सहुलियतपूर्ण ऋण योजनाअन्तर्गत हाल सञ्चालनमा रहेका परियोजनाहरूमा नागढुङ्गा सुरुङ मार्ग, खानेपानी आपूर्ति सुधार परियोजना र चौबाटो सुधार परियोजनाहरू रहेका छन्।
सन् १९५४ मा जापान कोलम्बो योजनामा सामेल भएदेखि नै जापान सरकारले नेपाली विद्यार्थीहरूलाई प्राविधिक तालिम प्रदान गर्दै आएको छ। जापानले जापन अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) स्वयंसेवक कार्यक्रमअन्तर्गत नेपाललाई जापान ओभरसिज कोअपरेसन भोल्युन्टियर्स र वरिष्ठ स्वयंसेवकहरू पनि प्रदान गर्दै आएको छ। यो कार्यक्रम सन् १९७० मा सुरु भएको थियो।



